अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:११ | Colorodo: 09:26

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

बिआरटीनेपाल २०७५ जेठ १३ गते १२:०४ मा प्रकाशित

चितवन, भरतपुरबाट काठमाडौँका लागि आज अपराह्न उडेको यति एयरको जेटस्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ ।

अपराह्न ४ बजेर १० मिनेटमा उडेको जहाजमा भरतपुरको रिजालचोकमाथि पुग्दा सानो भंगेरो जातको चरा इन्जिनमै ठोक्किएपछि आकस्मिक अवतरण गरिएको यति एयरका भरतपुर शाखा प्रबन्धक राजेश सिंहले जानकारी दिनुभयो ।

यति एयरलाइन्सको 9N AIS कलसाइनको जहाज २२ यात्रु लिएर काठमाडौँका लागि उडेको थियो । प्रबन्धक सिंहका अनुसार क्याप्टेन रमेश श्रेष्ठले जहाज उड्ने बित्तिकै इन्जिनमा चरा छिरेको आशङ्का गरेपछि तत्कालै भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गराउनुभएको थियो । समयमै अवतरण गराएका कारण ठुलो दुर्घटनाबाट जहाज जोगिएको भरतपुर विमानस्थलले जनाएको छ । यात्रुहरू सकुशल रहेका छन् । 

उनीहरूलाई अर्को जहाज झिकाएर काठमाडौँ पठाइएको सिंहले बताउनुभयो । अर्को जहाजमा इन्जिनियर पनि आएका छन् । चरा ठोक्किएको जहाजको परीक्षण गरेपछि तत्काल उडान गर्न सकिने कि नसकिने भन्ने यकिन हुने भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले बताउनुभयो । यसअघि पनि तारा एयरको विमान भरतपुरबाट मेघौली जाँदा चरा ठोक्किएपछि जहाजमै प्वाल परेको थियो ।

प्रतिक्रिया