अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३७ | Colorodo: 16:52

कीर्तिमानी आरोही कामीरिताको अझै सगरमाथा आरोहणको चाहना

बिआरटीनेपाल २०७५ जेठ ६ गते ९:४८ मा प्रकाशित

काठमाडौँ, विश्वको सर्वोच्च शिखर सगरमाथाको २२ पटक सफल आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पाले स्वास्थ्यले साथ दिए अर्को पटक पनि सगरमाथा आरोहण गर्ने बताउनुभयो । आरोहण सकेर आज घर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफ्नो काम आरोहण गर्ने भएकाले स्वास्थ्य राम्रो भए आगामी वर्ष पनि सगरमाथा चढ्ने बताउनुभयो । 

आरोही शेर्पालाई स्वागत गर्न उल्लेख्य सङ्ख्यामा आफन्त र शुभेच्छुक विमानस्थल पुगेका थिए । सोलुखुम्बुका कामीरिता शेर्पाले यही जेठ २ गते सगरमाथाको २२ पटक सफल आरोहण गर्नुभएको थियो । कीर्तिमानी शेर्पाका बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विशेष समाचार सामग्री प्रस्तुत गरेका थिए ।

यसअघि कामीरितासहित आप्पा शेर्पा र फुर्वा तासी शेर्पाको नाममा २१ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम थियो । चौबिस वर्षको उमेरमा सगरमाथा आरोहण सुरु गर्नुभएका कामीरिताले संसारका अग्ला शिखरको आरोहण गरिसक्नुभएको छ ।

यसैबिच सगरमाथा आरोहणको आज आठौं दिन पनि आरोहण जारी रह्यो । यद्यपि, आज के कति सङ्ख्यामा आरोही चुुचुरोमा पुगे भन्ने विवरण आइनसकेको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृति ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज पनि धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् उनीहरूको विवरण सङ्कलन भइरहेको छ । सगरमाथा आरोहणको सातौँ दिनसम्म शनिवार २७७ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । वैशाख ३० गते आठजना शेर्पा आरोहीबाट सगरमाथाको चुचुरोसम्म डोरी टाँगेपछि यस वर्षको आरोहण सुरु भएको थियो । वसन्त ऋतुको यो याममा चार नेपालीसहित ३८ आरोही दलका ३६४ आरोही शिखर चुम्ने अभियानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू