अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 10:49

नीति तथा कार्यक्रममा नीतिहरु छन्, कार्यक्रम छैनन्– सभापति देउवा

बिआरटीनेपाल २०७५ जेठ ९ गते ८:५७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा नीतिहरू मात्रै रहेको र कार्यक्रम नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा आज सरकारको आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले नीति तथा कार्यक्रममा लक्ष्य छन् तर स्पष्ट रूपमा लेखिएका कार्यक्रम छैनन् भन्नुभयो ।

सभापति देउवाले भन्नुभयो, “योजना र कार्यक्रम बिनाका सपना केवल मनोकामना मात्र हुन् । सरकारलाई कर्मकाण्डी बन्ने छुट छैन । आफूलाई बलियो मान्ने सरकारले आर्थिक र सामाजिक सुधारका लागि ठुल्ठूला जोखिम मोल्नुपर्छ, त्यो स्पीरिट म देख्दिनँ ।”

विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको काँग्रेसको सरकारले आर्थिक क्षेत्रमा साहसिक र दूरगामी असर पार्ने क्रान्तिकारी काम गरेको उल्लेख गर्दै उहाँले तत्कालीन सरकारले नै अर्थतन्त्रमा विभिन्न संरचनाको सुधार गरी उदारवाद अर्थतन्त्रको जग बसालेको जानकारी गराउनुभयो । 

उहाँले काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा नै नयाँ संविधान जारी भएको र त्यसलाई सर्वस्विकार्य बनाउन आफूहरूले संविधान संशोधनको प्रयास गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय, प्रदेश र सङ्घका ऐतिहासिक चुनाव सफल रूपमा सम्पन्न गराई मैले नेपालको नयाँ संविधानलाई सफल कार्यान्वयनमा लगेर छोडेको छु । अब देशले स्थिरता र समुन्नतिको बाटो समातेको छ । राजनीतिक संक्रमण सकिएको छ । विगत दुई वर्षलगातार उच्च आर्थिक वृद्धि दर हासिल गरिएको छ । अहिलेको सरकारलाई अवसर थियो । तर सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कुनै सिर्जनशीलता देखिएन ।”

अहिलेको आवश्यकता भनेको सङ्घीयतालाई सफल रूपमा कार्यान्वयन गरी सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याई जनतालाई सशक्त र सम्पन्न गराउनु हो भन्दै सभापति देउवाले नीति तथा कार्यक्रममा सङ्घीयताको कानुनी तथा प्रशासनिक संरचनालाई क्रियाशील गराउने कुरामा स्पष्ट धारणा नआएको टिप्पणी गर्नुभयो । प्रदेश र स्थानीय तहलाई निष्प्रभावी बनाउने घुमाउरो नियत काँग्रेसलाई स्वीकार्य नहुने भन्दै उहाँले नीति तथा कार्यक्रमले ग्रहण गरेको यो मर्मले राजनीतिक आन्दोलनका उपलब्धिलाई नजरअन्दाज गर्न खोजिएको भान भएको उल्लेख गर्नुभयो ।

दिशाहीन, छरपस्ट सिद्धान्त र नीतिको पोकोले वर्तमान अवस्थामा देशले चाहेको बृहत् लगानी र व्यापक रूपमा रोजगारीका अवसर सिर्जना गर्ने कुरा दिवा सपना मात्रै हुने धारणा व्यक्त गर्दै सभापति देउवाले सरकारले तोकेका लक्ष्य पूरा हुने विश्वसनीय आधार छैनन् भन्नुभयोे ।

उत्तर–दक्षिण, पूर्व र पश्चिमका हाम्रा सिमानाको सुरक्षा गरेर बसेका नेपाली दाजु–भाइ दिदीबहिनीलाई राष्ट्रवादबारे पाठ पढाउन जरुरी नभएको टिप्पणी गर्दै उहाँले नेपाली जनता जहाँ बसेका भए पनि सबै राष्ट्रवादी हुन् भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू