अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य वस्तुको चोरी–निकासी

बिआरटीनेपाल २०७५ वैशाख २९ गते २०:३९ मा प्रकाशित

बाबियाचौर, म्याग्दी- बेनी नगरपालिका–१ आनन्दबगरमा बस्ती संरक्षणको बहानामा जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तु चोरी–निकासी भएको छ ।

जिल्ला समन्वय समितिसँग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन गर्न पाइने नीतिगत व्यवस्था विपरीत सेभेनस्टार युवा क्लबका पदाधिकारीले बस्ती संरक्षणको बहानामा उपकरणको प्रयोग गरेर कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा चोरी–निकासी गरेका छन् । आनन्दबगरमा नदीजन्य पदार्थको उत्खनन र निकासीका लागि कसैले पनि अनुमति नलिएको र सम्झौता विपरीत डोजर, ब्याकलोडरको प्रयोग गरेर उत्खनन गर्नु अवैध काम भएको जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले बताउनुभयो ।

चैत अन्तिम र वैशाख ५ गते प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खननमा प्रयोग भएका उपकरण जफत गरेर जिससमा बुझाए पनि नीतिगत अस्पष्टताको कारण देखाउँदै राजनीतिक दबाबमा पुनः उत्खनन नगर्ने सहमति गराएर छोडिएको थियो । क्लबका पदाधिकारीले नदीजन्य पदार्थको उत्खनन गरेकामा गल्ती स्वीकार गर्दै अब उत्खनन नगर्ने लिखित प्रतिबद्धता विपरीत केही दिनयता पुनः चोरी–निकासी गरिरहेका स्थानीयवासीले बताएका छन् । नदीको धार र स्वरूप परिवर्तन हुने गरी डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन गर्दा बस्ती संरक्षणको साटो जोखिम बढेको छ ।

आनन्दबगरमा खेलमैदान विस्तार र नदी कटान नियन्त्रणका लागि ढुङ्गा, गिट्टी र बालुवा बेचेर आयस्रोत जुटाउन क्लबले रु पाँच लाखमा विनोद हमाललाई ठेक्कामा दिएको सेभेनस्टार युवा क्लबका अध्यक्ष लालबहादुर थापा (माइकल)ले बताउनुभयो । 

नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको सिफारिसमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेर खेलमैदान सम्याउने र संरक्षण गरिए पनि बिक्री नभएको थापाले दाबी गर्दै आउनुभएको छ । दिउँसो नदीजन्य बस्तु उत्खनन र राति चोरी–निकासी गर्ने गरेको स्थानीयवासीले बताएका छन् ।

प्रजिअ लीलाधर अधिकारीले नगरपालिकाका प्रमुख श्रेष्ठको लिखित पत्राचारपछि पहिले उत्खनन गर्दा परेको खाडल पुरेर नदीलाई पुरानै स्वरूपमा लैजाने र खेलमैदान फिलिङ गर्नका लागि मात्र नगर प्रमुख श्रेष्ठको सिफारिसमा अनुमति दिएको बताउनुभयो । क्लबका पदाधिकारीले प्रतिबद्धता विपरीत काम गरेको सूचना पाएपछि शनिवार दिउँसो प्रहरी पठाएर उत्खनन रोक्न निर्देशन दिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

नगर प्रमुख श्रेष्ठले अलपत्र अवस्थामा छोड्डा बस्ती कटानको जोखिम भएकाले खाल्डाखुल्डी पुर्न र संरक्षणका लागि सहमति दिए पनि बिक्री वितरण गर्नु गलत काम भएको र त्यस्तो नगर्न निर्देशन दिने बताउनुभयो । स्थानीयवासीको विरोध र दबाबका कारण चालु आर्थिक वर्षमा जिससले आनन्दबगरको नदीजन्य पदार्थको ठेक्का लगाएको थिएन । प्रहरीले अवैध र जथाभाबी रूपमा नदीको दोहनमा प्रयोग भएका सवारीसाधन र उपकरण नियन्त्रणमा लिए पनि कारबाही नभएकाले यस्तो गतिविधि मौलाएको प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले बताउनुभयो ।

प्रतिक्रिया