अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 23:06

पूर्व माओवादीका सत्ताको स्वाद चाखेका नेताहरू सबै अर्बपती हुन्: आलोक रायमाझी

बिआरटीनेपाल २०७५ जेठ १३ गते ११:२७ मा प्रकाशित

पूर्व (माओवादी केन्द्र) र एमाले बिचको एकतामा असन्तुष्ट हुँदै अस्वीकार गर्ने क्रम बढ्दो देखिएको छ । सोही क्रममा आज पूर्व माओवादी केन्द्रका दर्जनौँ नेता कार्यकर्ताहरूले माके एमाले एकतामा नजाने घोषणा गर्दै बिमल अधिकारीको नेतृत्वमा ५१ सदस्यीय नेकपा (माओवादी) को घोषणा गर्दै रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेका छ्न । 

सो पत्रकार सम्मेलनमा पुनर्गठित नेकपा (माओवादी केन्द्र)का प्रदेश न. ५ का इन्चार्ज आलोक रायमाझीलाई पनि बधाई तथा शुभकामना दिन बोलाइएको थियो, उनले एकतालाई अस्वीकार गर्ने नेता कार्यकर्ताहरूलाई बधाई तथा स्वागत गर्दै आफ्नो धारणा राख्दै वर्तमान सरकारमाथि दर्जनौँ आरोप र चर्को आलोचना गरे । उनले भने “कलियुगको महाभारत अब सुरु भइसक्यो, यो महाभारतको युद्धमा पूर्व कमरेड प्रचण्डले कृष्णलाई नरोजेर, फौजलाई मात्रै रोजे, हामीले फौज नरोजेर केवल कृष्णलाई रोज्यौ, कृष्ण भनेको बिचार, सिद्धान्त र समयको अपरिहार्यता हो, त्यसैले हाम्रो जित निश्चित छ ।”

उनले अगाडि थपे, “हार निश्चित छ भन्ने जान्दाजान्दै पनि मन नलागी नलागी युद्धमा होमिने कर्ण जस्तो नबन्नुस् आधुनिक युगको कर्ण बन्न म कथित माके पिकेका इमानदार नेताकार्यकर्ताहरु लाई आह्वान गर्न चाहन्छु ।” प्रचण्ड, केपी लाई इङित गर्दै उनले भने ‘तिमी कौरवहरूसँग अहिले षड्यन्त्र र आपराधिक मानसिकताले भरिएको जत्था र फौज दुवै ठुलो छ, हामी पाण्डबहरुसंग बिचार, सिद्धान्त, निष्ठा र जनता प्रतिको लगाव छ, त्यसैले पनि जित हाम्रो पक्का छ ।’

सरकार प्रति कटाक्ष गर्दै उनले भने `दलाल पुँजीवादी, नोकरशाही र नवऔपनिवेशिक सरकारका धृष्टरास्ट्र, शकुनि, दुर्योधन र दुस्सासनहरु अब तिम्रो पापको घडा भरिइसक्यो, तिमीहरूका दिनपनि सकिइसके अब तिम्रा अपराध र पापको एकएक हिसाब हुन्छ, हे नवबादशाहहरु तिम्रा महलका कुर्सीबाट पछारेर जनताले तिमीहरूलाई सडकमा फुटबल खेल्ने दिन धेरै टाढा छैन ।

उनले पूर्व (माओवादी केन्द्र) का नेताहरूलाई गम्भीर आरोप लगाए `प्रचण्ड कम्पनीका पूर्व माओवादीमा सत्ताको स्वाद चाखेखा अधिकांश नेताहरू अर्बपति बनिसके, अहिले त्यो कालो धनलाई कसरी सेतो बनाउने भनेर छट्पटाहटमा दर्जनौँ व्यावसायको नाैटंकि गरिरहेका छ्न, तर हामी तिमीहरूलाई जनताको बिचमा नाङ्गो बनाएरै छाड्छाै ।´ सो पार्टी पार्टी घोषणा कार्यक्रमबाट बिमल अधिकारी लाई संंयाेजक बनाउँदै ५१ सदस्यीय समिति बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू