अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४२ | Colorodo: 14:57

लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डाको तस्करी बढ्यो

बिआरटीनेपाल २०७५ जेठ २ गते ९:३४ मा प्रकाशित

पछिल्लो समयमा लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा (हाब्रे) तस्करको पहिलो रोजाइ बनेको छ ।

वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी जिल्ला वन कार्यालय काठमाडौँको विसं २०७४ को तथ्यांक हेर्दा सबैभन्दा बढी रेडपाण्डाको छालाको बिक्री तथा ओसारपसारका घटना देखिएका छन् ।

वन कार्यालयका अनुसार यस वर्ष काठमाडौँमा मात्रै १५ थान रेडपाण्डाको छाला ओसारपसारका घटनामा ३५ जनालाई कारबाही गरिएको छ ।

यसबाहेक नौ थान चितुवाको छाला ओसारपसारमा २४ जनालाई कारबाही गरिएको जिल्ला वन अधिकृत रामबाबु पौड्यालले जानकारी दिनुभयो ।

सालक वन्यजन्तु तस्करको तेस्रो रोजाइमा परेको छ । उक्त विवरणअनुसार यस वर्ष १७७ किलोग्राम सालकको खपटा ओसारपसारमा संलग्न नौ जनालाई कारबाही गरिएको उहाँले बताउनुभयो ।

जिल्लामा रेडपाण्डा, चितुवा, सालक, बाघ, ठूला बिरालो, कस्तुरी, गौरीगाई, रतुवा, ध्वाँसे चितुवा, मृग, भालु, हुचिल, दुर्लभ चराचुरुङ्गी लगायतका वन्यजन्तु र पक्षीका अंगको तस्करीको घटनाका ३३ मुद्दा दायर भएका छन् ।

संरक्षित वन्यजन्तुसम्बन्धी मुद्दा जिल्ला अदालतमा दायर हुन्छन् भने संरक्षित सूचीमा नभएका वन्यजन्तुको मुद्दाको कारबाही जिल्ला वन कार्यालयले नै गर्ने गर्दछ । कतिपय अवस्थामा केही लोभ र अज्ञानताका कारण पनि सामान्य मानिस पक्राउ पर्ने गरेका छन् ।

त्यसैले वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी कानूनका बारेमा ग्रामीणस्तरसम्म सचेतना जगाउनुपर्ने आवश्यकता छ । नेपालबाट अधिकांश वन्यजन्तुका अंगको तस्करी काठमाडौँ हुँदै चीन, मलेशिया, जापान, युरोप तथा संयुक्त राज्य अमेरिकासम्म हुने गरेको छ ।

काठमाडौँबाट वन्यजन्तुका हाडछाला तथा अन्य सामग्रीको ओसारपसार बढी मात्रामा चीनतर्फ हुने गरेको छ । चिनियाँ परम्परा, सहज ओसारपसार, सौखिन जीवनशैलीलगायत कारण चीनमा वन्यजन्तुको बढी माग हुने गरेको वन कार्यालयका सहायक वन अधिकृत उत्सव थापाले बताउनुभयो ।

केन्द्रीय राजधानीमा दुर्लभ वन्यजन्तुको ओसारपसारका घटनामा संलग्नलाई नेपाल प्रहरीले पक्राउ गरी सम्बन्धित वन कार्यालयमा बुझाउने गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अनुपमशम्शेर राणाका अनुसार अधिकांश पैसाको लोभमा वन्यजन्तुका अंग ओसारपसार गर्दा निम्नवर्गका व्यक्ति पक्राउ पर्ने गरेका छन् ।

त्यस्ता व्यक्ति वन्यजन्तुका अंग बेच्न व्यापारी खोज्दै जाँदा हल्ला हुने र प्रहरी कहाँ सूचना पुग्ने गरेको छ । यसबाहेक नेपाललाई पारवहन मार्ग बनाई अन्तर्राष्ट्रिय व्यापार गर्ने ठूला तस्कर थोरै मात्रामा पक्राउ पर्ने गरेको प्रहरी नायब उपरीक्षक राणाले जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू