अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५८ | Colorodo: 05:13

बिदा कटौती भएकोमा मुस्लिम सङ्घको आपत्ति

बिआरटीनेपाल २०७५ जेठ ७ गते २२:१२ मा प्रकाशित

बेसीशहर, लमजुङ, मुस्लिमका चाड पर्वमा दिइँदै आएको बिदा कटौती भएकोमा मुस्लिम सङ्घले आपत्ति जनाएको छ । नेपाल मुस्लिम सङ्घ, लमजुङले सरकारले आफ्नो चाडपर्वमा बिदा कटौती गरेकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो । मुस्लिम सङ्घ, लमजुङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको हो ।

नेपाली नागरिकको अथक प्रयास र बलिदानबाट मुलुकमा प्रजातन्त्र, लोकतन्त्र स्थापना भए पनि पछिल्लो समय धार्मिक अधिकारबाट मुस्लिम समुदायलाई वञ्चित गरिएको उनीहरूको गुनासो छ । मुस्लिम समुदायले मनाउँदै आएको मुख्य चाड इद र बकर इदमा कम्तीमा पनि एक दिन सार्वजनिक बिदा दिनुपर्ने मुस्लिम सङ्घ, लमजुङका अध्यक्ष फजल उद्धिन मियाँले बताउनुभयो ।

सङ्घले पठाएको ज्ञापनपत्रमा मुस्लिमको मुख्य चाडपर्वमा बिदा दिनुपर्ने मागसँगै संविधानले व्यवस्था गरेबमोजिम राज्यका सबै निकायमा समानुपातिक समावेशी गर्नुपर्ने, मुस्लिम आयोगलाई क्रियाशील बनाउनुपर्ने, मुस्लिम समुदायमा पठनपाठन हुँदै आएको र हाल सरकारद्वारा रोकिएको मदरसा शिक्षालाई तत्काल फुकुवा गरी अनुदान उपलब्ध गराउनु पर्नेलगायतका माग रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू