अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२५ | Colorodo: 01:40

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्याकंन (इआइए) स्वीकृत

बिआरटीनेपाल २०७५ जेठ १० गते ९:५७ मा प्रकाशित

बाराको निजगढमा बनाउन लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्याकंन(इआइए) स्वीकृत भएको छ । पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले ट्वीटरमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन स्वीकृत भएको जानकारी दिएका हुन । इआइए स्वीकृत भएसँगै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम थप अगाडी बढ्ने भएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमान स्थल निर्माण आयोजनाले हाल जग्गा अधिग्रहण बाहेक आयोजना निर्माणमा अन्य काम अगाडि बढेको छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १०० दिने कार्ययोजनामा पनि राष्ट्रिय गौरवका ५ आयोजनामध्ये निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मुख्य प्राथमिकतामा परेको छ । राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी कार्यान्वयन गर्न भन्दै मन्त्री अधिकारीले निजगढ विमानस्थलको वातावरण प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृत गराउने, विमानस्थलका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको कोरियन कम्पनीसँगको दायित्व व्यवस्थापन गर्ने र विमानस्थल निर्माणको नमुना तय गर्ने उल्लेख  गरेका थिए ।

अन्य आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखराक्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता तथा पशुपति क्षेत्र विकास कोष र लुम्बिनी क्षेत्र विकास कोषको कामलाई प्रभावकारी बनाइने मन्त्री अधिकारीले प्रतिबद्धता जनाएका थिए ।उनले मन्त्रालयको पदबहालीका क्रममा निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो मात्र नभई राज्यकै प्राथमिकता रहेकाले शीघ्र निर्माण कार्य अघि बढाउने उद्घोष समेत गरेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक त्रिलोचन पौडेलका अनुसार निजगढ विमानस्थल क्षेत्रमा पर्ने रुख कटनी र सेरोफेरो सडक निर्माण कार्य भइरहेको छ । वनको काम नेपाली सेनाले जिम्मा लिएको छ ।विमानस्थल निर्माणका लागि करिब ११ हजार बिगाहा जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ । आयोजना प्रभावित बारा गढीमाई नगरपालिका १६ मा रहेको टांगिया बस्तीका एक हजार ४०० घरघुरीलाई स्थानान्तरण गर्नुपर्नेछ । विमानस्थलमा पहिलो चरणमा एउटा धावन मार्ग र टर्मिनल निर्माण गर्ने योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू