अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 07:53

कलङ्की ‘अन्डरपास’ असार १५ देखि सञ्चालन हुने

बिआरटीनेपाल २०७५ जेठ १२ गते ०:०३ मा प्रकाशित

राजधानीको कलङ्कीमा निर्माण भइरहेको मुलुककै पहिलो ‘अन्डरपास’ असारको दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । काठमाडौँ चक्रपथ सुधार आयोजनाका प्रमुख प्रकाश भण्डारीले कलङ्की–कोटेश्वर चक्रपथ विस्तार आयोजना अन्तर्गत कलङ्कीमा निर्माण भइरहेको ‘अन्डरपास’ असारको १५ गतेदेखि सञ्चालनमा आउने जानकारी दिनुभयो ।

चार लेन फराकिलो र ३८ मिटर लामो सो ‘अन्डरपास’ को एकातिरको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ भने अर्कोतिरको निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी आयोजना प्रमुख भण्डारीले दिनुभयो । गोरखापत्र दैनिक बाट यो ‘अन्डरपास’ को निर्माणपछि नागढुङ्गा तर्फबाट कालिमाटीतिर आउने र कालिमाटीबाट नागढुङ्गातर्फ जाने सवारी साधनहरू अहिलेकै सडकको लेवलबाट आउने जाने गर्नेछन् । त्यसै गरी, चक्रपथमा घुम्ने सवारी साधनहरू जक्सनमा अवरोध नहुने गरी ‘अन्डरपास’ भएर जानेछन् । खसी बजारबाट नागढुङ्गा र कालिमाटीतिर तथा स्वयम्भूबाट नागढुङ्गा र कालिमाटीतिर जानका लागि अहिले दुई÷दुर्ई लेनको सर्भिस ट्रयाक निर्माण भइरहेका छन् । कलङ्कीको सम्पूर्ण संरचना निर्माण भइसकेपछि त्यहाँ अब आकाशे पुलको आवश्यकता पर्ने छैन ।

आठ महिनाभित्र चक्रपथ हस्तान्तरण
कलङ्की–कोटेश्वर चक्रपथ विस्तार कार्य अन्तिम चरणमा पुगेको बताउँदै आयोजना प्रमुख भण्डारीले यसवर्षको डिसेम्बरमा सरकारलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो । उहाँले यस वर्षको जुलाईसम्म चक्रपथको यो खण्डमा कालोपत्रेको काम सम्पन्न हुने जानकारी दिनुभयो ।

कालोपत्रेपछि फिनिसिङ, साइनबोर्ड, जेब्राक्रसिङको पेन्टिङ, ल्पान्टेशनलगायतका ‘माइनर’ कार्यहरू सम्पन्न गरिने बताउँदै उहाँले यस वर्षको डिसेम्बरसम्म चक्रपथको यो खण्ड सरकारलाई हस्तान्तरण गरिसक्ने जानकारी दिनुभयो । बालुवालगायतको निर्माण सामग्रीको अभाव तथा बिजुली र टेलिफोनको पोल स्थान्तरण (रि–लोकेटेड) समयमा नहुँदा निर्माण कार्य दुई महिना ढिलो हुन गएको उहाँले स्पष्ट पार्नुभयो । 

कलङ्की–महाराजगन्ज खण्ड विस्तार सुरु
बहुप्रतीक्षित कोटेश्वर–कलङ्की चक्रपथ विस्तारको कार्य सम्पन्न नहुँदै कलङ्की–महाराजगन्ज खण्ड विस्तार प्रक्रिया अगाडि बढेको छ । दोस्रो चरण अन्तर्गत विस्तार गरिने यो खण्डको किनारका संरचना हटाउने कार्य काम सुरुभइसकेको जानकारी आयोजना प्रमुख भण्डारीले दिनुभयो । कलङ्की–महाराजगन्ज खण्डको लम्बाइ ८.२ किलोमिर रहेको छ ।

सडक विभाग वैदेशिक महाशाखा प्रमुख सञ्जय श्रेष्ठले चक्रपथको यो खण्ड विस्तारको लागि चार महिना अगाडि नेपाल सरकार (अर्थ मन्त्रालय) र चीन सरकारबिच सहमति पत्र (एमओयू) मा हस्ताक्षर भइसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार यस खण्डको विस्तारका लागि चिनियाँ पक्षले वृहत् परियोजना प्रतिवेदन (डिपीआर) सहित आवश्यक सम्पूर्ण तयारी गरिसको छ । चीनको वाणिज्य मन्त्रालयले सन् २०१८ को जून महिनासम्म उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोलहरू हटाउन सडक विभागसँग लिखित आग्रह गरिसकेको उहाँले बताउनुभयो ।

थप विस्तार गरिने
महाशाखा प्रमुख श्रेष्ठले कलङ्की–महाराजगन्ज खण्ड विस्तार कार्य सम्पन्नपछि तेस्रो चरण अन्तर्गत महाराजगन्ज–कोटेश्वर खण्ड विस्तार हुने बताउनुभयो । यस खण्डको विस्तारका लागि समेत चीन सरकार सहमत भइसकेको जानकारी उहाँले दिनुभयो ।

कलङ्की–महाराजगन्ज–कोटेश्वर खण्डको विस्तारको सम्भाव्यता अध्ययन समेत चिनियाँ प्राविधिकले गरिसकेका छन् तथा चीन सरकारले उक्त प्रतिवेदनलाई स्वीकृत गरिसकेको जानकारी उहाँले दिनुभयो । कलङ्की–महाराजगन्ज–कोटेश्वर खण्डको कूल लम्बाइ १७ किलोमिटर रहेको छ ।

उहाँले चीन सरकारको ताकेतापछि अब उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोलहरू हटाउने कामको थालनी सडक विभागले छिट्टै नै गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार, चीनले माग गरेको समय सीमाभित्रमा नै यस खण्डका ढल, विद्युत् र टेलिफोनका पोलहरू हटाउने काम सम्पन्न गरिनेछ । कलङ्की–महाराजगन्जको खण्डको डिजाइन फरक कोेटेश्वर–कलङ्की खण्डको भन्दा कलङ्की–महाराजगन्ज खण्डको डिजाइन फरक हुने जानकारी महाशाखा प्रमुख श्रेष्ठले दिनुभयो ।

कलङ्की–महाराजगन्ज खण्डमा दुई सडकको बिचमा खाली ठाउँ राखिनेछ जसलाई ‘मेडियन’ भनिन्छ । रातीको समयमा चालकको आँखामा विपरीत दिशाबाट आइरहेको सवारी साधनको बत्तीको प्रकाश पर्ने गरेको हुनाले यस खण्डमा ‘मेडिन’ राखिने भएको छ । कोेटेश्वर–कलङ्की खण्डमा ‘मेडियन’ राखिएको छैन । महाराजगन्ज–कोटेश्वर खण्डको विस्तार पनि यसै डिजाइनमा गरिने जानकारी उहाँले दिनुभयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चैत २०७२ मा भएको चीन भ्रमणका क्रममा पुरै चक्रपथ विस्तार गरिनेसम्बन्धी सहमति भएको थियो । सम्बत् २०२७ सालमा चीन सरकारकै अनुदान सहयोगमा चार लेनको चक्रपथ निर्माण भएको थियो । तत्तकालिन चिनियाँ प्रधानमन्त्री हु जिन्ताओको नेपाल भ्रमणका बेला चक्रपथ विस्तारका लागि नेपाल सरकारले औपचारिक प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू