अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५६ | Colorodo: 03:11

सबै जातजाति र समुदायलाई जोडेमात्र देश विकास हुन्छ: पूर्व राष्ट्रपति यादव

बिआरटीनेपाल २०७५ जेठ ३ गते ११:१७ मा प्रकाशित

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकका सबै जातजाति र समुदायलाई जोडेर अगाडि बढेमात्र देश विकास हुने बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाजको स्थापना दिवस एवं साधारणसभाका अवसरमा आयोजना गरिएको ‘प्रजातान्त्रिक योद्धा सम्मान’ कार्यक्रममा उहाँले लामो समयपछि मुलुकमा परिवर्तन आएको भन्दै यसलाई बचाउनका लागि सबै राजनीतिक दल लाग्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसको राजनीतिबाट मुलुकको पहिलो राष्ट्रपति बन्नुभएका डा यादवले काँग्रेसभित्र गुटगत राजनीति हाबी हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

गाउँ, नगर र जिल्लामा सङ्गठन विस्तार गर्न नलागेसम्म काँग्रेस बलियो नहुने उहाँको भनाइ थियो । राष्ट्र जोड्ने र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन काँग्रेसले मात्र सक्ने भन्दै उहाँले काँग्रेस सुधार्ने जिम्मा बौद्धिक वर्गलाई दिनुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री एवं राजनीतिक चिन्तक निलाम्बर आचार्यले काँग्रेसको विचारमा हिँड्ने कम्युनिस्टहरूले काँग्रेसलाई निर्वाचनमा पराजित गरेको बताउनुभयो । “काँग्रेस कमजोर भएका कारण कम्युनिस्टहरूले अवसर पाए, भविष्य कम्युनिस्ट विचारसँग छैन”, उहाँले भन्नुभयो ।

राजनीतिक चिन्तक प्रा डा कृष्ण खनालले काँग्रेस विरोधीहरूले विश्वेश्वरप्रसाद कोइरालाको अस्त्र काँग्रेसमाथि प्रयोग गरेकाले पार्टी कमजोर भएको बताउनुभयो । “काँग्रेसका गतिविधिहरूदेखि धेरै कार्यकर्ताले परिवर्तन चाहेका छन्, त्यसैले काँग्रेस पुनःनिर्माणको आवश्यकता छ”, उहाँले भन्नुभयो ।

राजनीतिक चिन्तक डा देवेन्द्रराज पाण्डेले काँग्रेस कमजोर भए नेपालको प्रजातान्त्रिक आन्दोलन कमजोर हुने भन्दै पार्टी बलियो बनाउनका लागि सङ्गठन निर्माणमा लाग्नुको विकल्प नभएको बताउनुभयो । काँग्रेसले आफ्ना नीति तथा कार्यक्रम जनतामाझ लैजान नसक्दा पराजय भोगेको उहाँको भनाइ थियो ।

सो अवसरमा प्रजातान्त्रिक योद्धा सम्मानबाट पुरुषोत्तम बस्नेत सम्मानित हुनुभयो । रु २५ हजार नगद, सम्मानपत्र र दोसल्लाबाट सम्मान हुनुभएका प्रजातान्त्रिक योद्धा बस्नेतले मुलुकमा प्रजातन्त्रमाथि ठुलो सङ्कट देखा परेको भन्दै प्रजातन्त्रलाई बचाउनका लागि प्रजातन्त्रवादीहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

प्रजातान्त्रिक विचार समाजका पूर्वअध्यक्ष होमनाथ दाहाल, प्रजातान्त्रिक प्राध्यापक सङ्घका अध्यक्ष जगत् तिमल्सना, समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले, उपाध्यक्ष डा विमला शाक्यलगायतले प्रजातन्त्रलाई सुदृढ बनाउनका लागि विभिन्न कार्यक्रममार्फत प्रजातान्त्रिक विचार समाज लागिरहेको बताउनुभयो ।

उहाँहरूले प्रजातान्त्रिक विचार समाजमा विभिन्न पेसा व्यवसायमा आबद्ध बुद्धिजीवीहरू रहेको भन्दै पार्टीले उनीहरूको विचारलाई समावेश गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

विसं २०५२ जेठ ३ गते स्व वासुदेवचन्द्र मल्लको अध्यक्षतामा स्थापना भएको समाजले मुलुकमा मानव अधिकार, बहुदलीय प्रजातन्त्र, कानुनी राज्य तथा बहुलवादमा आधारित संसदीय प्रणालीको संस्थागत विकास र सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको समाजका अध्यक्ष डा केदारनरसिंह केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू