अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१८ | Colorodo: 04:33

लाङ्टाङ म्याराथन नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न महत्वपूर्ण रहेको :सासंद मोहन आचार्य

बिआरटीनेपाल २०७५ जेठ ५ गते ९:३५ मा प्रकाशित

अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथनको तेस्रो संस्करणको उपाधि पुरुषतर्फ नेपाली सेनाका खगेन्द्र भाटले हात पारेका छन् । शिवलाल गणका पिउठ भाटले तीन घण्टा ४९ मिनेट २७ सेकेन्डमा ४२ किलोमिटर दुरी पार गर्दै प्रथम हुनुभएको हो । नारायण दल गणका अमल्दार भरत खत्री द्वितीय र सोही गणका सिपाही सुवास कार्कीले तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ ।

यसै गरी महिलातर्फ सोलुखुम्बुकी निरकला गुरुङ राईले चार घण्टा ५७ मिनेट १३ सेकेन्डमा ४२ किलोमिटर दुरी पार गरी प्रथम हुनुभएको छ । द्वितीयमा सोलुखुम्बुकै पूर्णिमाया राई र सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरकी सरिता बासी तृतीय हुनुभएको छ ।

म्याराथनका विजेता पुरुष र महिला दुवैतर्फका प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः एक लाख पाँच हजार, ७८ हजार ७५० र ५२ हजार ५०० सहित पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको सहआयोजक रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिनुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आयोजना तथा रसुवा– नुवाकोट पर्यटन समाजको सहआयोजनामा भएको उक्त प्रतियोगितामा ९० जना धावक सहभागी थिए । जसमा ३० महिला र पाँच (विदेशीसहित) ६० जना पुरुष रहेका छन् ।

समुद्री सतहबाट तीन हजार ८७० मिटर उचाइको  क्याङ्जिङ गुम्बादेखि सुरु भई घोडातबेला, शेर्पागाउँ, खन्जिम हुँदै म्याराथन स्याफ्रुबेँसीमा पुगेर टुङ्गिएको थियो । प्रतियोगिताका   विजयी धावकहरूलाई रसुवाका सांसद मोहन आचार्यले पुरस्कार वितरण गर्नु भयो । म्याराथनले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको  सांसद मोहन आचार्यले बताउनु भयो । 

टानले २०७३ देखि लाङ्टाङको अन्तर्राष्ट्रियरुपमा प्रचारप्रसार गरी पर्यटक आकर्षण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथनको आयोजना गर्दै आएको छ । ‘दीर्घकालीन पर्यटनका लागि साहसिक खेल’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताले साहसिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको व्यवसायीको भनाइ छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको पर्यटकीय क्षेत्र रसुवाको लाङ्टाङको पुनः निर्माणस्वरुप टानले प्रतियोगिता आयोजना गर्दै आएको छ ।

सगरमाथा र अन्नपूर्णपछि महत्त्वपूर्ण पदयात्राको गन्तव्य लाङ्टाङमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पु¥याउने लक्ष्यका साथ प्रतियोगितालाई निरन्तरता दिइएको टानका सञ्चार संयोजक गोपाल श्रेष्ठले जानकारी दिनुभयो । सन् २०१७ मा आठ हजारभन्दा बढी पर्यटक लाङ्टाङ गएको टानले जनाएको छ । गन्तव्य पुग्ने बाटो तथा होटेल बन्ने र थपिने क्रम रहेकाले अझै धेरै पर्यटकको पर्खाइमा लाङ्टाङ छ ।

लाङ्टाङ क्षेत्रमा जान विगतमा भन्दा अहिले धेरै सहज भएकाले आन्तरिक पर्यटक पनि त्यसतर्फ आकर्षित हुन थालेका छन् । साहसिक पदयात्रा पर्यटनको महत्त्वपूर्ण आकर्षण लाङ्टाङको प्रभावकारी प्रवर्द्धन हुन सके यसबाट राज्यलाई लाभ मिल्ने सहज अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू