अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

आजबाट मुलुक लोडसेडिङमुक्त

अन्नपूर्ण पोष्ट २०७५ वैशाख ३० गते २०:०८ मा प्रकाशित

विद्युत् प्राधिकरणले सोमबारदेखि मुलुक लोडसेडिङमुक्त हुने घोषणा गरेका छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले गरिँदै आएको विद्युत् आपूर्ति कटौति सोमबारदेखि अन्त्य गरिने भएकाले मुलुक लोडसेडिङमुक्त हुने बताए ।

‘भोलि (सोमबार) बाट देशका कुनै पनि भाग वा क्षेत्रमा लोडसेडिङ हुनेछैन’, घिसिङले आइतबार अन्नपूर्णसित भने, ‘विद्युत् उत्पादनमा वृद्धि, चुहावट नियन्त्रण र मागमा आएको परिवर्तनका कारण लोडसेडिङमुक्त पार्न सम्भव भएको हो ।’

देशभर केन्द्रीय प्रसारण लाइन र वैकल्पिक ऊर्जा गरी ६० प्रतिशत जनसङ्ख्यालाई बिजुली पुगेको छ । अभैm पनि ४० प्रतिशत जनसङ्ख्या स्थायी लोडसेडिङमा छन् । प्राधिकरणले २०७३ तिहारको लक्ष्मीपूजाका दिनबाट काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरमा लोडसेडिङमुक्त गरेको थियो ।

प्राधिकरणले गार्हस्थ्य उपभोक्ताका लागि पूर्णरुपमा लोडसेडिङ अन्त्य गरे पनि औद्योगिक ग्राहकका हकमा दैनिक तीन घण्टा आपूर्ति कटौति गर्दै आएको थियो ।

गत चैतमा प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए । सोही निर्देशनका आधारमा औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्यको घोषणा गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

प्राधिकरणले लोडसेडिङमुक्त तुल्याउन सकिनुका कारणमा खोलामा पानीको बहाव वृद्धि भएकाले नदी प्रवाही (गैरजलाशययुक्त) विद्युत् गृहबाट उत्पादन बढोत्तरी भएको, पिकिङ (अर्धजलाशयुक्त विद्युत्गृह) को कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात उल्लेख गरेको छ । अहिले औद्योगिक ग्राहकको माग तीन सय मेगावाटको हाराहारीमा रहेको घिसिङले बताए । 

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण÷वितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवं विकास निर्माणका कारण समय-समयमा हुन सक्ने विद्युत् आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन आग्रह गरे ।

अधिकारीले बिहान र बेलुकाको पाक (अत्यधिक बिजुली खपत हुने समय) मा अधिकतम विद्युत् खपत हुने विद्युतीय उपकरण प्रयोग नगरिदिन र अन्य समयमा पनि ऊर्जा कम खपत गर्ने उपकरण प्रयोग गरी ऊर्जा बचतमा सदाझैँ सहयोग गर्न उपभोक्तालाई आग्रह गरेका छन् ।

सम्बन्धित सामग्रीहरू