अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१८ | Colorodo: 13:33

म्यानहाटनमा उत्रे नेपाली, विरोध र विवादका बिच नेपाल डे परेड सम्पन्न (फोटो फिचर)

बिआरटिनेपाल संवाददाता, न्यू योर्क २०७५ जेठ ६ गते १८:५१ मा प्रकाशित

विरोध र विवादका बाबजुद नेपाल डे परेड २०१८ म्यानहाटनमा आइतबार भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाल डे परेडका सभापति रामहरि अधिकारीले दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म भएको परेडमा झन्डै ४ हजार नेपाली सहभागी भएको दाबी गरे । ‘परेडमा झन्डै ४ हजार नेपाली सहभागी हुनुभयो,’ उनले भने, ‘नेपाल डे परेडमा सहभागी हुने सूचीमा नेपाली समुदायका ५२ वटा संस्थाको नाम थियो ।’

नेपाल डे परेड अमेरिकामा रहेका नेपालीले नेपालमा गणतन्त्र स्थापना भएको उपलक्ष्यमा खुसी मनाउन सन् २०१६ देखि सुरु गरेको कार्यक्रम हो । सन् २०१६ र सन् २०१७ मा यो कार्यक्रम आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) को अगुवाइमा भएको थियो ।

तर, फिप्नाका २ पूर्व पदाधिकारी सहित ३ जनाले नेपाल डे परेड इंक नामक संस्था खोलेर कार्यक्रम नै आफ्नो नाममा दर्ता गरेपछि विवाद बढेको थियो । फिप्नाले आफ्नै पूर्व अध्यक्ष र उपाध्यक्षलाई अघिल्ला नेपाल डे परेडको हिसाब किताब नबुझाएपछि संस्थातग कारबाही गरेको छ । अघिल्ला नेपाल डे परेड सञ्चालनका लागि फिप्नाको नाममा ब्यांक खाता खोलिएको थियो । उनीहरूमाथि कानुनी कारबाहीको प्रक्रिया पनि अघि बढाइएको छ ।

फिप्नाले नेपाल डे परेमा सहभागी नहुन आफ्ना सदस्य संस्थालाई उर्दी जारी गरेको थियो । त्यसका बाबजुद किराँत राई सोसाइटी अफ अमेरिका परेडमा झाँकी सहित सहभागी भएको थियो । परेडमा किराँत राई समुदायका कम्तीमा एक सय जना सहभागी भएको अनुमान छ । देशका नाममा हुने र गर्व गर्न लायक एउटै पर्व नेपाल डे परेड भएको भन्दै राई समुदाय परेडमा सहभागी भएको हो ।

राईसँगै शेर्पा र तामांग सम्बद्ध जातीय संस्था पनि कार्यक्रममा सहभागी थिए । परेडमा राई समुदायले साकेला र शेर्पा समुदायले स्याब्रु नृत्यसहित विभिन्न समुदायले आफ्नो संस्कृति झल्किने मनोरञ्जनात्मक प्रस्तुति गरेका थिए । कार्यक्रममा लुम्बिनी र पशुपतिनाथ झल्काउने पोस्टर र ब्यानर राखिएको थियो ।

फिप्नाको उर्दी स्वीकार्दै अन्य जातीय संस्था औपचारिक रूपमा ब्यानरसहित सहभागी भएन । तर, ती जातीय संस्था सम्बद्ध मानिसहरू भने व्यक्तिगत रूपमा परेडमा सहभागी बनेका थिए ।
अघिल्ला नेपाल डे परेडमा सहभागी भएका मानिसहरूका अनुसार यसपालिको परेडमा सहभागीको सङ्ख्या आधा कम थियो । अधिकारीले सहभागीको सङ्ख्या केही घटेको स्वीकारे । ‘आधा नै घटेको चाहिँ होइन,’ उनले भने ।

खोस्टा कन्स्टेन्टिनिडसले तेस्रो नेपाल डे परेडमा सहभागी हुन पाएकोमा गर्व महसुस गरेको बताए । उनले नेपाल डे परेडको प्रशंसा पनि गरे । ‘तपाईँहरू सबै आप्रवासी हुनुहुन्छ,’ उनले भने, ‘तपाईँहरू नेपाललाई पनि माया गर्नुहुन्छ र अमेरिकालाई पनि माया गर्नुहुन्छ । यो नै न्यू योर्कको विशेषता हो ।’

उनले नेपाली भाषालाई अस्पताल र सवारी चालक अनुमतिपत्रमा मान्यता दिलाउन सङ्घर्ष गरिरहेको पनि बताए ।

कार्यक्रममा महावाणिज्यदूत मधु मरासिनीले विभिन्न कठिनाइका बाबजुद पनि नेपाली समुदायले न्यू योर्कमा राष्ट्रिय झन्डा फैलाएर हिँडेको भन्दै प्रशंसा गरे । ‘नेपाल डे परेडलाई निरन्तरता दिनुहोला, यसलाई अझ उचाइमा पुर्याउनुहोला,’ उनले भने ।

प्रतिक्रिया