अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१० | Colorodo: 21:25

गरिमा विकास बैंकको ‘गरिमा रेमिट’ सेवा शुरु

बिआरटीनेपाल २०७५ जेठ १ गते ९:४० मा प्रकाशित

नेपालमा अहिले झन्डै ५ दर्जन रेमिट्यान्स सेवाप्रदायक कम्पनीले विभिन्न मुलुकबाट सेवा प्रदान गर्दै आएका छन् । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा नेपाल भित्रिने रेमिट्यान्सको आकार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४.९ प्रतिशतले बढेको छ । जस अनुसार गत फागुन मसान्तसम्ममा ४ खर्ब ७१ अर्ब रुपैंया नेपाल भित्रिएको छ ।

नेपालबाट विदेशिएका कामदारको तथ्याङ्कका आधारमा नेपाल भित्रिने रेमिट्यान्सको सबैभन्दा धेरै हिस्सा मलेसियाको रहेको छ । त्यस पछि क्रमशः कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत लगायतका मुलुकबाट पनि ठुलो मात्रामा नेपालमा रेमिट्यान्स भित्रिने गरेको छ । मुलुकमा  पाँच दर्जन विप्रेषण कम्पनीले सेवा पुर्‍याइरहेको सन्दर्भमा मङ्गलवार देखि गरिमा विकास बैङ्कले पनि ‘गरिमा रेमिट’ सेवा सुरु गरेको छ । 

गरिमा रेमिट’ सेवाको बैङ्कका सञ्चालक डा आनन्दप्रसाद श्रेष्ठले  उद्घाटन गर्नुभयो ।  सो अवसरमा सञ्चालक श्रेष्ठले विकास बैङ्कले ग्राहकलाई प्रदान गर्ने सेवामा विविधिकरण गर्दै जाने क्रममा विप्रेषण जस्तो महत्त्वपूर्ण सेवा सञ्चालनमा ल्याइएको र त्यसका माध्यमबाट देशका विभिन्न स्थानमा रहने गरिमा रमिटेका एजेन्टहरू मार्फत एक स्थानबाट अर्को स्थानमा सहज रूपमा रकम स्थानान्तरण गर्न सकिने बताउनुभयो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले वर्तमान प्रतिस्पर्धात्मक वातावरण, सेवाको विविधकरण तथा ग्राहकको आवश्यकतालाई मध्यनजर गरी बैङ्कले गरिमा रेमिट सुरु गरेको बताउँदै छिट्टै नै बैङ्कले विदेशी मुद्रा विनिमयसम्बन्धी कार्य तथा भिसा डेविट कार्डसमेत सञ्चालनमा ल्याउने तयारी गरेको जानकारी दिनुभयो । 

बैङ्कको हाल राजधानीमा पाँच शाखा कार्यालयसहित देशभर ५७ वटा शाखा कार्यालय र १२ वटा एटिएम सञ्चालनमा छन् । चुक्ता पुँजी रु दुई अर्ब ५३ करोड ४८ लाख ७९ हजार रहेको सो बैङ्कले गत वैशाख मसान्तसम्म रु १८ अर्ब ९० करोड निक्षेप सङ्कलन गरी रु १७ अर्ब ५० करोड लगानी गरेको छ । उक्त अवधिमा बैङ्कले रु ४४ करोड सञ्चालन मुनाफामा आर्जन गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू