अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५७ | Colorodo: 01:12

२०७१ सालमा मोदीले घोषणा गरेको ३० करोड सहयोग अहिलेसम्म अलपत्र

नेपाल समाचारपत्र २०७५ वैशाख २९ गते १८:४९ मा प्रकाशित

काठमाडौँ । नेपालको २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान ७ बजे मुक्तिनाथ प्रस्थान गरेका छन् । मुक्तिनाथमा पूजा एवं दर्शनपछि शनिवार बिहान साढे दश बजेपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ आइपुग्ने हुने कार्यक्रम छ ।

मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । पूजापछि मोदीले पशुपति मूल मन्दिरको जीर्णोद्वारका लागि भारतीय रुपैयाँ २५ करोड, सरसफाइका लागि रु पाँच करोड सहयोग घोषणा गरेको पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

त्यसबेलाको घोषणाको सहयोग मन्त्रालयले दिनुपर्ने अनुमतिको प्रक्रिया पूरा नभएकाले रोकिएको उनले सुनाए । सहयोगसम्बन्धी त्यो प्रस्ताव अहिले पनि अर्थ मन्त्रालयमा रोकिएको कोषले जनाएको छ ।

चार वर्षअघिको भारतीय प्रधानमन्त्री मोदीको पशुपतिनाथ मन्दिरमा भएको पूजाका अवसरमा १२ वर्ष अघिदेखि रोकिएको नेपाल–भारत मैत्री धर्मशाला निर्माणको बाटो खुला भयो । धर्मशाला निर्माण हाल अन्तिम चरणमा पुगेको छ । कोषले उपलब्ध गराएको १६ रोपनी जग्गामा भारत सरकारले तीन तारे होटलस्तरको धर्मशाला निर्माण गरिरहेको छ ।

धर्मशालामा ४०० जनाको क्षमता छ । धर्मशालाको निर्माणपछि पशुपतिमा विश्वका धार्मिक पर्यटकको सङ्ख्या बढ्ने विश्वास गरिएको छ । 

सम्बन्धित सामग्रीहरू