अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५४ | Colorodo: 14:09

सरकार सर्वसत्तावाद कायम गर्न उन्मुख छ : कमल थापा

बिआरटीनेपाल २०७५ जेठ १० गते ७:०० मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा वर्तमान् सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख रहेको गम्भिर आरोप लगाएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन । उनले वर्तमान सरकार प्रतिपक्षी र विपक्षी दलहरुको क्रियाकलापप्रति असहिष्णु हुनु सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उद्दत रहेको प्रमाण भएको जिकिर गरे ।

राष्ट्रियताको पक्षमा विगतमा लिएको अडान र केपी ओलीलाई जनताले मत दिएको तर, जनताको म्याण्डेटअनुसार शान्ति, स्थिरता र प्रजातन्त्रलाई बलियो बनाउनेमा अहिले शंका पैदा भएको थापाको आरोप छ ।

राष्ट्रियताको लहडमा एमाले र यसका नेतृत्वकर्ता केपी शर्मा ओलीलाई जनताले राज्य सञ्चालनको महत्वपूर्ण जिम्मेवारी दिएको उल्लेख गर्दै अध्यक्ष थापाले भने,‘तर विगत १०० दिनको घट्नाक्रम हेर्दा, खासगरी एमाले र माओवादी केन्द्रबीचको एकता कामय गर्ने सिलसिलामा विकसित घट्नाक्रम हेर्दा र नेताहरुद्धारा व्यक्त भएका अभिव्यक्ति हेर्दा राष्ट्रियता बलियो बनाउने आधारमा आशंका पैदा भएको छ।’

अध्यक्ष थापाले पछिल्लो समय धर्म परिवर्तन, भ्रष्टाचार, संविधानको आवरणमा बढ्दै गैरहेको सर्वसत्तावाद र बाह्य शक्तिको चलखेल प्रमुख चूनौतिको रुपमा देखा परेकोले यी सबै चूनौतिको सामना गर्नको लागि राष्ट्रियताको संरक्षण, हिन्दूराष्ट्रको पूर्नस्थापना, प्रजातन्त्रको सुदृढिकरण र प्रजातान्त्रिक शक्तिहरुका बीचमा एकता अनिवार्य आवश्यक रहेको सुनाए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू