अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

नेपाली चलचित्र रणवीर मङ्सिर १४ मा रिलिज हुने

प्रदिप कार्की, काठमाडौँ २०७५ जेठ १६ गते १७:४५ मा प्रकाशित

घोषणा देखि नै चर्चामा रहेको फिल्म ’रणवीर’ आउँदो मङ्सिर १४ मा रिलिज हुने भएको छ । उपत्यकाको लागि स्टेसन फाइभ र मोफसलको लागि डिसीएनले फिल्म वितरण गर्नेछन । यी दुई वितरण संस्थासँगकै छलफलपछि डेट तय गरिएको निर्माण पक्षले जानकारी दिएका छन् । एक्सन , सस्पेन्स र थ्रिल मिश्रित फिल्मको छायाङ्कनको लागि दुई गीत मात्र बाकी रहेको छ भने यति बेला पोष्टप्रोडक्सनको काम भइरहेको छ । फिल्मलाई विना सम्झौता छायाङ्कन गरिएको युनिटको भनाइ छ ।

फिल्ममा शीर्ष भूमिकामा सुशील सिटौला रहेका छन् । उनले फिल्मकै लागि आफ्नो शरीरमा बदलाव समेत ल्याएका छन् , जसलाई सार्वजनिक हुने भिडियो सामाग्रीले प्रस्ट्याउने विश्वास निर्माण टिमको रहेको छ । सुशीलसँगै फिल्ममा प्रशान्त ताम्राकार , हरिहर शर्मा , नरेश पौड्याल , टिका पहाडी , रवि गिरी , जीवन भट्टराई , बसन्ती भट्ट लगायतको अभिनय रहेको छ ।

यसैफिल्म मार्फत मोडलिङमा आफ्नो छुटै पहिचान बनाउन सफल शुभेच्छा खड्का र सुपुश्पा भट्ट फिल्मनगरीमा डेब्यु गर्दैछन । शिक्षित युवाले समाजमा गर्ने सङ्घर्षको कथालाई लिएर निर्माण भएको फिल्मलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् । फिल्म ‘गाँजा बाजा’ प्रोड्युसर दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रूपमा ‘रणवीर’ निर्माण गरिरहेका छन् । महेश पौडेलको छायाङ्कन रहने फिल्ममा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको सङ्गीत रहनेछ । गम्भीर विष्ट र सुरेन बसेल फिल्मको कोरियोग्राफर रहेका छन् ।

सुशील सिटौला: फिल्ममा म शीर्ष भूमिकामा छु । यसको लागि मैले आफूलाई केही परिवर्तन पनि गर्ने प्रयास गरेको छु । यो फिल्मलाई मैले आफ्नो करियरको टर्निङ प्वाइन्टको रूपमा लिएको छ । अघिल्ला फिल्मको तुलनामा यसमा मलाइ बिल्कुलै फरक पाउनु हुनेछ । शिक्षित तर बेरोजगार युवाको सङ्घर्षको कथा हो रणवीर ।

गोविन्द सिंह भण्डारी: हामीले फिल्मको रिलिज डेट घोषणा गरेका छौ । फिल्म मङ्सिर १४ मा रिलिज हुनेभएको छ । हामीले निकै मेहनत फिल्म तयार गर्दै छौ । अझै फिल्मको दुई गीत खिच्न बाकी नै रहेको छ । फिल्ममा एक्सन , सस्पेन्स र थ्रिल सबै छ । एउटा मनोरञ्जनले भरिपूर्ण फिल्म बनाउने प्रयास गरेका छौ । हाम्रो फिल्म र कन्टेनलाई बिस्तारै सार्वजनिक हुने सामग्रीले प्रस्ट्याउनेनै छ ।

सम्बन्धित सामग्रीहरू