अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५२ | Colorodo: 22:07

देउराली क्लबको ४०औँ वार्षिकोत्सव भव्यताको साथ सम्पन्न

मदनकृष्ण सिलवाल, काठमाडौँ २०७५ जेठ ५ गते १०:१९ मा प्रकाशित

सामाजिक क्षेत्रको उग्रणी संस्था देउराली क्लबले आफ्नो स्थापनाकालको ४०औँ वार्षिकोत्सव बानेश्वरस्थित सहकारी प्रशिक्षण भवनमा भव्यताका साथ सम्पन्न गरेको छ । पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा क्लबले ४०औँ साधारण सभा भव्यताको साथ सम्पन्न गरेको हो । देउराली क्लबको विगत र वर्तमान अवस्थासम्म आइपुग्दा सामाजिक सेवा, कार्यक्रम राजनैतिक चेतनास्तर देखि सामाजिक सुरक्षा गतिविधिलाई समेत चुस्त दुरुस्त गर्ने कार्यमा देउराली क्लबले स्थापनाकालदेखि नै उल्लेख्य कार्य गर्दै आइरहेको स्मरण गर्दै आगामी दिनमा समेत देउराली क्लबले सामाजिक रूपान्तरणको कार्य गर्न अग्रसर होस् भन्ने शुभकामना प्रमुख अतिथि माननीय प्रकाशमान सिंहले व्यक्त गर्नुभयो ।

कार्यक्रममा गरिमा बढाउनका लागि त्यस क्षेत्रमा सभासद्हरू मा. गणेश दुलाल, मा. दीपेन्द्र श्रेष्ठ, मा. राजेन्द्र गुरुङ, मा. हरिनारायण रौनियार लगायतको उपस्थिति रहेको थियो ।  सो अवसरमा वसन्तकुमार श्रेष्ठद्वारा सम्पादित देउराली क्लबद्वारा प्रकाशित देउराली स्मारिकाको समेत विमोचन गरिएको थियो । विमोचित स्मारिकाको बारेमा प्रा.डा. केदार न्यौपानेले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो ।

४०औँ वर्षमा पुगेको उपलक्ष्यमा निसहाय सेवा सदनकी अध्यक्ष सगुन शाह, एनकेसिंह मेमोरियल इपिएसका प्रिन्सिपल प्रमिला सिंह, श्री भीमसेनगोला माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जोशी, सामुदायिक सेवा समिति–३१ का महासचिव कुमार पोखरेललगायतले क्लबको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

देउराली क्लबका अध्यक्ष अर्जुन रानामगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा क्लबका महासविच खगेन्द्र उप्रेतीले अहिलेसम्मको प्रगतित्मक प्रतिवेदन पेस गर्नुभएको थियो भने कोषाध्यक्ष विनोद श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नारायणकुमार आचार्य, राधा कार्की, महेशकुमार शर्माले कविता वाचन गर्नुभएको थियो । सो अवसरमा क्लबका आजीवन सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
साथै, देउराली क्लबले आयोजना गरेको वडाव्यापी चौथो अन्तरविद्यालय चित्रकला प्रतियोगितामा पुरस्कृत विद्यार्थी भाइबहिनीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

पुरस्कृत हुनेहरूमा जुनियर समूहतर्फ प्रथम पुरस्कार भ्याली भ्यू इङ्लिस स्कुलका छात्र आशुतोष शर्मा, दोस्रो पुरस्कार काठमाडौँ प्रज्ञाकुञ्ज विद्यालयका छात्रा एरिका श्रेष्ठ, तेस्रो पुरस्कार एन.के.सिंह मेमोरियल ई.पी.एस. स्कुलका आस्तिक श्रीपालि र सान्त्वना पुरस्कारतर्फ एन.के.सिंह मेमोरियल ई.पी.एस. विद्यालयका छात्रा आयुषा सुनुवार र भीमसेन गोला माध्यामिक विद्यालयका छात्र पुष्पराज शाही प्राप्त गरेका छन् ।

त्यस्तैगरी, सिनयर विद्यार्थी समूहतर्फ प्रथम पुरस्कार बेबिलोेन नेसनल विद्यालयका छात्र पवन चौधरी, दोस्रो पुरस्कार भ्याली इङ्लिस स्कुलका छात्रा रानभी राजभण्डारी, तेस्रो पुरस्कार बेविलोन नेसनल विद्यालयकी छात्रा सुप्रिया राई र सान्त्वना पुरस्कार भ्याली भ्यु इङ्लिस स्कुलका छात्र प्रशान्त कार्की र श्री भीमसेनगोला माध्यामिक विद्यालयका छात्र पुष्पराज शाहीले प्राप्त गरेका थिए ।

सम्बन्धित सामग्रीहरू