अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

मुक्तिनाथमा पर्यटकको चाप

बिआरटीनेपाल २०७५ जेठ २ गते ८:३९ मा प्रकाशित

मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकले भरिभराउ छ ।  मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन् । नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मुक्तिनाथ क्षेत्र अन्य पर्यटकको समेत रोजाइमा पर्ने गरेको छ । गएको चैत र वैशाखमा सबैभन्दा बढी पर्यटकले मुक्तिनाथको भ्रमण गरेका छन् । फागुन र जेठ पनि पर्यटकीय याम हो ।  सन् २०१८ को अप्रिलमा मुक्तिनाथ घुम्ने बाह्य पर्यटकको सङ्ख्या नौ हजार १०५ रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित पर्यटक सूचना केन्द्रका अनुसार गत जनवरीदेखि अप्रिलसम्म १६ हजार ९८४ बाह्य पर्यटक मुक्तिनाथ पुगेका छन् । सबैभन्दा बढी आठ हजार ५५६ पर्यटक भारतीय रहेका छन् ।

मुक्तिनाथ घुम्ने आन्तरिक पर्यटकको भने कुनै लेखाजोखा छैन । बाह्यको तुलनामा दोब्बर आन्तरिक पर्यटकले मुक्तिनाथको भ्रमण गरेको बताइएको छ । एक्याप इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख तुलसीप्रसाद दाहालले जेठ अन्तिमसम्म मुक्तिनाथमा पर्यटकको चाप बढ्ने बताउनुभयो । अहिले दैनिक सयौँ बाह्य पर्यटक मुक्तिनाथ आइरहेका छन्, आन्तरिक पर्यटकको पनि घुइँचो छ,’ उहाँले भन्नुभयो, “पर्यटकको चाप बढेपछि मुक्तिनाथ क्षेत्रका होटेललाई भ्याइनभ्याइ छ । 

गत वर्ष कूल ४६ हजार ६७५ बाह्य पर्यटकले मुक्तिनाथ घुमेका थिए । सन् २०१८ मा उक्त सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ । मुक्तिनाथ नपुगी अन्य मार्गबाट उपल्लो मुस्ताङको लोमान्थाङ लगायतका गन्तव्य घुम्ने पर्यटक पनि छन् । गतवर्ष ५२ हजार बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।

प्रतिक्रिया