अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४० | Colorodo: 08:55

युरोपेली आयोगद्वारा पुनःनिर्माणको प्रशंसा

बिआरटीनेपाल २०७५ जेठ १६ गते १०:५३ मा प्रकाशित

युरोपेली आयोगको अन्तर्राष्ट्रिय सहयोग तथा विकास महानिर्देशक इयान क्रिष्टोफ भिरियु र नेपालका लागि न्युजिल्याण्डकी राजदूत जोआना केम्पकर्सले भूकम्पपछिको पुनःनिर्माणको प्रशंसा गर्नुभएको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालसँग आज भेटघाट गरी उहाँहरुले भूकम्पपछि नेपालमा भइरहेको पुनःनिर्माणको अवस्थाबारे जिज्ञासा राख्नुभएको थियो । प्राधिकरण कार्यालयमा भएको छुट्टाछुट्टै भेटमा युरोपेली आयोगका महानिर्देशक भिरियु र न्युजिल्याण्डका राजदूत केम्पकर्सले खासगरी निजी आवास तथा विद्यालय भवनको पुनःनिर्माणबारे जिज्ञासा राख्नुभएको थियो ।

प्रमुख कार्यकारी अधिकृत भुसालले निजी आवास निर्माण तीव्र गतिमा भइरहेको तथा विद्यालय भवनको पुनःनिर्माण पनि उत्साहजनक ढंगले अघि बढिरहेको जानकारी गराउनुभएको थियो । आगामी आर्थिक वर्षभित्र निजी आवासको कार्य सम्पन्न गरिने लक्ष्य लिइएको र प्राधिकरणलाई दिइएको समयभित्र पुनःनिर्माणका लगभग सबै कार्य सम्पन्न भइसक्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

महानिर्देशक भिरियु र राजदूत केम्पकर्सले साधनस्रोतको सीमितता तथा संक्रमणकालका बाबजुद पुनःनिर्माणमा उल्लेख्य प्रगति गर्न सकेकामा प्राधिकरणको प्रशंसा गर्नुभएको थियो ।

प्रमुख कार्यकारी अधिकृत भुसालले पुनःनिर्माणमा युरोपेली संघ र न्युजिल्याण्डले पु¥याएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग निरन्तर हुने आशा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू