अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३९ | Colorodo: 15:54

भूषाललाई लाईफटाइम लिजेन्ड्री, महर्जन र मल्ललाई रजत सम्मान एवं अर्याललाई पत्रकारिता पुरस्कार

बिआरटीनेपाल २०७५ जेठ २ गते १०:३४ मा प्रकाशित

छायाँछवि क्रियशनले डी सिने अवार्डको अवसर पारेर हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोष्णा गरेको छ । छायाँछवि क्रियशनले डी सिने अवार्डस्को अवसरमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष/महिला) एवं छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

छायाँछवि क्रियशनले यस वर्ष छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो चलचित्र ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरेकी हास्य साम्राज्ञीको उपमा पाएकी बसुन्धरा भूषाललाई प्रदान गर्ने भएको छ । २०२२ सालमा निर्मित ‘आमा’ चलचित्र पछि भूषालले सिन्दूर, सन्तान, कन्यादान, साथी, चेलिवेटी, राँको, अप्सरा, बेइमानी, माया बैगुनी लगायत १०० भन्दा बढी चलचित्रहरूमा अभिनय गरेकी छिन् भने विभिन्न नृत्य, नाटक, गीति नाटक, टेलिश्रृंखला, भिडियो चलचित्र लगायतका धेरै अनुभव बटुलेकी छिन् । भूषालले विभिन्न सामाजिक कार्य गर्दै सङ्घ संस्थामा बस्नुका साथै धेरै सम्मान तथा पुरस्कारहरू पनि पाइसकेकी छिन् । यिनै बसुन्धरा भूषाललाई यस वर्षको छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड २०७५ प्रदान गर्न लागिएको हो ।

त्यस्तै छायाँछवि क्रियशनले यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष तर्फ) वितरक, प्रदर्शक एवं निर्माता नरेन्द्र महर्जनलाई प्रदान गर्ने भएको छ । २०४९ सालबाट वितरकको रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका महर्जन यस पछि प्रदर्शन व्यवसाय एवं चलचित्र निर्माणमा हात हालेका हुन् । महर्जनको ओम्याक्स हेटौंडा सहित विभिनन प्रदर्शन भवन सञ्चालनमा छन् भने उनले संरक्षण, लुट, फष्र्ट लभ, मिसन पैसा रीलोडेड, लुट २, फन्को लगायतका चलचित्र निर्माण गरेका छन् । यिनै नरेनद्र महर्जनलाई यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७५बाट सम्मान गरिन लागेको हो । 

त्यस्तै छायाँछवि क्रियशनले यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७५ (महिला तर्फको) मौसमी मल्ललाई प्रदान गर्ने भएको छ । यसो त मौसमीले चलचित्र ‘कान्छी’ मै बालकलाकार भएर खेलेकी थिइन् भने उनले निर शाहको ‘पच्चिस वसन्त’मा पनि सहायक पात्रको भूमिकामा अभिनय गरेकी थिइन् । स्वर्गीय दीपक रायमाझीको २०४६ सालमा बनेको चलचित्र ‘भाग्य रेखा’बाट नेपाली रजतपटमा प्रवेश गरेकी मौसमीका तिलहरी, भुमरी, देउकी, जन्मभूमी, पृथ्मी, लगायतका सयौँ चलचित्र छन् । रंगमञ्चमा समेत प्रस्तुत हुने गरेकी मौसमीले थुप्रै भिडियो फिल्महरू पनि गरेकी छिन् । पछिल्लो चरणमा चलचित्र निर्माणमा समेत मौसमीले हात हालेकी थिइन् । यिनै मौसमी मल्ललाई यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७५ प्रदान गरिने भएको छ ।

यस्तै यस वर्षको छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार श्याम अर्याललाई प्रदान गरिने भएको छ । स्याङ्जामा जन्मिएका अर्यालले २०५८ सालमा पोखराको रेडियो अन्नपूर्णबाट पत्रकारितामा प्रवेश गरेका हुन् । सुरुमा रेडियो प्रस्तोताका रूपमा प्रवेश गरेका अर्याल यतिखेर इमेज रेडियो तथा टिभीमा प्रेजेन्टर÷प्रोड्यूसरका रूपमा कार्यरत छन् । चलचित्र अभिनयमा समेत रुचि राख्ने श्यामले केही चलचित्रमा अभिनय समेत गरेका छन् । मूलतः रङ्ग पत्रकारितालाई नै आत्मसात् गर्दै रेडियोमा प्रस्तोता एवं टिभीमा प्रस्तोता–रिपोर्टर तथा प्रोड्युसरको रूपमा अर्यालले पत्रकारिताको अनुभव संगालेका छन् । यिनै श्याम अर्याललाई छायाँछवि पत्रकारिता पुरस्कार –०७५ मा रु १००,१०।– (दश हजार दश रुपैयाँ) सहित पुरस्कार प्रदान गरिदैछ ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले यो सम्मान तथा पुरस्कार जेष्ठ १० गते राष्ट्रिय सभागृहमा हुने इएनआई डी सिने अवार्ड –०७५का अवसरमा प्रदान गरिने जानकारी गराए । अध्यक्ष प्रियले यस पटकदेखि डी सिने अवार्डलाई इएनआई लुब्रीकेट्सले प्रायोजन गरेको र इएनआईका शुरेस उप्रेती सँग छायाँछविको सम्झौता समेत सम्मान भएको बताए । साथै इएनआई डी सिने अवार्ड ०७५मा पावर बाइको रूपमा टेन्सवर्ग बियर रहेको छ । अवार्ड भव्य एवं सभ्य रूपमा सम्पन्न हुनेमा विश्वास रहेको छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताए ।

प्रतिक्रिया