अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४७ | Colorodo: 02:02

विकास र समृद्धिका लागि सिण्डिकेट अन्त्य हुनुपर्छः गृहमन्त्री

बिआरटीनेपाल २०७५ जेठ ९ गते ९:०९ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, अनियमितता र सिण्डिकेटको अन्त्य नभएसम्म मुलुकमा विकास र समृद्धि आउन नसक्ने बताउनुभएको छ । 

आज  धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “ विकास निर्माण, यातायात, स्वास्थ्य, शिक्षा, कृषिलगायत हरेक क्षेत्रमा देखिएको भ्रष्टाचार, अनियमितता र सिण्डिकेट अन्त्यका लागि सरकार पूर्ण प्रतिवद्ध छ ।”

गृहमन्त्री थापाले सरकार विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउँदै तस्करीलाई समर्थन गर्ने प्रहरीलाई तत्काल कारबाही गर्ने दृढता व्यक्त गर्नुभयो ।

प्रहरी, कर्मचारी संयन्त्र र राजनीतिक दलमा सुधारको ठूलो खाँचोको आवश्यकता महसुस गरेर सरकारले शुद्धिकरणको अभियान चलाइरहेको बताउँदै उहाँले यो कार्यमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका संविधान विरोधी क्रियाकलापलाई राजनीतिक र प्रशासनिक ढंगबाट समाधान खोज्ने गृहकार्यमा सरकार लागिपरेको बताउँदै दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकताले देशमा राजनीतिक स्थायित्वलाई सुनिश्चित गरेको छ भन्नुभयो ।

उहाँले आन्तरिक सुरक्षा नीतिलाई सबल र सुदृढ बनाई मुलुकको विकास र समृद्धिलाई सुनिश्चित गर्न सातवटै प्रदेशमा सुरक्षा गोष्ठी गरिएको पनि बताउनुभयो ।

यसैगरी गृहमन्त्री थापाले आज धनगढीमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्नुभयो । गोष्ठीमा प्रदेश नं ७ का नौवटै जिल्लाका सुरक्षा निकाय प्रमुखको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू