अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 06:28

उपराष्ट्रपति चिल्ड्रेन गेम्समा प्रदेश ३ च्याम्पियन

बिआरटीनेपाल २०७५ जेठ ११ गते १९:३८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्समा प्रदेश ३ समग्रमा टिम च्याम्पियन बनेको छ । एथलेटिक्स, कराते, तेक्वान्दो र उसु गरी ४ खेल समावेश प्रतियोगितामा प्रदेश ३ ले सर्वाधिक १४ स्वर्ण, ५ रजत र १० कांस्य जितेको छ ।त्यस्तै प्रदेश ४ दोश्रो भएको छ । प्रदेश ४ ले ५ स्वर्ण, ९ रजत र २ कांस्य जितेका छन् । तेश्रो भएको प्रदेश ५ ले ४ स्वर्ण, ८ रजत र ९ कांस्य हात पारेको छ ।

एथलेटिक्स बाहेक प्रदेश ३ बाँकी तीनै खेलमा टिम च्याम्पियन बनेको छ । एथलेटिक्समा भने प्रदेश ५ अगाडि भए । प्रदेश ५ ले ४ स्वर्ण, २ रजत र ५ कांस्य जित्दै प्रदेश तीनलाई ४ खेल समावेश प्रतियोगिताको उपाधि क्लिन स्विप गर्नबाट रोकेका थिए । प्रदेश ३ ले एथलेटिक्समा भने कुनै स्वर्ण जित हात पार्न सकेन । प्रदेश ३ ले तेक्वान्दोमा ४ स्वर्ण, १ रजत र ४ कांस्य, करातेमा ६ स्वर्ण र ३ रजत तथा उसुमा ४ स्वर्ण, ३ रजत र ३ कांस्य जितेको छ ।

एथलेटिक्सः

ब्वाइज २ सय मिटर दौडमा प्रदेश २ का अमर यादव पहिलो भएका छन् । उनले निर्धारित दूरी २४.१८ सेकेन्डमा पूरा गरेका थिए । सोही स्पर्धाको गल्र्समा प्रदेश ५ की प्रशान्ती थारुले शीर्ष स्थान हात पार्न २८.९५ सेकेन्डमा दूरी तय गरिन् । ब्वाइज र गल्र्सको १ सय मिटरमा पहिलो भएका क्रमशः राहुल गुरुङ र रिया थापाले २ सय मिटरमा भने दोश्रो स्थानमा चित्त बुझाए । राहुल र रिया दुवै प्रदेश ४ का हुन् ।

लङजम्पको ब्वाइजमा प्रदेश ५ कृष्ण घिमिरे पहिलो भएका छन् । उनले ५.५९ मिटर जम्प गर्न सफल बने । त्यसै स्पर्धाको गल्र्समा ४.४९ जम्प गर्दै प्रदेश २ की अनुषा राउतले स्वर्ण चुमिन् । कृष्ण र अनुषाले ट्रिपलजम्पमा पनि स्वर्ण जितेका छन् ।

कराते :

करातेको ब्वाइज एकल कातामा प्रदेश १ का सूर्यचन्द्र राईले स्वर्ण पाएका छन् । उनले प्रदेश ४ का प्रिन्स गुरुङलाई पराजित गर्दै स्वर्ण पाएका हुन् । सोही स्पर्धाको गल्र्समा प्रदेश ३ की सन्जु देशारले प्रदेश ५ की अनिता पुनलाई हराउदै पहिलो भइन् ।

ब्वाइज ३० केजीमा प्रदेश ३ का सुशील परियार पहिलो भए । उनले फाइनलमा प्रदेश ४ का रुपेश तामाङलाई पाखा लगाएका थिए । ३४ केजीमा प्रदेश ३ सुशान्त हुमागाईंले प्रदेश ४ का विपिन पुन तथा ३८ केजीमा प्रदेश ४ का भाष्कर पुनले प्रदेश १ का अतिम राईलाई फाइनलमा पन्छ्याउदै पहिलो स्थान हात पारेका छन् ।

गल्र्सको ३० केजीमा प्रदेश ३ की एन्जिला राईले प्रदेश ५ की श्रृष्टि गुरुङ, ३४ केजीमा प्रदेश ३ की सन्जु देशारले प्रदेश ५ की अनिता विक तथा ३८ केजीमा प्रदेश ३ की मिना ब्लोनले प्रदेश ५ की अनिता पुनलाई पाखा लगाउदै पहिलो भएका छन् ।

तेक्वान्दो :

ब्वाइज ४१ केजीमुनि प्रदेश ६ का सुशील बर्ला पहिलो भए । उनले फाइनलमा प्रदेश ४ का लेखनाथ कुर्मीको चुनौती समाप्त पारे । एकल पुम्सेमा प्रदेश ३ का विवेक श्रेष्ठले प्रदेश १ का सोहन कार्कीलाई पछि पार्दै स्वर्ण चुमे ।

गल्र्सको ३३ केजीमुनि प्रदेश ३ की निमा खत्रीले प्रदेश १ की ममता माझी तथा ३७ केजीमुनि प्रदेश ७ की प्रकृति पालीले प्रदेश ३ की लक्ष्मी सुनाखरी मगरलाई निराश पार्दै शीर्ष स्थान कब्जा गरे । लक्ष्मी पुम्सेमा भने स्वर्ण जित्न सफल भइन् । लक्ष्मीले प्रदेश ५ की आशा विकलाई हराइन् ।

उसु :

छाङ छ्वानको ब्वाइजमा प्रदेश ३ का अरुण तामाङ र गल्र्समा प्रदेश ३ की सारा तामाङ, नान् छ्वानको ब्वाइजमा प्रदेश १ का एलिस मरिक र गल्र्समा प्रदेश ७ दीक्षा साउद तथा थाइची छ्वानको ब्वाइजमा प्रदेश ३ का विवेक मण्डल र गल्र्समा प्रदेश ३ कै मारीया राई पहिलो बनेकी छन् ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । चारै खेलको प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

दुईदिने प्रतियोगितामा ७ प्रदेशबाट ४६ का दरले ३ सय २२ खेलाडी सहभागी थिए । ब्वाइज/गल्र्सतर्फ एथलेटिक्समा समान ५/५, कराते र तेक्वान्दोमा समान ४÷४ तथा उसुमा समान ३/३ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

एथलेटिक्स र तेक्वान्दो लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, तेक्वान्दो सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा खेलाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू