अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०३ | Colorodo: 17:18

वन्यजन्तु संरक्षणमा प्रेरित गर्न समुदाय लक्षित कार्यक्रम संञ्चालन गर्न बन मन्त्रीको आग्रह

बिआरटीनेपाल २०७५ जेठ ५ गते ९:०० मा प्रकाशित

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वाधार निर्माण र वातावरण संरक्षणको समुचित व्यवस्थापन गरेर अघि बढ्ने बताउनुभएको छ ।

विश्व वन्यजन्तु कोष नेपालको २५ औँ स्थापना दिवसका अवसरमा  आयोजित समारोहमा उहाँले पूर्वाधार निर्माण मुलुकको अहिलेको पहिलो कार्यसूची भएको हुँदा प्राथमिकता र आवश्यकतालाई तालमेल मिलाएर काम गरिनेछ भन्नुभयो ।

मध्यवर्ती क्षेत्रका नागरिकलाई वन्यजन्तु समस्या होइन समस्या समाधानको सहयोगी माध्यम हुन् भन्ने व्यावहारिकरुपमा महसुस गराउन आवश्यक रहेको मन्त्री बस्नेतको भनाई थियो।

प्रकृति र जैविक विविधताको संरक्षण त्यति बेला हुन्छ जति बेला स्थानीयले वन्यजन्तु हाम्रा बाधक होइनन् भन्ने बुझ्नेछन् भन्दै उहाँले उनीहरूका लागि वन्यजन्तु संरक्षण गर्न प्रेरित गर्ने लक्षित कार्यक्रम सञ्चालनतर्फ ध्यान पुर्‍याउन सुझाव दिनुभयो ।

विश्व वन्यजन्तु कोष नेपालका निर्देशक डा घन गुरुङले मुलुकको दिगो विकास र पर्यटन प्रवर्द्धनमा वन्यजन्तु संरक्षणको निकै ठुलो योगदान रहने विश्वास दिलाउनुभयो ।

विश्व वन्यजन्तु विकास कोषका लागि अमेरिकाले व्यवस्थापन गरेको कार्यक्रमका उपाध्यक्ष रोवर्टो ट्रोयाले वन्यजन्तु संरक्षणमा स्थानीय जनतालाई सहभागी गराउन नेपालले अघि सारेको कार्यक्रम उदाहरणीय रहेको धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाली सेनालाई प्रकृति र वन्यजन्तु संरक्षणमा पुर्‍याएको योगदानको कदरस्वरुप ‘प्रकृति संरक्षण रजत महोत्सव’ सम्मान प्रदान गरियो ।

समारोहमा नेपालमा वन्यजन्तु संरक्षण र जैविक विविधता संरक्षणमा विशिष्ट योगदान पुर्‍याउने सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय सङ्घ संस्था र व्यक्तिलाई सम्मान र पुरस्कार प्रदान गरियो ।

सन् २०११ देखि २०१८ को अवधिमा नेपालमा गैँडाको शून्य चोरी सिकार कायम गर्न सफल भएको भनी नेपाली सेनाका सम्बन्धित निकुन्जमा तैनाथ गणलाई पुरस्कृत गरियो ।

समारोहमा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा निधन भएका प्रकृति संरक्षणमा महत्त्वपूर्ण योगदान दिएका व्यक्तिको स्मृतिका लागि स्थापित प्रकृति संरक्षण पुरस्कार विभिन्न छात्रछात्रालाई प्रदान गरियो ।

नेपालमा विश्व वन्यजन्तु कोषले ५० वर्षदेखि काम गरे पनि कार्यालय स्थापना गरेर काम गरेको २५ वर्ष मात्र पुगेको छ । कोषका कार्यक्रम १०० भन्दाबढी मुलुकमा सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू