अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 07:36

स्पेसल विधार्थीहरुसँगै स्पेसल अथितिहरु र्याम्पमा

सौरभ श्रेष्ठ, धरान २०७५ वैशाख ३० गते १०:०३ मा प्रकाशित

सधैँ आकर्षक पहिरनमा सजिसजाउ हुँदै सुन्दरीहरूको र्याम्प नपाई हेरेको धरानको सदन सभा भवनको स्टेजमा शनिवार भिन्न किसिमको सम्भवत नेपालमै पहिलो पटक मोंटेस्वरीमा अध्ययनरत सबल बिधार्थीहरु सँगै स्पेसल एजुकेशनमा अध्ययनरत स्पेसल विधार्थीहरु जस्तै डाउन सिन्ड्रोम , अटिजम विधार्थीहरु सम्मिलित “इन्क्लुसिभ फेशन सो“ सम्पन्न भएको छ । 

एक मानसिक तथा शारीरिक लक्षणको समूह जसमा अतिरिक्त गुनसुत्र २१ को उपस्थितिले हुने एउटा आनुबंशिक विकारलाई डाउन सिन्ड्रोम भनिन्छ । डाउन सिन्ड्रोमको कुनै उपचार भन्दा पनि उनी हरूलाई माया र सहाराको अत्यन्त जरुरी हुन्छ त्यस्तै आटीज्मले ग्रस्त बिरामीहरूको शारीरिक विकास भए पनि मानसिक विकास नभएर आफ्नै दुनियाँमा रमाउने ,बोल्न नसक्ने तथा आफूले आफैलाई हानी पुर्‍याउने सम्म हुने भएकोले उनीहरूलाई उनीहरूको अध्ययनमा विशेष सर्तकता अपनाउनुपर्ने हुन्छ । स्पेसल एजुकेशनमा यस्तै स्पेसल बच्चाहरूलाई शिक्षा दिइने गरिन्छ । 

यस्तै एक स्पेसल बच्चाको आमा समेत रहेकी फेशन डिजाइनर रेणुका शंकरले स्पेशल केटाकेटीहरूलाई सम्मिलित गराएर एउटा फेशन सो आयोजना गर्ने योजनालाई उनको यो कार्यमा मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप तथा रेडियोकर्मी इक्सा मादेन र स्पेसल एजुकेशनकि कोर्डिनेटर सर्जु देवानको पूर्ण सहयोग र साथले “इन्क्लुसिभ फेशन सो “शनिवार भव्य कार्यकर्म सहित सफलताका साथ सम्पन्न भएको छ ।

“इन्क्लुसिभ फेशन सो “मा विभिन्न चरण गरी चार राउण्ड र्याम्पमा स्पेसल एजुकेशनका २८ जना डाउन सिन्ड्रोम, अटिजम बिधार्थी तथा किडी वर्ल्ड, सिटी, मेरो, किन्डर गार्डेन, स्टेप बाइ स्टेप, सनराइज, धरान, ब्लासुम, ह्यापी चाइल्ड, रोजबर्ड लगायतको मोंटेस्वरीमा अध्ययनरत ३६ जना बिधार्थीहरु मध्ये कोही हाँस्दै, कोही रुँदै, कोही विभिन्न पेज दिँदै आफ्नो शिक्षिकाहरू तथा कोरियोग्राफरसंगै र्याम्पमा हिडदा आमा-बाबाहरू तालीले आफ्ना छोराछोरीहरूलाई हौस्यादै फोटो खिच्दै गरेको दृश्य कम रमाइलो थिएन । झन् प्रमुख अथिति धरान उप-महानगरपालिकाका शिक्षा विभाग प्रमुख शङ्कर प्रसाद घिमिरे, बिसिष्ठ अथिति वरिष्ठ कवि तह ब्लास्ट टाइम्सका प्रधान सम्पादक राजकुमार कार्की, बराह्का प्रमुख प्रशाशकिय अधिकृत गङ्गा कालिकोटे, ड़ा. ज्योति अग्रवाल लगायतका अन्य अथितिहरु पनि बिधार्थिहरुलाई डोर्याउदै र्याम्पमा प्रस्तुत हुँदा कार्यक्रम निकै रोमाञ्चक बनेको थियो । विभिन्न डिजाइनका पहिरनहरू रेणुका कलेक्शन र द बेबी बेरको रहेको थियो भने निक हेयर स्टुडियोले सबैजनाको हेयर तथा मेकअप गरेका थिए । 

त्यस्तै विभिन्न मोंटेस्वरी तथा स्पेशल एजुकेसनका बिधार्थीहरुले आफ्नो गायन, नृत्य लगायतका आफ्नो कलाहरू प्रदशन गरेर कार्यकर्ममा थप मनोरञ्जन थपेका थिए । बालबालिकाहरूमा ज्ञान –विज्ञान सँगै विविध मनोरञ्जन पनि चाहिने भएकोले यस्ता खाले कार्यकर्मको आयोजनाले उनीहरूमा थप आत्मविश्वास पलाउने झन् डाउन सिन्ड्रोम बिधार्थीहरुले आफ्नो प्रस्तुति देखाउनपाउनु उनीहरूको क्षमताबिकाशमा ठुलो प्रभाव पार्न सक्ने भएकोले यस प्रकृतिको कार्यकर्महरु आयोजना भैरहनुपर्ने प्रमुख अथिति शङ्कर प्रसाद घिमिरेले बताउनु भयो । 

रेणुका कलेक्सन र स्पेसल एजुकेशन सेन्टरको आयोजना तथा नेपाल मोंटेस्वरी असोसिएसनको सहभागिता, इक्सा मादेनको संयोजन तथा कोरियोग्राफिमा तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा “इन्क्लुसिभ फेशन सो” सम्पन्न भएको थियो ।

पहिलोपल्ट भए पनि अथितिहरु तथा अभिभावक, शिक्षक, शिक्षिकाबाट सकारात्मक रेस्पोन्स पाएकोले आउँदो दिनमा पनि स्पेशल बच्चाहरूकै लागि यस्ता कार्यकर्महरु आयोजना गर्ने आयोजक तथा फेशन डिजाइनर रेणुका शंकरले बताइन ।