अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५३ | Colorodo: 02:08

मजदुरी गरेरै मासिक ६० हजार

बिआरटीनेपाल २०७५ जेठ १५ गते ११:३५ मा प्रकाशित

काठमाडौँ । मजदुरी गरेरै महिनामा ५० देखि ६० हजार कमाउन सकेपछि युवाहरू इको प्यालन जडानको कामप्रति आकर्षित देखिएका छन् । इटाको विकल्पमा कारखानामा पहिला नै तयार पारिएको प्रिफ्याब प्यानल जडानको काममा राम्रो कमाई भएपछि युवाहरू त्यसतर्फ आकर्षित भएका हुन् ।

इन्टरनेशनल ग्रिन डेभलपर्स नेपाल प्रालिको आयोजनामा भएको दुईदिने इको प्यानल जडान तालिम सहभागी विजेन्द्र सुवालले राम्रो कमाई भएपछि यसतर्फ आकर्षित भएको बताए । पहिलापहिलाको काममा सामान्य कमाई मात्रै भएकोले त्यो कामलाई छोडेर इको प्यानल जडानको तालिममा सहभागी भएको उनले सुनाए ।

यसअघि कुखुरा पालन व्यवसाय गरिरहेका सुरेश वासुकलाले महिनामा ५० हजार भन्दा बढी कमाउन सकिने अवस्था देखेर त्यो व्यवसाय छोडेर यो काममा आएको जनाए । विदेशमा जस्तै कमाई नेपालमै हुन थालेकोले यो कामप्रति आकर्षित भएर तालिममा सहभागी भएको उनले जनाए ।
कम्पनीले युवाहरूलाई निःशुल्क तालिम दिएको हो । तालिम अवधि र तालीपछि कम्पनीले भत्तालगायतका विभिन्न सुविधाहरू दिँदै आएको कम्पनीले जनाएको छ । साथै तालिमपछि रोजगारीको सुनिश्चितता, काम गर्ने साइट मिलाइदिने, सामानहरू क्रेडिट सुविधामा दिनेलगायतका कामहरू गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले यस्ता तालिमहरू प्रत्येक तीनतीन महिनामा दिँदै आएको जनाएको छ ।

इन्टरनेशलन ग्रिन डेभलपर्स नेपाल प्रालिका योजना प्रमुख इन्जिनियर कृष्णसुन्दर कुम्पाखले दुईदिने तालिमपछि इच्छुकहरूलाई पुनः भत्तासहितको एक महिने परीक्षण अवधिमा खटाइने जनाए । परीक्षण अवधिमा पनि सफल भएपछि उनीहरूलाई कम्पनीले रोजगारीको सुनिश्चित व्यवस्था गरेको उनले जनाए ।

तालिममा काठमाडौँ, भक्तपुर, बुटवल, पोखरा, डडेलढुरालगायतका विभिन्न ठाउँंहरुबाट २४ जना प्रशिक्षार्थी सहभागी रहेका कम्पनीले जनाएको छ । इन्जिनियर, डकर्मी, फलामको काम गर्ने, आल्मुनियममा काम गर्ने युवाहरू तालिममा सहभागी थिए ।

प्रालिका प्राविधिक सिनियर ओभरसियर एवं प्रशिक्षक निरज ह्याेंगजूले तालिमपश्चात् रोजगारीको ग्यारेन्टी भएकोले प्रशिक्षार्थीहरु उत्साहित रहेको बताए । तालिममा प्यानल जडान गर्ने तरिका, प्यानलको प्रोडक्ट, प्रिकाष्ट आदिबारे सैद्धान्तिक ज्ञान दिइएको थियो । साथै तालिमको अन्तिम दिन मङ्गलवार अभ्यास गराइएको थियो । गोर्खा इको प्यानलको मध्यपुर थिमिको राधेराधेको कार्यालय निर्माणमा प्रशिक्षार्थीलाई अभ्यास गराइएको हो । त्यहाँ उनीहरूलाई बिहान १० बजेदेखि ६ बजेसम्म आठदस कोठे दुईतल्ले भवन बनाउन लगाइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू