अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 14:56

नेताहरूका कुरा सुन्दा लगनखेलको अस्पताल याद आउँछ

रामप्रसाद खनाल २०७५ जेठ ७ गते १३:५४ मा प्रकाशित

नेपालको इतिहासमा केपी ओलीले प्रचण्डलाई र प्रचण्डले केपी ओलीलाई जति गाली, ब्यङ्ग कसले कसलाई गरे होला र । तर फोहोरी नेपाली राजनीतिले उनीहरूलाई एउटै कुर्सी, एउटै पदमा मात्र ल्याएन, एउटै टेबुलमा बसेर ङिंच्च दाँत देखाउँदै एकताको सन्देश दिँदै गरेको देख्दा लाग्यो-वेश्यालयहरूमा बरु बोलीको ठेगान, इमान, जमान, अलिकति नैतिकता र विश्वास हुन्छ होला तर नेपाली राजनीतिमा अहँ त्यो केही पनि हुँदो रहेनछ ।

जनताले सधैँ साँचो बोल्नुपर्ने, तर नेताहरूले जे बोले पनि हुने ? जसो गरे पनि हुने ? बिहान एउटा साँझ अर्कै कुरा फेरे पनि हुने ? के राजनीतिमा जे पनि हुन्छ ? जे पनि गर्न पाइन्छ ? नेताहरू जनता प्रति उत्तरदायी हुनु पर्दैन ? जिम्मेवारी छैन ? के जनता भनेको तिम्रा शक्तिखेरका भ्रमहरू सुन्दै ताली मार्नका लागि मात्र हुन ?? के जनता तिम्रा उखान, टुक्का, बकबास सुन्दै हाँस्न र ताली मार्नका लागि मात्रै हुन ?? के नेपाली जनता अनपढ देखी अपराधी सम्म, पढेका भनिने तर न बोल्ने ढङ्ग, न चल्ने ढङ्ग भएका, अपराधीलाई पालैपालो बोक्न मात्र जानेका नालायकहरुलाई प्रधानमन्त्री बनाउन मात्रै चाहिने हुन ? राजनीतिमा बिचार, सिद्धान्त हुन्छ कि हुँदैन ? तपाईँहरू छातीमा हात राखेर भन्नुस् त के यस्तै हुन्छ राजनीति ?? राजनीतिका नाममा यो चारित्रिक, नैतिक बेश्याब्रित्ती होइन र ??

राष्ट्रहितका लागि मिल्नु, एक हुनु, सद्भाव कायम हुनु राम्रो कुरा हो तर केपी ओली र प्रचण्डको एकता राष्ट्र र जनहितमा होइन आफ्नै अध्यक्ष पद र प्रधानमन्त्री पदका लागि, पार्टीगत, गुटगत स्वार्थका लागि हो । यो एकतालाई राम्रो भन्दै ताली मार्नेहरु आफ्नो निहित स्वार्थका लागि अग्रसर, मैले पनि केही पाउँछु कि भन्ने र नेताको दास बन्नेहरुको दाशता भन्दा अरू केही होइन ।

हिँजो एमालेकै कार्यकर्ताहरूलाई छानी छानी दु:ख दिने, लुट्ने, कुट्ने, अपहरण, चन्दा असुली गर्ने, काट्ने मार्ने प्रचण्डहरू आज एमालेकै नेता बन्ने दिन कसरी आयो ? यो अस्वाभाबिक घटना क्रम भएको छ । कमजोर र भिजन नभएका शेर बहादुर र उनको काङ्रेसले जसरी माओवादी बोक्यो त्यो देखेर केपी ओलीले माओवादीलाई टाउकै माथि चढाए ।

राजनीतिमा जे पनि सम्भव हुन्छ भन्दै मन लागि बोल्ने, मन लागि गर्ने नेताहरूको कुन कुराको विश्वास गर्ने अब । नेताहरूको फेरिरहने भाषण र आसन देख्दा मलाई एउटा कुराको याद आयो ।

एक पटक एक जना साथीले भने- मेरो आफन्त बिरामी हुनुहुन्छ भेट्न जान लाग्या । अनि म पनि बिरामी भेट्न गएँ पाटन लगनखेलको मानसिक अस्पतालमा । अस्पतालभित्रको कोठाभित्रै मैले देखेका ती छिन मै रुने, छिनमै हाँस्ने, चिच्याउने, कराउने बिरामीहरू पनि यी नेताहरू जत्तिका छँदै थिएनन । केपी ओली र प्रचण्डका बर्बराहट मात्र होइन लुते बिरालो बनिसकेका नाम मात्रका शेर बहादुर र उनको काङ्रेस अनि अरू दलका नेताहरू सबैका कुरा सुन्दा लगनखेलको अस्पतालको याद आउँछ । लाग्छ यी सबै तिनै बिरामीहरू हुन ।

हत्या, हिंसा, लुटपाट, चन्दा आतङ्क, अपहरण लगायतका अपराधहरूका “राजा” प्रचण्ड के कति कारणले एमाले सँग मिले र एमाले जस्तो पार्टी छोरी बोक्ने काङ्रेस भन्दा अगाडि बढेर किन बाउ बोक्न तयार भयो भन्ने प्रश्नका पछाडि सम्भावनाका धेरै खेलहरू छन्, ती भित्रै पनि छन् र दिल्ली तिर पनि छन् । मोदी मोह, राजकीय भ्रमणहरू, प्रदर्शित नाटकहरूले राष्ट्रबादको बाँकी रहेको दुई बित्ताको धरो खुस्किए पछि अब देखिन बाँकी के नै छ र ! यद्यपि केपी ओली र प्रचण्डको एकता भयो । माधव नेपाल र झलनाथ खनालहरू समेत एकता नामको भद्दा नाटकमा बरियताबाट ओर्लेर आफै तल बसेर ताली मार्न किन तयार भए ? यसको पनि भविष्यले लेखाजोखा गर्ला ।

मानौँ या नमानौँ २०५२ साल देखी नेपालको इतिहासमा एउटा मान्छे सफल छ त्यो हो प्रचण्ड । उनले गिरिजा प्रसाद लाई बेकुफ बनाए, कहिले सुशील, कहिले माधव, कहिले झलनाथ, कहिलेशेर बहादुर । हुँदा हुँदा उनको सबै भन्दा प्रखर विरोधी मान्छे ओलीलाई पनि एउटै कुर्सी र एउटै टेबुलमा ल्याउन सक्ने प्रचण्ड सफल नभएर को छ सफल नेपालमा ? यसो मनमनै मूल्याङ्कन गर्नुस् त । यिनले दुई दुई पटक प्रधानमन्त्री खाए, सदाबहार अध्यक्ष पाए, हुँदा हुँदा तेस्रो पटक प्रधानमन्त्रीको ग्यारेन्टी मात्र गरेनन पार्टी एकता पछि संयुक्त पार्टीको संयुक्त अध्यक्ष सही त्यहाँ पनि यिनले बाजी मारे ।

विगतका अपराधहरूबाट बच्न प्रचण्डलाई जसरी पनि सत्ता र शक्ति वरिपरि हुनै पर्छ नत्र म हेग पनि पुर्‍याइन सक्छु भन्ने राम्रो सँग बुझेका उनले आफूलाई बँचाउन यो खेलमात्र खेलेनन बाजी पनि मारे । तर ९६ प्रतिशत भोट ल्याएर इराकको राष्ट्रपति बनेका सद्दाम हुन वा संसारका कयौँ महा शक्तिशाली राष्ट्रपति, प्रधानमन्त्री पनि बिस तिस वर्ष पछि पनि हेग तानिएका उदाहरण र नजिरहरूले प्रचण्ड बाँचुन्जेल कहिल्यै राम्रो सँग सुत्न निदाउन सक्ने छैनन् ।

केपी ओलीको स्वास्थ्य अवस्थाका बारेमा केपी ओली आफैले भनिसकेका छन् – ” अब म कति नै बाँच्छु र !” हुन पनि ओलीको स्वास्थ्य अवस्था सत्ता र शक्ति अनि सत्र करोड भन्दा बढीको राज्यशक्तिको अनुदानमा बान्चिरहेको कुरा सार्वजनिक भैसकेको छ । यही कुरा बुझेका चतुर खेलाडी प्रचण्डले केपी ओली तलमाथि हुनासाथ त एमालेको घोँडा चढ्ने मै त हुन नि भन्दै यिनले आफ्नो हिसाब किताब गरेर यो एकिकरण भएको छ भन्ने कुरा राजनीति बुझ्ने जो कसैलाई पनि अनुमान गर्न गाह्रो कुरा होइन ।

लागेको थियो एमालेका कार्यकर्ता र नेताहरू सबै बेइमान छैनन् केपी ओलीले भन्दैमा प्रचण्डलाई नेता मान्दैनन तर सोँचाइ गलत साबित भयो । सबै केपी ओली भक्त मात्र देखिए । अब हरेक भर्खरै पूर्व बनेका एमाले नेता, कार्यकर्ताहरू मन्दिर नगएर घरमै केपी ओली र प्रचण्डको ठुलो फोटो राखेर दिनहुँ पूजा गर्ने, आरती उतार्ने, भेट हुँदा चरण स्पर्श गर्ने, धुलो चाट्ने, मौका मिले यसो खुट्टा धोएर पँचाम्रित सम्झँदै पानी खाने काममा लागे हुन्छ । बाँकी के नै रह्यो र त्यो बाहेक ।

प्रचण्ड यदि सकारात्मक नेता बनेको भए यिनी वास्तवमै नेता पनि बन्थे र देश पनि बन्थ्यो तर उनी नकारात्मक नेता बने । आफ्ना लागि, सत्ता शक्ति र भक्तिका लागि उनले सबैलाई माथ गरे । उनकै कारण नेपालका हरेक क्षेत्रमा विकृति बिसँगती मात्र आएन नेपाल पुरै दिल्लीमय बन्यो । चोरी, चकारी, हत्या हिंसा, अपहरण देखी मिलेर बसेका नेपाली लाई लडाउने भँडाउने काम सबै प्रचण्डले सिकाए त्यो सबैका आँखा अगाडि छ ।

नेपाल गजबको देश छ, नेपाली जनता हामी गजबका जनता छौँ । असाध्यै छिटो विगत बिर्सिने र भावनामा बहने हाम्रो कमजोरीको कारण विदेशीले मात्र होइन हाम्रै नेताले पनि धेरै फाइदा उठाइरहेका छन् हामीबाट । नेताले जे भन्छन् दासी बनेर ताली पिट्ने हामीहरू जस्ता जनता भए सम्म प्रचण्ड, केपी, शेरबहादुरहरू सधैँ जितिरहने छन् र देशले सधैँ हारिरहने छ ।

हुने नहुने जे भाषण गरे पनि सपरिवार गएर हाँस्दै ताली पिट्दै गर्ने हामीले, हाम्रो जेनेरेशनले अझ धेरै दु:ख पिँडा भोग्न देख्न बाँकी छ । हाम्रो देश बनेको देखेर मर्ने सपना आकाशको फल आँखा तरी मर भनेझैँ हो । त्यति मात्र होइन हाम्रा छोरा छोरी र नाति नातिनिका पाला सम्म पनि नेपाल राम्रो भएको देख्न हामीले पाउने सम्भावना निकै कम छ ।

विश्व बैङ्कमा कार्यरत केही उच्च ओहदामा रहेका नेपाली बिशेषज्ञहरुका अनुसार, उनीहरूको सार्वजनिक गरिएको सर्वेक्षण अनुसार यदि नेपालका सबै राजनीतिक शक्ति राजनीति भन्दा माथि उठेर, मिलेर, एकै भएर, अठोट गरेर, देश विकासको नारा एक मात्र नारा बनाएर अगाडि बढ्ने हो भने आगामी ७५ वर्ष पछि मात्र नेपाल नेपालका नेताहरूले भनेझैँ सिँगापुर वा स्विजरल्यान्ड बनाउन सकिन्छ रे । तर अहिले त यो र त्यो भन्दै, बन्द हड्ताल गर्दै, एकले अर्कोलाई गाली र ब्यङ्ग गर्दैमा प्रधानमन्त्रीलाई नै फुर्सद छैन अरूको के कुरा भो र !

भूकम्प गएको यती समय बित्दा सम्म भूकम्प पीडितलाई छानो हाल्न नसक्नेहरूले समुन्द्र नै नभएको देशमा पानी जहाज चलाउने, पूर्व पश्चिम रेल कुन्दाउने, हावाबाट बिजुली निकाल्ने, चुला चुला ग्यासका लाइन पुर्‍याउने लगायतका बिना आधार, बिना साधन श्रोत, बिना तयारी कुरा गर्दा यो केवल हाँसी मजाकको कुरा मात्र नभएर के हुन्छ ?

एउटा व्यक्तिको सामान्य घर बनाउन त ६ महिना वर्ष दिन समय लाग्छ भने देश बनाउने कुरा के केपी ओलीले भनेझैँ वर्ष दिनमा सम्भव हुन्छ ? यती पनि बिचार नगरी ताली पिट्ने हामी जस्ता जनता रहे सम्म विकास र सम्ब्रिध्दी केवल सपना मात्र रहिरहने छ ।

– देश आर्थिक हिसाबले टाट पल्टिनै लागेका बेला
– करिब तीन करोड जनसङ्ख्या मध्ये एक तिहाइ अर्थात् एक करोड नेपाली युवा जनशक्ति देखी अनपढ देखि पढे लेखेका सम्म र सक्ने अनि भिसा पाउने जति सबै विदेश पलायन भइरहेका बेला,
– कृषि प्रधान देश भन्दै विदेशबाट मकै र चामल ल्याएर भान्सा चलाइरहेका बेला,
– जलश्रोतको धनी देश भन्दै भारतबाट चारसय भन्दा बढी मेगावाट बिजुली चर्को मूल्यमा किनेर नेपालमा लोडसेडिङ हटाइयो भन्दै गर्व गरिरहेका बेला,
– देश दिल्लीमय बन्दै गइरहेका बेला,
– आफ्नै देशको मुख्यमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई नेपालको कुरा लगाउने र सिके राउतहरुले अलग देश बनाउने भन्दै गरेका बेला,
यस्तो बेलामा भएको ओली प्रचण्ड एकता देशको पक्षमा जादुमय छडी बन्न सकोस् अरू के नै भनौँ र ! यहाँ भन्दा पनि अझ मूर्ख कति बनौँ र आगे ओली प्रचण्डको जो मर्जी ।