अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३० | Colorodo: 09:45

नेपाल फर्किएर सन्दिपले भने-आइपिएल यात्रा अविस्मरणीय

बिआरटीनेपाल २०७५ जेठ ८ गते १८:४८ मा प्रकाशित

युवा क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपिएल खेलेर मङ्गलवार नेपाल फर्किएका छन्। लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । फर्किएका सन्दीपलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का लगायतले स्वागत गरेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सन्दीपले आइपिएल नेपाललाई चिनाउने मौका भएको भन्दै त्यसलाई सदुपयोग गर्न सक्दो प्रयास गरेको बताए । उनले भने, ‘सिक्ने अवसर थियो । त्यसलाई सदुपयोग गरेँ भन्ने लाग्छ ।’

उनले अर्को वर्ष आफू नेपाली खेलाडीहरूलाई पनि आईपीएलमा हेर्ने इच्छा रहेको बताए । उनले आइपिएल आफ्नो अविस्मरणीय यात्रा भएको बताएका छन् ।

उनी जेट एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सन्दीपले आइपिएल खेलेर विश्वमा नेपालीलाई चिनाउन पाएकोमा खुसी व्यक्त गरे।

दिल्ली डेयर डेभिल्सबाट यस सिजनको आइपिएल खेलेका सन्दिपले ३ खेलमा कूल ५ विकेट लिएका थिए। आइपिएल खेल्न पाएर आफ्नो बलिङमा थप सुधारको मौकासमेत हासिल भएको उनले बताए।

सुरुको ११ खेलसम्म बेन्चमा बसेर दर्शकमात्र बनेका सन्दीपले १२ औँ खेलमा रोएल च्यालेन्जर्स बैंगलोर विरुद्ध पहिलोपटक खेल्ने अवसर पाए। उनले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट लिए।

महेन्द्र सिंह धोनीको चेन्नाई विरुद्ध दोस्रो खेल खेलेका सन्दीपले ४ ओभरमा २१ रन दिएर सुरश रैनाको विकेट लिएका थिए। 

लिग चरणको अन्तिम खेलमा पनि मौका पाएका सन्दीपले मुम्बई विरुद्ध ३ विकेट लिए। सूर्य कुमार यादव, किरण पोलार्ड र क्रुनल पाण्ड्याको विकेट लिएका सन्दीपले ४ ओभरमा ३६ रन खर्चे।

समग्रमा १२ ओभर बलिङ गरेका सन्दीपले ८२ रन खर्चेर ५ विकेट लिएका हुन्। ११औँ संस्करणको आइपीएलका लागि दिल्लीले सन्दीपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो।

प्रतिक्रिया