अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१५ | Colorodo: 14:30

काठमाण्डौभित्र ४ वटा रुटमा केबलकार बन्ने

बिआरटीनेपाल २०७५ जेठ १० गते ६:५५ मा प्रकाशित

काठमाडौं उपत्यकामा यात्रु सेवाका लागि केबलबार सञ्चालन गर्ने तयारी भएको छ । सरकारले केबलकार संचालनका लागि गृहकार्य थालेको हो ।

निजी क्षेत्रलाई जिम्मा दिने गरी सरकारले केबलकार सञ्चालनको तयारी थालेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । ४ वटा रुटमा केबलकार सञ्चालन गर्न छलफल सुरु भएको छ ।

भर्खरै सकिएको विस्तृत सम्भाब्यता अध्ययनले १५ अर्ब लगानी गर्दा काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने देखाएको हो ।

प्रतिवेदनमा कालिमाटीबाट बसन्तपुर–रत्नपार्क–डिल्लीबजार–भन्डारखाल–चाबहिल हुँदै बौद्धनाथ पुग्न पहिलो केबलबार रुट प्रस्ताव गरिएको छ । यो ७ किलोमिटरको रुटमा ७ वटा स्टेशन राख्नुपर्ने उल्लेख छ । यसलाई तत्कालै पाइलट प्रोजेक्टका रुपमा अघि बढाउने योजना छ ।

गोंगबुबाट बालाजु–सोह्रखुट्टे–कालिमाटी–बल्खु–त्रिभुवन विश्वविद्यालयसम्म पनि चलाउन सकिने भन्दै प्रस्ताव गरिएको छ ।

यस्तै कलंकीबाट टेकु–थापाथली हुँदै रत्नपार्कसम्म पनि केबलकार चलाउन सकिने अध्ययनले ठहर गरेको छ । लगनखेलबाट पुल्चोक(थापाथली(रत्नपार्कसम्मको रुटमा पनि केबलबार चलाउन सकिने प्रतिवेदनमा उल्लेख छ । यो प्रतिवेदनमा एउटा स्टेशनबाट केबलकार चढेपनि जुन ठाउँमा ओर्लिए पनि ४० रुपैयाँ भाडा लिने उल्लेख छ ।

मेट्रो तथा मोनो रेल चलाउन सम्भाब्यता अध्ययन अघि बढाउँदै गर्दा यही प्रतिवेदनलाई आधार बनाएर केबलकार सञ्चालनबारे पनि सरकारी स्तरमा छलफल सुरु भएको हो । सडकमा सवारी चाप घटाउन केबलकारको प्रयोग महत्वपूर्ण र वैज्ञानिक हुने ठहर प्रतिवेदनमा गरिएको छ ।

फ्रान्स सरकारको सहयोगमा तयार भएको सम्भाव्यता अध्ययन प्रतिवेदन फान्सेली कम्पनीहरु एमडिपी, पोमा र स्याष्ट्रासहित पञ्चकन्या समूह र कालिका कन्सट्रक्सनले पाँच वर्ष लगाएर तयार गरेका हुन् । फ्रान्सेली कम्पनीहरु केबलकार निर्माण, व्यवस्थापन र सञ्चालनका मामिलामा अनुभवी हुन् ।

केबलकार निर्माणका लागि स्टेशनहरु बनाउन सरकारले जग्गा उपलब्ध गराउनुपर्ने सुझाव प्रतिवेदनमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू