अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३३ | Colorodo: 12:48

राजकीय भ्रमणका लागि ट्रम्पलाई सिंगापुरको आग्रह

बिआरटीनेपाल २०७५ वैशाख २८ गते ९:२४ मा प्रकाशित

सिंगापुर, सिंगापुरका प्रधानमन्त्री लि सिन लुङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी नोभेम्बरमा राजकीय भ्रमणमा आउनका लागि निम्ता दिनुभएको छ । ट्रम्पसँग भएको टेलिफोन वार्ताका क्रममा लुङले छैठौं आसियन – अमेरिका शिखर सम्मेलन र १३औं पूर्वी एसिया सम्मेलनको मौका पारेर राजकीय भ्रमणमा आउन आग्रह गर्नु भएको हो ।

दुई देशका शीर्ष नेताहरूका बिचमा भएको टेलिफोन कुराकानीका बारेमा सिंगापुरको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।  विज्ञप्तिका अनुसार प्रधानमन्त्री लिले यही जुन १२ तारिखका दिन सिंगापुरमा हुने ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेताको शिखर सम्मेलनका लागि ट्रम्पलाई स्वागत गर्न आतुर रहेको पनि बताउनु भएको थियो ।  लिले दुई नेताको शिखर सम्मेलन ऐतिहासिक र उपलब्धिमुलक हुने विश्वास समेत ट्रम्पसँगको टेलिफोन कुराकानीमा व्यक्त गर्नुभएको थियो ।  

सिंगापुरले सो शिखर सम्मेलन आफ्नो देशमा आयोजना गर्नका लागि आग्रह गर्नुुका साथै पर्याप्त व्यवस्थापन गर्ने प्रतिबद्धता पहिले देखि नै जनाउँदै आएको थियो ।  कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि सिंगापुरमा हुने शिखर सम्मेलन एउटा महत्त्वपूर्ण कदम हुने विश्वास गरिएको छ ।  ट्रम्पले भने सम्मेलनको आयोजना गर्न लागेकोमा सिंगापुरका प्रधानमन्त्री लिलाई धन्यवाद दिनु भएको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू