अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 07:02

राजधानीका डान्स बार र होटलमा प्रहरीको छापा

बिआरटीनेपाल २०७५ जेठ १७ गते ७:४१ मा प्रकाशित

प्रहरीले राजधानीका गोगंबु, ठमेल, कोटेश्वर, बानेश्वर, बालाजुलगायतका क्षेत्रमा संचालित विभिन्न होटल र डान्स रेष्टुरेन्टहरुमा छापा मारी ३९ बालिकाको उद्धार गरेको छ ।

नाबालक केटीहरुलाई जबर्जस्ती काममा लगाएको शारीरिक एवं मानसिक दुर्व्यवहार गरेको, काममा लगाएर पारिश्रमिक नदिएको, कुटपिट तथा डर त्रास देखाई काम गर्न लगाएको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय परिसर काठमाडौं मातहत वृत्त र प्रभागबाट मिलेर माइती नेपाल र सिबिन नेपालसँग समन्वय गरी छापा मारेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ठमेलमा रहेको बेबो डान्स रेष्टुरेन्टका सञ्चालक दावा लामा, गोंगबुमा रहेको रीभर साईड डान्स रेष्टुरेन्टका शेरबहादुर तामाङ, गोंगबुकै रक डान्सबारका विजय सिंह लामा, सिभिला डान्स रेष्टुरेन्टका अस्ट तामाङ, डेविटफल डान्स रेष्टुरेन्टका शिशिर राई, स्टेज डान्स बारका दयाराम टटाला, नयाँ बानेश्वरस्थित टाईगर टप रेष्टुरेन्ट एण्ड बारका सुमन श्रेष्ठ र नयाँ बानेश्वरकै न्यू टाउन रेष्टुरेन्ट एण्ड बारका विपिन बिष्ट रहेका छन् ।

उद्धार गरिएका नाबालिकाहरुलाई आवश्यक संरक्षणको लागि ७ जनालाई सिविन नेपाल र ३२ जनालाई माइती नेपालमा पठाइएको प्रहरीले जनाएको छ । नाबालिकाहरुलाई कामल लगाउने संचालकहरुलाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ठमेल ईलाकाबाट ३, कोटेश्वरबाट २, बालाजुबाट ११, गोंगबुबाट १४, र बानेश्वरबाट ९ जना नाबालिकाको उद्धार गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू