अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३७ | Colorodo: 09:52

ब्लड डोनर्स अमेरिकाको दोस्रो राष्ट्रिय सम्मेलन जर्जियाको एटलान्टामा सम्पन्न

विश्वमान आङ्गदेम्बे, एटलान्टा २०७५ जेठ १३ गते २२:२९ मा प्रकाशित

यही मे २५-२७ मा जर्जियाको एटलान्टामा विभिन्न कार्यक्रमका साथ ब्लड डोनर्स अमेरिकाको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा बीडीएका अध्यक्ष नन्द रेग्मी, एनआरएन जर्जीया च्याप्टरका अध्यक्ष सूर्य लम्साल, नेप्लिज एसोसिएस अफ जर्जिया (नाग) का अध्यक्ष केशव शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का अध्यक्ष पदम विश्वकर्मा, नेप्लिज कल्चरल सेन्टर (एनसीसी) का अध्यक्ष डा. प्रल्हाद पन्त, प्रवासी नेपाली मञ्च (ओएनएफ) का उपाध्यक्ष यमुना भट्टराई र साहित्यकार सीता पाण्डेको उपस्थिति थियो । सम्मेलनमा बीडीएका सबै २७ वटै राज्यका राज्य संयोजकहरू तथा सदस्यहरूको सहभागिता थियो । भर्जिनियामा रजिस्टर्ड भई बीडीएको स्थापना २००९ सालमा भएको थियो ।

पहिलो दिन: मे २५ (शुक्रवार)
साँझ ६ बजेदेखि रजिष्ट्रेसन सुरुहुने कार्यक्रम तालिकाका साथ सम्मेलनको ढोका खोलिनुका साथै सोही साँझ सम्मेलनको पहिलो कार्यक्रम “अन्तर्राष्ट्रिय कविता महोत्सव तथा साहित्य गोष्ठी” सम्पन्न भयो । कार्यक्रमको आयोजना अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले गरेको थियो भने कार्यक्रमको संयोजन बीडीए मासाचुसेट्स राज्य संयोजक महेश्वर पन्तले तथा सञ्चालन अनेसास जर्जिया च्याप्टरका अध्यक्ष किरण मानिकेले गरेका थिए ।

कार्यक्रममा अनलाइन माध्यमबाट प्राप्त नेपालभित्र र नेपालबाहिरका धेरै भन्दा धेरै कविताहरू मध्ये मापदण्ड पूरा भएका ३५ वटाबाट छानिएका ३ वटा उत्कृष्ट कविताहरू घोषणा तथा वाचन गरिएको थियो । छनौट गर्ने “जुरी” मा कवि गोवर्धन पूजा, अनेसासका अध्यक्ष पदम विश्वकर्मा तथा साहित्यकार नरहरी प्रेमी थिए I नेपालको कोतेश्वोर-३२ निवासी रमेश प्रसाद सागरको “एक दृष्टि” प्रथम भएको थियो I नेपालकै नुवाकोटबाट गीता पुडासैनीको “सिमानाको सालिक” दोस्रो भएको थियो भने नेपालबाटै प्राप्त रामगोपाल आशुतोषको “राजमतीलाई प्रेमपत्र” तेस्रो भएको थियो I प्रथमलाई मोती पुरस्कार स्वरूप प्रमाणपत्र र अमेरिकी डलर ४००, दोस्रोलाई भानु पुरस्कार प्रमाणपत्र र अमेरिकी डलर २००, तथा तेस्रोलाई लक्ष्मी पुरस्कार स्वरूप प्रमाणपत्र र अमेरिकी डलर १०० प्रदान गरिएको थियो I कार्यक्रममा सहभागीहरूबाट विभिन्न कविता, गजल, टुक्का, तथा ठट्टाहरू प्रस्तुत गरिएका थिए ।

दोस्रो दिन: मे २६ (शनिवार)
कार्यक्रम तालिका अनुसार बिहानको ७ बजेदेखि रजिष्ट्रेसन खुल्ने योजना थियो । यो दिन मूल कार्यक्रमहरू थिए । सम्मेलनको औपचारिक उद्घाटन बी.डी.ए.का अध्यक्ष डा. नन्द रेग्मीले गरेका थिए । डा. नन्द रेग्मीले बी.डी.ए.ले हालसम्म ८ हजार ५०० पिन्ट रगत दान गरिसकेको तथ्याङ्क सार्वजनिक गर्दै यसबाट करिब २५ हजार मानिसको जीवन-रक्षा भएको बताउँदा हलमा तालीको फोहोरा छुटेको थियो ।

मानव जीवन रक्षामा बी.डी.ए.को योगदान जारी रहने कुरा उहाँले राख्नुभयो। त्यस्तै अतिथिहरूलाई स्वागत मन्तव्य भने सम्मेलनका महासचिव सतिश चन्द्र गुप्ताले दिएका थिए I दिवा-भोजनको छोटो विश्राम पछि २७ वटा राज्यका राज्य संयोजकहरू बिचको छलफल भएको थियो जसबाट बी.डी.ए. च्याप्टरहरूको प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो I बी.डी.ए.का महासचिव विजय भट्टराईले सञ्चालन गरेको कार्यक्रममाएनआरएन जर्जीया च्याप्टरका अध्यक्ष सूर्य लम्साल, नेप्लिज एसोसिएस अफ जर्जीया (नाग) का अध्यक्ष केशव शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का अध्यक्ष पदम विश्वकर्मा नेप्लिज कल्चरल सेन्टर (एनसीसी) का अध्यक्ष डा. प्रल्हाद पन्त, प्रवासी नेपाली मञ्च (ओएनएफ) का उपाध्यक्ष यमुना भट्टराई,कवि महेश्वर पन्त र पत्रकार किरण मरहट्टाले मन्तव्य व्यक्त गरेका थिए I सम्मेलनका सभापति तथा बी.डी.ए. जर्जिया राज्य संयोजक भविन्द्र बस्नेतले सम्मेलन सफल पार्न सहयोग गर्ने ब्लड डोनर्स, स्वयम्-सेवक, सहभागी सङ्घ-संस्थाका नेत्रित्वहरू, र राज्य संयोजकहरू सहित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । सोही दिन नेपाल र भारतका टिमबिच आयोजित भलिबल टूर्नामेंट नेपालले जितेको थियो I 

स्थानीय हायात होटेलमा सम्पन्न कार्यक्रममा ३ सय ५९ पटक रक्तदान गरी विश्व किर्तीमान कायम गरेका जोन सेफर्ड एक प्रमुख आकर्षण थिए । फ्लोरिडा निवासी ८६ वर्षीय सेफर्डले कोरियन युद्धमा घाइते साथीको लागी सन् १९५१ मा पहिलो पटक रक्तदान गरेका थिए । “जब मैले थाहा पाएँ कि मेरो रगतले मेरो साथीको जीवन बाँच्न सक्छ तब मैले आफूलाई थाम्न सकिन, त्यो निकै भावुक क्षण थियो” उनले भने । सम्मेलनमा सहभागी हुन पाउँदा आफू गौरवान्वित महसुस गरेको बताउँदै सेफर्डले नेपाली समुदायले अमेरिकामा गरेको यो नै सबैभन्दा उत्कृष्ट योगदान भएको टिप्पणी गरे। कार्यक्रमका अर्का अतिथि कार्टर ब्लड केयरका निर्देशक टड एबनरले छोटो समयमा बी.डी.ए.ले गरेको उत्कृष्ट मानवीय कार्यको प्रशंसा गर्दै निरन्तर हातेमालो गर्न पाउँदा खुसी लागेको बताए I 

सोही दिनको अन्ततिर बी.डी.ए.को वार्षिक साधारण सभा भएको थियो भने त्यसपछि भएको बी.डी.ए.को निर्वाचनले आगामी २ वर्षको लागि १३ जनाको नयाँ कार्यसमिति चयन गरेको थियो I डा. लीला दाहालको सभापतित्वमा गठित नयाँ कार्यसमितिमा कार्यकारी उपाध्यक्ष रेसम घर्ती, उपाध्यक्ष संजिव श्रेष्ठ, महासचिव सतिस चन्द्र गुप्ता, उपमहासचिव सञ्जय श्रेष्ठ, कोषाध्यक्ष राम डंगोल, सहकोषाध्यक्ष कपिल अधिकारी, र सदस्यहरूमा डा. नारायण खड्का, इरा आचार्य, बालानन्द भण्डारी, महेश्वर पन्त, टिका पौडेल, र शिव काफ्ले छन्।

तेस्रो/अन्तिम दिन: मे २७ (आइतबार)
“बि अ लाइफ सोभर बि अ ब्लड डोनर” (“जीवनदाता होऊ, रक्तदाता होऊ”) भन्ने नाराका साथ सुरु भएको ब्लड डोनर्स अमेरिका (बी.डी.ए.) को दोस्रो राष्ट्रिय सम्मेलन मे २७ (आइतबार) “रक्तदान” सँगै सम्पन्न भएको छ I स्थानीय नेपाली संस्था नागका अध्यक्ष केशव शर्माको मारियेटा स्थित “हवेली इन्डियन रेस्टुराँ” मा सम्पन्न रक्तदान कार्यक्रममा ७० भन्दा बढी सहभागी थिए भने ३५ जनाले रक्तदान गरेका थिए I यस कार्यक्रमको संयोजन सम्मेलनका सभापति भविन्द्र बस्नेत, नागका अध्यक्ष केशव शर्मा, र नागका महासचिव डा. प्रणय रानाले गरेका थिए ।

प्रतिक्रिया