अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०५ | Colorodo: 12:20

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज स्पेन च्याप्टरले गर्‍यो साहित्यिक रचना वाचन भेला

भोला लामिछाने, युरोप २०७५ जेठ १ गते १०:२७ मा प्रकाशित

गत मे महिनाको १३ तारिखमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज स्पेन च्याप्टरले राजधानी म्याड्रिडको रेतिरो पार्कमा तेस्रो (अनौपचारिक ) साहित्यिक रचना वाचन भेला आयोजना गर्‍यो ।

उक्त भेलाको सभापतित्व अनेसास स्पेन अध्यक्ष श्री शारदा पौडेल सापकोटाले गर्नु भएको थियो भने अतिथिको आसन ग्रहण क्रमशः: एन आर एन ए म्याड्रिडका अध्यक्ष उत्तर कुमार राई, उपाध्यक्ष द्वय मेघनाथ ढकाल, सुजिल गोले, सदस्य वसन्त प्राद्दे र सल्लाहकार भुपेन्द्र मास्के र निबर्तमान एन आर एन आइसिसी महिला सदस्य श्री गङ्गा देवी शर्माले गर्नुभएको थियो।

संस्थापक श्री रामकृष्ण पुडासैनीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा रचना वाचन र मन्तव्यलाई आलोपालो गरी प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सुरुवात अध्यक्ष सापकोटाको मार्मिक मुक्तकबाट गरिएको थियो भने एन आर एन ए म्याड्रिडका अध्यक्ष उत्तर कुमार राई र उपाध्यक्ष द्वय सुजिल गोले र मेघनाथ ढकालले मन्तव्य राख्दै यस्तै साहित्यिक कार्यक्रमको अपेक्षा आगामी दिनमा समेत गरिएको र उहाँहरूको पूर्ण साथ र सहयोग रहने बताउनु भएको थियो।

कार्यक्रममा अध्यक्ष श्री शारदा पौडेल सापकोटाले केही गजल तथा मुक्तकहरू रचना वाचन गर्नुभएको थियो । उहाँको गजलमा विदेशिएका छोरीलाई आफ्नी आमाले स्वदेश फर्कन आग्रह गर्नुभएको थियो भने मुक्तकमा नेताहरूले देशमा केही काम गर्न नसकेको आक्रोश पोखिएको थियो । त्यसै गरी गङ्गा देवी शर्माले काम गर्ने र धन कमाउने आशामा युरोप आउँदा पनि बेरोजगार बस्नु पर्ने पीडादायी मार्मिक कविता वाचन गर्नुभएको थियो । संस्थाका संरक्षक रामकृष्ण पुडासैनीले “छिमेकी हौ दाइ होइनौ, आमा म डाक्टरी नै पढ्छु, आमा म अब नेपाल फर्कन्छु” शीर्षकका तीन कविता वाचन गर्नुभएको थियो। उहाँका हरेक कविताले समाजका यथार्थ पक्षलाई समेटेका थिए । हामी नेपालीले छिमेकीबाट भोग्नु परेका समस्याहरू पनि प्रस्ट भावमा व्यक्त थिए । उहाँले साह्रै सुन्दर शैलीमा मार्मिक र यथार्थपरक रचना वाचन गर्नुभएको थियो । त्यसै गरी सचिव पार्वती ओलीले “अभिमान” शीर्षकको कविता वाचन गर्नु भएको थियो। उहाँको कविताले वास्तवमा मानव प्रवृत्तिलाई प्रष्ट्याउन सफल भएको थियो ।

सबै उमेर समूहका गरी बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सबैले रचना वाचनको आनन्द लिनु भएको थियो । सभापतिको तर्फबाट कार्यक्रम समापनको घोषणा गर्दै अध्यक्षले उपस्थित सबैलाई धन्यवाद र निकट भविष्यमा अर्को कार्यक्रम लिएर यहाँहरू माझ उपस्थित हुने बताउनुभएको थियो ।