अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 05:24

गोपाल योञ्जनको सम्झना

प्रमोद आमात्य २०७५ जेठ ५ गते १८:५१ मा प्रकाशित

मेरो गीत मेरो प्रतिबिम्ब हैन
यो टुटी जाने हैन, जो फुटी जाने हैन
आकाश जस्तै अमर गीत मेरा
म जस्तो दुई दिनको पाहुना हैन

गोपाल योञ्जनको परिचय दिई राख्न पर्दैन । आज मे २० तारिख, गोपाल योञ्जनको पुण्यतिथिको दिन, उनलाई सम्झन चाहन्छु, नमन गर्न चाहन्छु । उनलाई सम्झँदै, आज मलाई उनका केही विशेष कुराहरू गर्न मन लागेको छ ।

सुरुमा यिनले सङ्गीत हैन विज्ञान पढेका थिए । उनका आमाले छोरो डाक्टर बनोस् भनेर विज्ञान पढाएका रहेछन् । विज्ञानको गुरुत्वाकर्षणले उनलाई आफूतिर खिच्न सकेन, उनले विज्ञानको पढाइ बिचमै छोडे । डाक्टर नबने, छोरो इन्जिनियर बन्छ कि भनेर ईन्जिनीयरिंग पढाउन उनलाई जलपाईगुडी पु-याइयो । ईन्जिनीयरिंगको इन्जिनले उनलाई न तताउन सक्यो न तान्न । अन्तमा लागे सङ्गीत, कला र साहित्य तिर जसका लागि उनको जन्म भएको थियो ।

तडकभडक, रमझम र रसरङ्गको यो सङ्गीत दुनियाँमा पनि गोपाल योञ्जन शान्त, शालीन, शाकाहारी र दार्शनिक स्वभावका थिए । धर्मले मात्र हैन व्यवहारले समेत यिनी बौध्दमार्गी थिए । साथै सङ्गीत, शब्द र स्वरका त्रिवेणी थिए । कोही यिनी प्रथमतः सङ्गीतकार अनि गीतकार र, पछिमात्र गायक हुन् भन्दछन् भने कोही यिनी मुलत: गीतकार हुन् भन्नेहरू पनि छन् ।

गीत लेख्न यिनलाई पूजाकोठी प्यारो थियो । आफूले रचेका गीत होस् वा अरूका शब्दहरू, यिनले जहिल्यै सशक्त शब्दहरूमा सङ्गीत भरे र कयौँ कालजयी गीतहरू जन्माए । यसकै कदर गरेर अमेरिकाको विश्व प्रसिद्ध ‘कर्नेल विश्वविद्यालय’ ले उनका पाण्डुलिपिहरू, दस्ताबेजहरू र गीतहरू सङ्कलन र सङ्ग्रह गरेको छ, संरक्षित गरेको छ । यस्ता अजर अमर स्रष्टालाई आज उनको पुण्यतिथिका दिनमा फेरि सम्झना गर्न चाहन्छु, नमन गर्न चाहन्छु ।

सम्बन्धित सामग्रीहरू