अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९ | Colorodo: 01:14

क्यानाडाको क्यालगरीमा नेपाली महिलाको रक्तदान कार्यक्रम

कृष्ण भट्ट, क्यानाडा २०७५ जेठ ६ गते ९:१४ मा प्रकाशित

‘रक्तदान जीवनदान, महादान’ भन्ने आदर्श सन्देशलाई व्यवहार उतार्न सामाजिक अभियन्ताहरुको पहलमा नेपाली महिलाहरूको विशेष रक्तदान कार्यक्रम मे १९ का दिन सम्पन्न भयो । हरेक वर्ष NCSC को संयोजनमा नेपालीहरू तर्फबाट रक्तदान गरिँदै आइए पनि यस पल्ट मदर्स डेको सप्ताह पारेर नेपाली महिला मात्र अलग्गै सहभागी भई रक्तदान गरेको पहिलो पल्ट हो । नेपलिज कम्युनिटी सोसाइटी अफ क्यालगरी (NCSC) र क्यानेडियन ब्लड सेर्भिसेज़को संयुक्त आयोजनामा भएको कार्यक्रममा क्यालगरी र आसपासबाट रक्तदाता महिलाहरू NCSC को अफिसमा भेला भई उत्साहका साथ सहभागी हुन गएका थिए । सो कार्यक्रम नेपाल र नेपालीलाई अरूका माझ चिनाउने एउटा अवसर समेत बन्न गयो ।

स्पन्दना केसीको संयोजन तथा कल्पना ढकालको व्यवस्थापनमा भएको उक्त महिला रक्तदान कार्यक्रमममा सो क्षेत्रका १२ जना महिलाले रक्तदान गरे । रक्तदान गर्नेमा कल्पना ढकाल, पुनम अधिकारी, सुश्मा खनाल, स्पन्दना के.सी., अम्बिका मिश्र, सुशीला मिश्र, प्रबिना भण्डारी, पुष्पा दाहाल पौडेल, सीता बजगाईं, जानकी गिरी, लक्ष्मी शर्मा र उर्मिला शर्मा रहेका थिए । उक्त अवसरमा एनसीएससी अध्यक्ष ध्रुव राई, उपाध्यक्ष समीर पाण्डे, कोषाध्यक्ष घनेन्द्र नेउपाने तथा सदस्य सुमन थापा नैतिक समर्थनको लागि उपस्थित भएका थिए । संयोजक स्पन्दना केसीको भनाइमा सो कार्यक्रम रगत अभावमा ज्यान गुमाएका तमाम आमाहरू प्रति श्रद्धाञ्जली स्वरूप थियो । रक्तदानको आवश्यकता महिलाहरूमा बढी भएको र सो सम्बन्धी महिलाहरूलाई सुसुचित तथा जागरुक गर्नुपर्ने आवश्यकता भएकोले कार्यक्रममा महिलाको सहभागितामा जोड दिइएको भनी कल्पना ढकालले बताउनु भयो । कार्यक्रम क्याल्गेरी स्थित क्यानेडियन ब्लड सर्भिसेसमा भएको थियो । एनसीएससी अफिस देखि रक्तदान कार्यक्रम स्थल सम्म यातायातको सुविधा क्यानेडियन ब्लड सर्भिसेसले उपलब्ध गराएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू