अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

फिल्मी मजा: 102 Not Out (Hindi Movie)

प्रमोद आमात्य २०७५ वैशाख २५ गते २२:१२ मा प्रकाशित

नाम: ‘102 Not Out’ (Hindi Movie)

निर्देशक: उमेश सुक्ला

कलाकार: अमिताभ बच्चन, ऋषि कपूर, जिमित त्रिवेदी

गत हप्ता एक रोचक र रमाइलो सिनेमा थिएटरमा गएर

हेरियो । फिल्मको नाम थियो ‘102 Not Out’ । झट्ट सुन्दा क्रिकेटको स्कोर जस्तो सुनिने यो सिनेमा हो दुई बुढाहरूको । ती मध्ये एकशय दुईवर्षका बुढा हुन् दत्तात्रय (अमिताभ बच्चन) र अर्का पचहत्तर वर्षका बुढा हुन् बाबु (ऋषि कपूर) । यी बाउ छोरा हुन् । एकशय दुई वर्षका बाउ आफूलाई तन्नेरी छु भन्ठान्छ भने, पचहत्तर का छोरा आफूलाई बुढो भैसकेँ भन्दछ । यी बाउ छोरा बिचको आनीबानी, सोच र सम्बन्धको सेरोफेरोमा घुमेको छ सिनेमाको कथा । यी दुई पात्रहरू माझ अर्का एक पात्र धीरु (जिमित त्रिवेदी) पनि छ सिनेमामा ।

‘ओह माई गड’ नामक सुपरहिट चलचित्रबाट चर्चामा आएका निर्देशक उमेश शुक्लाले सौम्य जोशीको गहन सामाजिक कथालाई सरल, सहज र शीतल बताससरि सरर बहाएका छन् । सिनेमा आधा पुगिसक्दा पनि दर्शक लाई पत्तै हुँदैन । कतै पनि कथा वा विषयको बोझले दर्शकलाई थिच्दैन । सम्वादलाई रोचक र मौलिक बनाउन ठाउँ ठाउँमा गुजराती बोली मिसाइएको छ । मैले हेरेको सिनेमा अन्तर्राष्ट्रिय संस्करण भएर हो कि यसमा गीत र नृत्य खासै देखिएन ।

अभिनयको कुरा गर्दा शताब्दी महानायक अमिताभ बच्चनको बडो बेजोडको अभिनय बाहेक पनि ऋषि कपूरको अभिनय साह्रै सशक्त र जीवन्त थियो । यी दुई वरिष्ठ कलाकारहरू माझ पनि युवा कलाकार जिमित त्रिवेदी उत्तिकै अब्बल छन् । यी बेजोडका पात्रहरूले ठाउँ ठाउँमा हँसाउँछ र ठाउँ ठाउँमा भाबुक बनाउँछ, रुवाउँछ । समग्रमा फरकधारको भएर पनि सिनेमा धेरै रोचक, रमाइलो र राम्रो छ ।