अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 04:02

न्युयोर्कमा मे २० तारिख आइतबार नेपाल डे परेड हुने

बिआरटीनेपाल २०७५ जेठ २ गते ११:१७ मा प्रकाशित

अमेरिकामा नेपाल र नेपालीको पहिचान र गौरवसँग जोडिएको नेपाल डे परेड तेस्रो यही मे २० तारिख आइतबारको दिन विश्वको राजधानी न्यूयोर्कमा हुने भएको छ । विभिन्न नेपाली सङ्घ सस्थाहरु तथा समुदायको झांकी सहित म्यानह्टनको थर्टि एट स्ट्रीटको म्याडिसन एभिन्युबाट ११ बजे परेड सुरु हुने भएको छ । गैर आवासीय नेपालीहरूको संयुक्त अभियान अन्तर्गत नेपाल परेड डे यस पटक एनआरएन न्यु योर्क च्याप्टरको संयोजकत्वमा हुन लागेको छ । महिनौँ देखि हुँदै आएको विवादलाई मिलाउने क्रममा नेपाल परेड गर्नकै लागी लिएको परेड अनुमति पत्रमा समेत एनआरएन न्यु योर्क च्याप्टरको नाम थपेर एनआरएनको अगुवाइमा यो साझा कार्यक्रमको सुरुवात गरेको छ ।

‘ पछिल्लो समय हामी बिच भइरहेको विवादहरूलाई मिलाउँदै जाने क्रममा सबै सस्थाहरुलाई समेटेर लैजाऊ भनेर एनआरएन न्यु योर्क च्याप्टरको संयोजनसँगै परेडको परमिट समेत एनआरएन न्यु योर्क च्याप्टरको नाम थपेर गर्न लागेको हो ’ परेडको संयोजक तथा एनआरएन न्यु योर्क च्याप्टरको अध्यक्ष रामहरि अधिकारीले भने—‘ विदेशमा एनआरएननै सबैको साझा संस्था भएकोले नेपाल र नेपालीको हितमा हुने ठुलो कार्यक्रमहरूमा एनआरएनले संयोजनको भूमिका लिन खोजेको हो ’ । च्याप्टरको अध्यक्ष अधिकारी र नेपाल परेड डे इन्कको प्रतिनिधि लुइसाङले मगलबारनै प्रहरी विभागको अधिकारीहरुसग भेटी परमिटको बारेमा जानकारी लिई एनआरएन न्यु योर्क च्याप्टरको नाम समेत परमिटमा थपेको थियो ।

यस पटकको परेडमा एनआरएनको संयोजनमा बनेको तद्धर्थ समितिले नेपाली कङ्ग्रेसको भातृ सङ्गठन जन सम्पर्क समिति अमेरिका, एमालेको भातृ सङ्गठन प्रवासी मञ्च, मद्येशी एसोसिएसन, कलाकारहरूको संस्था युएस नेपाल आटिष्ट एसोसिएसन र नेपाल डे परेड संस्थाको प्रतिनिधि गरी ५ जना कन्भेनर तोकेको छ । विगतमा एक जना मात्र हुने कन्भेनर यस पटक विवादको कारण सबैलाई समेट्नका लागी तदर्थ समितिको निर्णय अनुसार पाँच जना कन्भेनर राखिएको संयोजक अधिकारीले बताए । ‘ अहिलेलाई जसरी हुन्छ तोकिएको समयमा नेपाल डे परेड गरु र सबैलाई मिलाएर लैजाऊ भन्नकै लागी तदर्थ समितिको निर्णय अनुरूप पाँच जना कन्भेनर बनाएको हो’ समितिका सदस्य तथा प्रवासी मञ्चका सचिव कृष्ण लामिछानेले बताए । अन्तिम सम्म पनि सबैलाई समेटेर परेड गरौँ भन्ने उद्धेस्य अनुसार समिति लचिलो भएको लामिछानेले बताए । 

न्यु योर्क र आसपासका राज्यहरूमा बसोबास गदै आइरहेको नेपालीहरूको सामाजिक सङ्घ संस्था एवम् सङ्गठनहरूको संयुक्त पहलमा सन २०१६ देखि नै न्यूयोर्कमा नेपाल डे परेड हुँदै आएको हो । विदेशमा नेपालको परिचय दिने विविध कला, संस्कृति, भेषभूषा झल्काउने नेपाल डे परेडबाट नेपालको पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने र भावी पुस्तालाई विभिन्न सम्प्रदायहरूको कला, संस्कृति र भेषभूषालाई चिनाउने र अभ्यास गराउनमा मद्दत पुर्‍याउँदै आएको छ ।

यस पटकको परेडमा नेपाली राजदूतावास, महाबाणिज्य दूतावास लगायत नेपालबाट विशिष्ट अतिथिका साथ स्थानीय क्वीन्स बोरो प्रेसिडेन्ट मेलिन्डा केट्ज, काउन्सिलमेन जिम्मा ब्रामर, काउन्सिलमेन कोष्टा कोन्स्टाटिनटिडिज, काउन्सिलमेन डनियल ड्रम तथा न्यु योर्क सहरका मेयर र कम्प्ट्रोलर कार्यालयका प्रतिनिधिहरू, कंग्रसम्यान क्राउलीका प्रतिनिधि परेडमा सहभागी हुने भएको संयोजक अधिकारीले बताए ।

तेस्रो नेपाल डे परेड तोकिएको दिनमा गर्नका लागी नेपाल डे परेड तदर्थ समिति गठन नेपाली बाणिज्यदुताबासको रोहबरमा गरिएको थियो । समितिले परेड डे संस्थाबाट रबिकिरण कोइराला (कन्भेनर), जन सम्पर्क समितिबाट (महेश मल्ल (कन्भेनर), प्रवासी नेपाली मञ्चबाट (अर्जुन बहादुर सिंह ( कन्भेनर), कलाकारहरूको संस्थाबाट (सुमन बुढा मगर(कन्भेनर), मधेसी समुदायबाट (मनोज सिंह कन्भेनरको रूपमा राखिएको छ । त्यस्तै मिडिया कोर्डिनेटरमा आङछिरिङ शेर्पा र स्टेरिङ कमिटीको सदस्यहरूमा निमा शेर्पा, मिलन शाही, बिनिता तामाङ, लक्ष्मी श्रेष्ठ, अनु खड्का, विजया सिम्खडा, सतेन्द्र साह, राजेश सापकोटा, विश्व बस्तोला, राजन गौली, पवन योञ्जन, शिव कमल पौडेल, मणि वाङ्देल राई, ब्रजेश लामा र परेडकै लागी अरू विभिन्न सस्थाहरुको प्रतिनिधिहरूलाई आजनै थप्ने गरी स्टेरिङ कमिटी पूर्ण हुने भएको छ ।

गत मे १ तारिख नेपाली महाबाणिज्यदुताबासमा भएको सबै सस्थाहरुको सहमति बैठकले फिफनाको वरिष्ठ उपाध्याक्ष राजकुमार विष्टको संयोजकत्वमा तद्धर्थ समिति गठन गरेको थियो । तर फिपनाको आन्तरिक हिसाब नमिलेको भनी विष्टले संयोजकबाट अलग भए लगतै एनआरएन न्यु योर्क च्याप्टरको अध्यक्ष रामहरि अधिकारीको संयोजकत्वमा नेपाल परेड तदर्थ समिति गठन गरेको थियो । समितिमा बन्दना कोइराला ( एन आर एन ग्लोबल, सञ्जय थापा ( एनआरएनए अमेरिका) कृष्ण लामिछाने (प्रवासी मञ्च, अमेरिका ) महेश मल्ल ( नेपाली जनसम्पर्क समिति अमेरिका) लुइसाङ बाइबा तामाङ ( पूर्व कन्भेनर) , रबिकिरण कोइराला (रिजउड नेपाली सोसाइटी), सुमन बुढा कलाकार सङ्घ अमेरिका, मनोज सिंह (मधेसी एसोसिएसन अमेरिका, न्यु योर्क च्याप्टर), मोहन बाइबा खेलकुद सङ्घ ) र आङछिरिङ्ग शेर्पा (नेपाल अमेरिका पत्रकार सङ्घ ) रहेको छ ।

प्रतिक्रिया