अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१५ | Colorodo: 13:30

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. लुइटेलको प्रधानमन्त्रीलाई चिठ्ठी

बिआरटीनेपाल २०७५ जेठ १ गते १०:०४ मा प्रकाशित

सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल सरकार
सिंहदरबार, काठमाडौँ ।

विषय: कक्षा ११ र १२ दुवैमा अनिवार्य नेपाली विषय राख्नैपर्ने सम्बन्धमा ।

महोदय,
नेपाली भाषा नेपालको राष्ट्रभाषा, सरकारी कामकाज र सम्पूर्ण नेपालीहरूको विचार विनिमय गर्ने साझा सम्पर्क भाषा, छिमेकी मुलुक भारतको संवैधानिक मान्यता प्राप्त भाषा र विश्वका विभिन्न मुलुकमा पुगेका नेपालीहरूको जातीय पहिचानको भाषा हुनका साथै बर्मा, भुटानलगायत विश्वका विभिन्न मुलुकको सञ्चार र शिक्षा क्षेत्रमा समेत व्यवहृत भई अन्तर्राष्ट्रिय स्वरूप प्राप्त गरिसकेको भाषा भएको कुरा सर्वविदतै छ । 

विगतमा सरकारी तहबाटै बिगारिएको नेपाली भाषाका विरुद्धमा यस सञ्जालको नेतृत्वमा लामो समयसम्म सशक्त ढङ्गले दबाबमूलक आन्दोलन गरी नेपाल प्रज्ञा प्रतिष्ठानबाट २०७३–७–३० मा नेपाली बृहत् शब्दकोश (२०७२), नेपाली विषय समितिबाट २०७३–८–३ मा र नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय समितिबाट २०७३–९–८ मा अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६९) तथा नेपाल सरकार शिक्षा मन्त्रालयबाट २०७३–१२–२९ मा विद्यालय तहमा प्रयुक्त अमानक वर्णविन्यास खारेज गरी त्यसको मानक स्वरूप कायम गराएको कुरा सम्माननीय प्रधानमन्त्रीज्यूलाई अवगतै छ ।

अहिले पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरबाट पाठ्यक्रम परिमार्जनका नाममा कक्षा ११ र १२ मा अनिवार्य नेपाली विषय ५०/५० पूर्णाङ्कको राख्ने वा एउटा कक्षामा मात्र १०० पूर्णाङ्कको राख्नेबारे गृहकार्य भइरहेको भन्ने जानकारी प्राप्त हुन आएको हुँँदा त्यसप्रति यस सञ्जालले २०७४–११–२५, २०७५–१–६, २०७५–१–१० र २०७५–१–२० मा शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रलाई लिखित रूपमा ध्यानाकर्षण गराउँदै आपत्ति प्रकट गरिसकेको छ । हाल कक्षा १२ सम्मको शिक्षालाई विद्यालय तहमा राखिएको र तल्ला सबै कक्षामा १००÷१०० पूर्णाङ्कको अनिवार्य नेपाली पढाइ भइरहेका परिप्रेक्ष्यमा सबै सङ्कायका कक्षा ११ र १२ मा पनि सोहीअनुरूप १००/१०० पूर्णाङ्कको अनिवार्य नेपाली विषय अनिवार्य रूपमा पढाइनुपर्नेमा यसलाई घटाउने वा विस्थापन गर्ने भन्ने कुरा यस सञ्जाललाई कुनै पनि हालतमा मान्य छैन ।

पाठ्यक्रम परिमार्जनका नाममा नेपाली विषय विस्थापन गर्न खोजिएकाप्रति देशभरका प्राध्यापक, शिक्षक, विद्यार्थी, अभिभावकहरूका साथै आम सरोकारवालाहरूमा गम्भीर चिन्ता, असन्तोष एवं आक्रोश चुलिँदै गएको कुरा आमसञ्चारका विभिन्न माध्यमबाट सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि अवगत भएकै होला ।

एकातिर नेपाली भाषा सरकारी कामकाजको भाषा हुनका साथै सिङ्गो नेपाली जातिको पहिचान र राष्ट्रियतासँग आबद्ध विषय भएको र अर्कातिर कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले सरकारी वा गैरसरकारी निकायमा मध्यमस्तरीय जनशक्तिका रूपमा नेपाली भाषामा कामकाज गर्नुपर्ने हुनाले पनि तिनलाई नेपाली विषयमा दक्ष बनाउनु आवश्यक भएकाले यसलाई कुनै हालतमा पनि चलाउन मिल्दैन । अतः पाठ्यक्रम परिमार्जन गरिँदा सबै सङ्कायका कक्षा ११ र १२ दुवैमा १००/१०० पूर्णाङ्कको अनिवार्य नेपाली राख्ने व्यवस्थाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिनुहुन अनुरोध गरिन्छ ।

नेपाली विषयमा पूर्णाङ्क थप्नको सट्टा घटाएर नेपाली भाषालाई कमजोर तुल्याउने प्रयत्न गरिएमा यस सञ्जालको नेतृत्वमा देशभरका प्राध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक एवं आम सरोकारवालाहरूलाई पुनः सशक्त आन्दोलन गर्न बाध्य नपारियोस् । यस्तो परिस्थिति सिर्जना गरिएमा त्यसबाट उत्पन्न दुष्परिणामप्रति नेपाल सरकार नै जिम्मेवार हुने बेहोरासमेत जानकारी गराइन्छ ।

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
अध्यक्ष
मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल
International Network for Standard Nepali Language Campaign

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू