अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

साँढे, साउदी, र नेपालीको जीवन

विश्वमान आङ्गदेम्बे. २०७५ जेठ १४ गते २३:०७ मा प्रकाशित

(दिवङ्गत दिदीभिनाजुमा समर्पित)

नेपाललाई सतीले श्रापेको देश भन्छन् । कर्मले भन्दा पनि भाग्यले जीवन अनि मृत्यु निर्धारण हुन्छ भन्ने विश्वास र संस्कारले भिजेको नेपाली समाजमा अझै पनि भाग्यमा विश्वास गर्ने चलन छ । अझै पनि यस्तो मान्यताको परिबन्धमा थुनिएको हाम्रो समाज मानसिक र भौतिक विकासको हिसाबले विकसित देशभन्दा धेरै पछि छ जसले गर्दा नेपालको सार्वजनिक क्षेत्रहरूमा धेरै विकराल समस्याहरू छन् । मूल समस्या राजनीतिक भए पनि हाम्रो शिक्षा र संस्कृतिमा पनि ठुलो समस्या छ । एकातिर स्कुल र अस्पतालहरूको दयनिय स्थिति छ भने अर्का तर्फ़ अझै पनि नेपालीहरू ज्योतिषलाई हत्केला देखाउने अनि ग्रह-शान्ति गर्न छोडेका छैनन् । एकातिर दिनहू हज्जारौं कर्मठ युवाहरू रोजगारीको लागि खाडी पलायन हुन्छन् भने अर्कोतर्फ़ दैनिक सयौँ शिक्षित र सीपवान जनशक्ति प्रथम विश्वका देशहरुतर्फ़ स्थायी बसाइको सपना बोकी पलायन भइरहेका छन् । एकातिर खाडीमा बर्सेनि सयौँ नेपाली दाजुभाइहरू अनि दिदिबैनीहरुको दयनिय पेशागत सुरक्षाको कारणले अकालमै ज्यान गइरहेको छ भने अर्कातिर नेपालमा दक्ष डाक्टरहरूको अभावले अनि अस्पतालको चरम लापरबाहीले दैनिक सैयौं नेपाली दाजु-भाइहरू अनि दिदीबहिनीहरूको अकालमै ज्यान गइरहेको छ ।नेपाल बाहिर अनि नेपालभित्र आम नेपालीको जीवन सस्तो छ । पहुँचवाला र ठुला नेताहरू र उनीहरूका परिवारबाहेक आम नेपालीको जीवन हरेक दिन सानो कारणले अकालमै ज्यान जाने जोखिममा छ । के हामी नेपालीहरू सधैँभरि साउदी र कतारको मरुभूमिमा हड्डी घोटेर हज्जारौं कोष पारिको बिरानो भूमिमा “असम्मानजनक” र कतिपय केसमा “अमानविय” व्यहार सही अन्तमा परिवारको मुख हेर्न नपाई अकालमै संसारबाट बिदा लिनुपर्ने? के हामी नेपालीहरू सधैँभरि अस्पतालको लापरबाही अनि सिकारु डाक्टरहरूको हेलचेक्राईले बाँच्ने स्तिथि यथाह हुँदाहुँदै अकालमै मर्नुपर्ने? यो स्थिति कहिले सम्म? समस्या श्राप सराप हैन हाम्रो नेपाली मानसिकता हो । जनतादेखि नेतासम्मको मानसिकतामा परिवर्तन आउनुपर्छ । परिवर्तन ढिलै भए पनि आइरहेको अहिलेको स्तिथिमा धेरै नेपालीहरू यसरी नै दिनहुँ मरिरहेका छन् । यही आम नेपाली जीवनको दुईवटा प्रतिनिधि घटनाहरू म पस्कन गइरहेको छु ।

नेपालको इटहरीमा दिदीको मृत्यु : साँढेले हानेर अनि अस्पतालको चरम लापरबाहीले
कुरो मे ९ (वैशाख २६) बुधवार अमेरिकी पूर्वीय समय अनुसार बिहानको करिब ७ बजेतिरको हो । मेरो श्रीमती शान्तिको फेसबुक मेसेन्जरमा नेपालबाट भेदै दीपाको मेसेज आयो – “गीता आन्टी (मेरी जेठी दिदी) बित्नु भो ।” यस्तो समाचार नेपालबाट जहिले पनि बिहान आउने गर्छ । मलाई आजकल बिहान कसैले नेपाल बाट मेसेज गर्यो भने कुनै नराम्रो समाचार पो सुन्नुपर्ने हो कि भनेर मन झस्कन छ । बुढीले समाचार सुनाएपछि आफैँले एक चोटि मेसेज हेरेँ । मन झसंग भयो । एकैचोटी मनको पहाडमा चिसो कुहिरो कहाँबाट आई ढाकेको अनुभव भयो । पत्याउन गारो भयो तर दीपा यस्तो कुरामा ठट्टा गर्ने मान्छे थिइन, न त कसैले यस्तो कुरामा ठट्टा गर्छ । हिजो मात्र इटहरीमै घर भएकी साहिली दिदी र ठूली दिदीलाई आफैँ रंगेली नजिक आम्तोला लाने माहिला दाजु सँग कुरा हुँदा स्थिति ठिक थियो भन्ने कुरा भएको थियो । यस्तो कसरी भयो त? मनमा चिसो पस्यो । मनको एउटा कुनामा झिनो डर र आशङ्का थियो, सायद १% भन्दा कम सम्भावनाको तर आखिर त्यही भयो । जति नै सानो सम्भावना भए पनि त्यो “असम्भव” हुन्न, भयो भने त्यसैले मान्छेको ज्यान लान्छ । तुरुन्त फेसबुक मेसेन्जरबाट सिंगापुरमा रहेकी मेरी कान्छी बहिनीलाई फोन गरेँ तर उ मेसेन्जर कुरामै व्यस्त रैछ, सायद यही घटनाको कुराले होला । उसलाई फेसबुक बाट सम्पर्क नभएपछि सिधै घरमा महिला दाजुलाई फोन लगाएँ । माइला दाजुलाई “हेलो” गर्न नपाउँदै उहाँले आतिदै “गीता बिती” भन्नुभयो । त्यतिखेर उहाँले दिदीको शवलाई रंगेलीबाट बिराटनगर लाँदै हुनुहुँदो रहेछ । मैले केही भनिन । फोन राखे । मन खिन्न भयो । अनाहकमा मान्छेको ज्यान गयो । बाँच्नुपर्ने मान्छेको अकालमै ज्यान गयो । उपचार यथाह सम्भव भएको मान्छेको ख्याल-ख्यालमै ज्यान गयो । पत्याउन गारो भयो । एक छिन अस्पताल अनि आफ्नै मान्छेहरू देखि रिस पनि उठ्यो ।

जेठा (ठुलो) दाइसँग १-२ दिन अघि मात्र काठमान्डौ उपचार गर्न लैजाने सल्लाह भएको थियो । उहाँलाई साँढेले हानेको ३ हप्ता भन्दा बढी भएको थियो क्यार । हामीले “समय छ” भनेर काठमान्डौ लान अलि ढिलो पनि गर्यौँ की? तर काठमान्डौ लानलाई पनि “प्लान” गर्नुपर्थ्यो । उहाँ उठ्न सक्नुहुन्थेन । उठाउन ४ जना मान्छे चाहिने । जता छोयो उतै दुख्ने । दिसाब-पिसाब गर्न पनि कम्तीमा दुईजना मान्छे चाहिने । अम्बुलेंस्मा १२ घण्टा गुडाएर काठमान्डौ लान लगभग असम्भव थियो । “प्लेन”बाट लानलाई बुझ्नुपर्थ्यो । उता फेरि काठमान्डौमा हेरचाह गर्ने २-३ जना मान्छे चाहिन्थ्यो । त्यहिपनि मनमा ग्लानिको अनुभूति भयो । काँडा कतै बिझे जस्तो भयो तर निकाल्न सकिन र सकिरहेको छैन । सायद भाग्य यस्तै हो भनेर चित्त बुझाउन सकिने भए सकिन्थ्यो होला?

त्यसपछि तुरुन्तै अफिसको ल्यापटप खोले अनि घर बाटै काम गर्ने सूचना छोडे मेनेजर र साथीहरूलाई । मेनेजरलाई अफिस मेसेन्जरबाट मेरो घटनाको बारे बताए र मे १५ सम्मको लागि बिदा मांगे । मलाई पहिले २०१४ को जनवरी ७ मा मेरा बुवा खस्नु हुँदा म नेपाल जान सकेको थिइन । त्यतिखेर म अमेरिका पढ्न आएको ४ महिना पनि भएको थिएन । ऋण लिएर अमेरिका आएको थिए । काम थिएन । घर आउने पैसा थिएन । त्यतिखेर बुवाको काममा घर आउन नपाएको कुराले मनमा बिझेको थियो र अझै पनि छ । तर, आफ्नो बाध्यता थियो । त्यसपछि मैले आफ्नो घर-परिवारको कुनै पनि सदस्यको मृत्युमा घर आउने वाचा गरेको छु । मे ९ को दिउँसो कतार एयरवेजको टिकट काढी साँझ ७:३० को फ्लाइटमा नेपाल तर्फ़ लागेँ, ठूली दिदीको अन्तिम संस्कारको लागि । अन्तिम चोटि उहाँको एक पटक अनुहार हेर्ने मन थियो ।

साँढे र सार्वजनिक सुरक्षा: विकराल समस्या
मेरी ४५ वर्षीय दिदी, गीता कुमारी अन्ग्देम्बे आङ्गबुहांगलाई एउटा कालो साँढेले वैशाखको पहिलो साता बेहोस हुने गरी हानेको थियो । राति करिब १० बजे तिर साँढेले उहाँको इटहरी-८ (फुलबारी टोल) को घर नजिकको बारीको मकै खान आउँदा एक्लै साँढे धपाउन जाँदा साँढेले मूल बाटो नजिकको खेतमा लडाएर मरणासन्न हानेको रहेछ । घर-परिवारले पछि उहाँलाई साँढेले बेहोस अवस्थामा पनि हान्दै गरेको अवस्थामा फेला परेछन । तुरुन्त रातीको १२ बजे धरानको “बी.पी. कोइराला स्मृति अस्पताल (घोपा क्याम्प)” लगेछन । त्यो कालो साँढेले त्यो टोलभरिका र इटहरीकै दर्जनौँ मान्छेलाई हानिसकेको रहेछ भने कतिलाई अस्पताल नै भर्ना गराइदिएको रहेछ । एक जनालाई त “आई.सी.यु.” मै भर्ना गरिदिएको रहेछ । त्यति हुँदा पनि इटहरी उप-महानगरपालिकाले केही नगरेको देखेर नेपालको “सार्वाजनिक सुरक्षा” कस्तो रहेछ भन्ने गहिरो अनुभव भयो । मलाई फेब्रुअरीमा नेपालमा हुँदा काठमान्डौको नियम-कानुन बनाउने “संविधान सभा हल” को उत्तर भित्तानिरको सडकमा हिँड्दै गर्दा एउटा कुकुरले तोकेको थियो तर कसलाई उजुरी गर्ने अनि को सँग क्षतिपूर्ति माग्ने?

हुन त मैले तेस्को उजुरी नजिकैको पुलिस थानामा दिन लागेको थिए तर अमेरिका फर्कन ३-४ दिन मात्र थियो, समयको अभावले सकिन । दिदीको घटनापछि टोलका मान्छेले वडा कार्यालय घेरेपछि भने वडा अध्यक्षले आफ्नै पैसाले मान्छे र डोजर लगाएर त्यो साँढेलाई पक्रेर परको अर्को बस्तीनिरको जङ्गलमा छोडीदिएछन, जुन समस्याको दूरगामी समाधान थिएन । अमेरिकामा त्यस्तो घटना को त कुरै छोडौँ कसैलाई हानेको मात्र भए त्यो जनावरलाई पुलिसले गोली हानेर मारिसक्थ्यो, अनि त्यो जनावरको धनीलाई कारबाही हुन्थ्यो । नेपालको हकमा २ वटा समस्या छ – (१) खुला जनावरहरू जसको धनी कोही छैन, (२) सार्वाजनिक सुरक्षा सम्बन्धी कडा नियम-कानुनको कमी तथा भएको कानुनको कार्यान्वयनमा कमजोरी । पहिलो त, सरकारले मान्छेलाई जनावर (चाहे कुकुर होस् या साँढे) खुला छोड्न दिनु भएन, छोड्ने लाई कडा कारबाहीको कानुन बनाउनुपर्यो । अहिलेको नयाँ संरचनामा ७०% भन्दा बढी मानिस नगरपालिकामा बस्छन ।

सहरी विकासमा यो ठुलो समस्या हुनेछ । पहिले जस्तो गाउँमा पातलो बस्ती र अथाह ठाउँ भएकोले साँढे, कुकुर, वा अन्य जन्तुलाई खेल्ने घुम्ने ठाउँ हुन्थ्यो । सहरमा हर्के मोडमा मान्छेसँग जम्काभेट हुन्छ, जति बढी भयो, त्यति दुर्घटनाको सम्भावना हुन्छ । भएका खुला जनावरहरूको उचित व्यस्थापन हुनुपर्छ र नयाँलाई हुनबाट रोक्नुपर्छ । दोस्रो, सार्वाजनिक स्थानमा हिँड्दा-डुल्दा मान्छेको सवारी-साधनले ठक्कर दिएर, बहुला कुकुरले टोकेर, साँढेले हानेर, इत्यादि घाइते हुन्छन् अनि कति त मृत्युको मुखमा पुग्छन । समग्रमा हाम्रो सार्वजनिक स्थलहरू सुरक्षाको हिसाबले एकदम कम्जोर छन् । मानिसहरूलाई सुरक्षित महसुस गराउन “सार्वजनिक सुरक्षा कानुन” ल्याउनु पर्छ जसले सडक देखि पेटी सम्म, पार्कदेखि बजारसम्मलाई सुरक्षित बनाउन सकस ।

अस्पताल र स्वास्थ्य क्षेत्र: चरम लापरबाही
जब ठूली दिदीलाई “घोपा क्याम्प” लगियो रातिनै, त्यहाँ एमर्जेंसिमा पनि भनसुन नगर्ने हो भने पालो आउन गारो रहेछ । यस्तो स्थिति छ नेपालमा ! एमेर्जेंसी रुममा पनि खालि सिकारु डाक्टरहरू रहेछन् । तेत्रो साँढेले जोड सँग “फोर्स” ले हान्दा तेस्को धक्कनले गाडीले हने जस्तै “भित्री अंगहरु (कलेजो, फोक्सो, पित्त, इत्यादि) को पनि कमसेकम जाँच हुनुपर्ने हो । तर, ती सिकारु डाक्टरहरूले जम्मा “एक्स-रे” मात्र गराएर अनि दुई वटा औषधि दिएर २ दिनमा “डिस्चार्ज” गराएर पठाएको सुनेर म छक्क परेँ । उनीहरूले “उहाँको सबै ठिक छ हड्डी मात्र टुटेका हुन्” भनेर पठाएछन् । पछि थाहा पाएँ ती डाक्टरहरू आफै बहस गर्दै रिपोर्ट तयार गर्दा “कन्फ्युज” देखिन्ते रे । “ए त्यस्तो भयेछ? मैले नै लेखेको हो? तेती तिमीले मिलाएर बनाइदेऊ न?” जस्ता एक दमै सिकारु, “अव्यावसायिक”, र लापरबाही बहस गरेछन । दक्ष र अनुभवी डाक्टरहरू त अस्पतालमा त हैन आफ्नो प्राइभेट क्लिनिकमा हुँदा रहेछन् । अनि नेपालमै दक्ष डाक्टरहरू विदेशिएर दक्ष डाक्टरहरूको कमी त छँदै छ । त्यस्ता डाक्टरहरूको कुरा अन्धाधुन्ध मानेको देखेर आफ्ना मान्छेहरूदेखि पनि अचम्म लाग्यो । सामान्य विवेकले पनि बिरामीको अवस्था देखेर नै “केही ठिक छैन” भन्ने अनुमान हुन्छ नि?

ज्योतिषले यसो भनेको थियो, धामीले यस्तो भनेको छ भन्ने कुरामा बढी ध्यान गएपछि के भन्ने? पछि फेरि अवस्था बिग्रेर घोपा क्याम्प लाँदा पनि भित्री अंगहरु (कलेजो, फोक्सो, पित्त, इत्यादि)” को जाँच भएनछ । मलाई सुरु देखिने “घोपा क्याम्प” को २ दिनमै “डिस्चार्ज” गरे देखि विश्वास उडेको थियो । जसरी भए पनि काठमान्डौ लानुपर्छ, हैन भने दिदीको ज्यान खतरामा हुन्छ भन्ने लागेको थियो ।
त्यसपछि वैशाख २४-२५ तिर दिदीलाई हड्डीको “आयुवेदिक उपचार” गर्न एउटा सतार वैधकोमा लगेछन । मैले त्यो थाहा पाउने बित्तिकै चिन्ता लागिसकेको थियो । त्यहाँ भरेइ केही भइदियो भने? मलाई यस्ता धामी-झाँक्री विश्वास लाग्दैन अनि आयुर्वेदिकहरुको एकदमै सीमित भर लाग्छ । अहिलेसम्म “भित्री अंगहरु” को एउटा केही भएको छैन, न एम.आर.आई. न त कुनै औषधी, खाली हड्दिमै केन्द्रित छ सबैको ध्यान । दिदीलाई “लो ब्लड प्रेसर” पनि थियो । भरेइ त्यहीँ आम्तोलामा उपचारको क्रममा उहाँलाई “लो ब्लड प्रेसर” हो न भित्री अंगहरुको कारणले स्थिति एकै छिनमा बिग्रिएर एम्बुलेन्स बोलाउँदा १ घण्टा जति कुर्दा कुर्दै पछि रंगेली लाँदै गर्दा बित्नु भएछ । त्यतिखेर वैशाख २६ गते बुधवारको दिन दिउँसो ३:३० बजेको थियो ।

हिजोसम्म आफू ठिक भएपछि के-के गर्ने कुरा गर्दै गरेको मान्छे अनि बिहान सम्म ठट्टा गरेको मान्छे एक्कासि दिउँसो स्तिथि बिग्रेर आफ्नो मरण आएको थाहा आएपछि उहाँले सांस जाने बेला “म जाँदै छु” भनेर हात पनि उठाएर इसारा गर्नुभएछ । सुनेर मन भारी भयो । स्वास्थ्य क्षेत्रमा भइरहेको यस्तो विकराल बेथिति, लापरबाही, अनि अनियमितता रोक्न रोक्न सरकारले कडा “सार्वाजनिक स्वास्थ्य कानुन” ल्याउनु पर्छ । तेस्ले स्वास्थ्य सेवा प्रदान गर्ने डाक्टर, नर्स, तथा अन्य पेसाका मानिसहरूले बिरामी र कुरुवाहरु प्रति गरिने व्यहार, गरिनु पर्ने जाँच, स्वास्थ्यकर्मीहरूको दक्षताको परीक्षण, स्वास्थ्यकर्मीहरूप्रति गरिने व्यहार, कानुनी उपचार, इत्यादि सम्बोधन हुनुपर्छ ।

साउदीको जेद्दामा भिनाजुको मृत्यु – नेपालीमाथिको हेपाई
ठुला भिनाजुको (राम कुमार आङ्गबुहांग) साउदीको जेद्दाहमा ५५ वर्षको उमेरमा २०७४ साल जेठ ३ गते आकस्मिक मृत्यु भएको थियो । १ वर्ष पुग्नु ठ्याक्कै १ हप्ता अघि दिदीको २०७५ साल वैशाख २६ गते ४५ वर्षको उमेरमा ठूली दिदीको मृत्यु भएको थियो । उहाँहरूले १२ वर्षीय छोरी र १९ वर्षीय छोरा छोडेर जानुभयो । आजभन्दा १ वर्ष १ महिना अगाडी दिदीको जसरी नै बिहान फोन बाट घर बाट “ठुलो भिनाजु बित्नु भएको” मेसेज साहिली दिदी बाट आएको थियो । भिनाजु साउदी पहिलो चोटि गएको १२ वर्ष भन्दा बढी भएको थियो । २०७३ साल तिर दसैँमा घर फर्कँदा उहाँ निकै लामो समय बस्नु भयो अनि नफर्किने सोचले आउनु भएको थियो तर बसाइकै क्रममा इटहरीको जग्गामा घर बनाउने सल्लाह भएछ जस्तो कारणले उहाँ फेरी अब विदेश जानु पर्ने भयो । ५५ वर्षको उमेरमा फेरी विदेश फर्किनु भयो । मलाई यो ठिक लागेको थिएन । आखिर जीवन के का लागि? आफ्नो परिवार (बुढी अनि बाल-बच्चा) सँग टाढा बस्नुपर्ने अनि त्यसमाथि त्यस्तो साउदीको मरुभूमिमा हड्डी घोटेर काम गर्नुपर्ने । बरु कम पैसा भए पनि नेपालमै केही गरेर आफ्नो परिवार पालेको राम्रो । कमसेकम परिवार सँग त बस्न पाइन्छ । अन्तमा, त्यो घर राम्रो सुरु हुन नपाउँदै उहाँ बित्नु भयो । न आफू त्यो घरमा बस्न पाउनु भयो, न त जीवन भर आफ्नो बाल-बच्चा सँग खेल्न हुर्काउन पाउनु भयो । कहिलेकाहीँ लाग्छ उहाँले आफ्नो हैन अर्काको जीवन बिताउनुभयो ।

आफ्नो इच्छा-चाहनाको कुरै भएन । हुन त आ-आफ्नो क्षमता को कुरो पनि हो, तर विदेशमा जीवनभर परिवारसँग छुत्तियेर अनि परिवारसँग बस्न नपाई मर्नुभन्दा नेपालमै दुख गरेर बसेको राम्रो । दिनभरि बाहिर घाममा काम गर्नु पर्ने अनि राति चिसो ए.सी. मा सुत्दा उहाँलाई सायद हृदय-घात भएछ । उहाँको कुनै न त जीवन बिमा मिल्यो, न त कुनै क्षतिपूर्ति । कम्पनीले त नेपाल शब् ल्याउनमा सघाउन त कुरै छाडौँ ल्याउन पनि दिएन । ३ महिना भन्दा बढी लग्यो शव ल्याउन ! जेठमा बितेको मान्छेको शव भदौमा मात्र आइपुग्यो नेपाल । नेपालीको ज्यान कति सस्तो रहेछ त? हामी कति हेपिएका रहेछौँ? यस्तो अवस्था हुँदा पनि हामी बोल्न सकिरहेका छैनौँ । ती खाडी राष्ट्रहरूले हामी नेपालीहरूलाई मान्छे लाई गर्नुपर्ने व्यहार नगर्दा पनि हामी बाध्य छौँ चुप लाग्न । यस्तो अवस्था कहिले सम्म?

वैदेशिक रोजगार: पिडा र समाधान
यो त एउटा प्रतिनिधि घटना हो । नेपालीहरू दिनहुँ खाडीको कुनामा मरिरहेका छन् । नेपालीको जीवन सस्तो छ । यो स्तिथि पक्कै पनि अनन्तकालको लागि होइन । यसमा सुधार हुनुपर्छ । सरकारले नेपालीहरूको हक-हितको लागि खाडी मुलुकहरूसँग कुरा उठाउनुपर्छ । बिमा र उचित क्षतिपूर्तिको सुनिश्चितता गरिदिनुपर्छ । नेपालीहरूको अन्तर्राष्ट्रिय छाता सङ्गठन “गैर-आवासीय नेपाली सङ्घ” ले खाडी मुलुक र मलेसियामा काम गर्ने नेपाली कामदारको हक-हित र मानव अधिकारको लागी लड्ने अधिवक्ता र मानव अधिकारकर्मी सहितको टिम खडा गर्नुपर्छ । साथै उनीहरूको समस्या सुन्नको लागि एउटा “हेल्पलाइन” सुरु गर्नुपर्छ । उनीहरूको पेसागत सुरक्षा र अधिकार सम्बन्धी चेतना फैलाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ । यस्तो काम नेपाल सरकारसँग हातेमालो गरेर अघि बढ्नुपर्छ । दूरगामी हिसाबले नेपाल सरकारले स्वदेशमै रोजगारीको सिर्जना गर्ने वातारण खडा गर्नुपर्छ । राजनीतिक स्थायित्व सँगै अब २४ घण्टी “पावर सप्लाई” सुचारु राखी बन्द भएका उद्योग-कलकारखानाहरुको सञ्चालन तथा नयाँहरूको सुरुवात हुनुपर्छ । नेपाल देश आफैँ महँगो नभए सम्म हामी नेपालीहरूको जीवन यसरी नै सस्तो रहिरहनेछ । नेपाल र नेपालीको जीवन महँगो बनाउने विदेशीले हैन, हामी नेपालीले नै हो ।

प्रतिक्रिया