अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४१ | Colorodo: 16:56

अङ्ग्रेजी गीतजस्तो नबुझिने हाम्रो नेपाली विकास यात्रा

पेशल आचार्य २०७५ वैशाख २५ गते ११:२० मा प्रकाशित

सामयिक विचार
हामी अहिले राजनीतिक सङ्क्रमणको फलकमा छौँ । तर सङ्क्रमणका एक या अनेक रूप कुनै न कुनै रूपले देखिइरहेका छन् । अहिले यातायात क्षेत्रमा निकै लामो समयदेखि चलिरहेको सिण्डीकेटलाई अन्त्य गर्नका लागि समाजका सबै क्षेत्र, तह र तप्काका मानिसहरू जोडबलका साथ लागिरहेका छन् । करिब सात दसकदेखिको हाम्रो स्वतन्त्रताको यात्रालाई गतवर्ष सम्पन्न तीनवटै चुनावहरूले शान्तिपूर्ण तबरमा सेफ ल्याण्डिङ् गरेका छन् । अब प्रायः सबै नेपालीको यात्रा उन्नति तर्फ हुनु पर्छ भन्ने रहेको छ ।

भनिन्छ राजनीति सोझो बाटोमा हिँड्दैन । अझ नेपालको राजनीति त हिँडेको पनि छैन । यहाँ भनिने गरेका कुराहरू र गरिने गरेका कुराहरूमा तालमेल नमिलेको करिब सात दशक नै भइसक्यो । हामीले नेपाल र नेपाली मोडेलका विकासका पथहरू कहिले पनि दिगो हिसाबले खोल्न सकेनौँ । विदेशीहरूका नीति, सहयोग र मोडेलले हाम्रा शिक्षा, स्वास्थ्य र यातायातका क्षेत्रहरूलाई पनि धुलिसात पारे । अहिलेको सरकार बहुमतमा छ । यसले उपल्ला तहमा देखिने र नदेखिने गरी भैरहेका माफियातन्त्र, घोटाला, भ्रष्टाचार, सिण्डीकेट, कालोबजारी र पेटी कन्ट्याक्टमा हुने गरेका डन र दादागिरीलाई निमिट्यान्न त पार्न सक्दैन नै कठोर आत्मबलका आधारमा क्रमशः न्यूनीकरण गर्दै जाने हो भने केही मात्रामा कम गर्न भने सक्दछ ।

यो कुरा नीति निर्माताहरूलाई थाह छ । यो कुरा उपल्लो तहमा रहेका कर्मचारीहरूलाई पनि राम्रो हेक्का छ । अनि भलिभाँती ज्ञान त तिनीहरूलाई पनि छ जो राजनीतिको बुई चढेर समाजसेवा गर्छौँ भन्नेहरू छन् । हामी अझै देखिरहेका छौँ केही मानिसहरू अझै आफ्नो सिभीमा राजनीतिलाई पेसा भनेर लेख्ने गर्दा रहेछन् । मौलिक नेपालित्व भएका राजनेताहरूको नेपालमा उपस्थिति नै त नभएको होइन तर वर्तमानमा खडेरी परेको भने अवश्य हो ।

गाउँघरमा धुले बाटा र डोजर आतङ्क हेर्नु पर्छ नेपालको विकासे गति मूल्याङ्कन गर्नका लागि । मानिसहरू पहिले एक जिल्ला एक बाटा भन्थे । अलि पछि एक गाउँ एक बाटा भन्न थाले । अहिले एक घर एक बाटो भन्न थालेका छन् । हिउँदभर भए नभएको पैसा सक्न धुले बाटाहरू खन्यो अनि बर्खा लागेपछि ती सबै गलेर, झरेर, पैरिएर र भासिएर बिजोग हुन्छन् । भैँसी आहाल बस्न सक्ने खाल्डाहरू बाटामा भएपछि त्यसले गाउँमा उत्पादन भएका सामानहरू सहरसम्म कसरी पुग्न सक्छन् । सहरका तयारी र उत्पादित मालमत्ता गाउँ कसरी सजिलैसँग ल्याउन सकिन्छ ? यी झिना प्रश्नहरू हुन् तर यी प्रश्नका उत्तर कुनै पार्टीका नेताहरूसँग छैनन् ।

शिक्षाको क्षेत्रमा चारैतिर भ्वाङैभ्वाङ देखिन्छन् । एकातिर सरकार निजीलाई घुमाउरो बाटाबाट स्याबासी धाप मारिरहेको छ भने अर्कातिर सरकारीलाई पनि हातखुट्टा बाँधेर निजीसँगै फाष्ट ट्रयाकमा दौडी भन्छ । हामी अहिले नेपाली भाषालाई कक्षा ११÷१२ मा अनिवार्य गराउनु पर्छ भन्ने जुलुसमा पनि सामेल हुन्छौँ अनि समय निकालेर आफ्ना बाबुनानीको शुल्क तिर्न अङ्ग्रेजी माध्यमका स्कुलमा लुसुक्क छिर्छौँ । कठोर विरोधाभासले हाम्रो वर्तमान बिथोलिएको छ । विसङ्गत पक्षले नै हामी पक्षाघात भएका छौँ । हामीलाई थाहा छ कि हामी जानेतिर होइन नजानेतिर गएका रहेछौँ ।

स्वास्थ्यको क्षेत्रमा झनझन गरिब र निमुखा जनताहरूको पहुँच क्रमशः टाढा भैसक्यो । गाउँमुखी स्वास्थ्य केन्द्रमा हुनु पर्ने जनशक्ति र ओखतीहरू नभएर जनता थप स्वास्थ्य सुविधा लिनका लागि सहरतिरै धाउनु पर्ने स्थिति छ । समाजवाद उन्मुख भन्ने गरिएको सरकारले कम्तीमा पनि आम जनताका शिक्षा, स्वास्थ्य र यातायातका सवालमा कठोर भएर न्यूनतम् सेवासुविधाहरू दिने कार्यको थालनी गर्नै पर्दछ ।

परीक्षण कालमा छ हाम्रो सङ्घीय शासन व्यवस्था । मुलुक आर्थिक रूपमा करिबकरिब टाट पल्टने स्थितिमा पुगिसक्या छ । हामीलाई शासन गर्नेहरूको जुलुस छ । केन्द्र र स्थानीयका बिचमा अनायासै लादिएको प्रदेश राजनीति त्यसले उब्जाउने करले जनताका ढाड अवश्य सेक्ने छ । सडक विकासमा नेपाली मोडेल ल्याइएन । बिजुली विकासमा त झन् यसलाई नजर अन्दाज गर्नै खोजियो । शिक्षाका क्षेत्रमा हामी न हाँसको चाल न बकुल्लाको चालमा पुगेका छौँ । नेपाल संसारकै लागि खुला प्रयोगशाला भएको छ । जसले बढी बजेट दियो उसको विचार बिक्ने त्यो देश नेपाल नै हो जहाँ हामी अभूतपूर्व रूपमा सङ्घीय शासनको रिहर्सल गरिरहेका छौँ ।

हुन त अझै नेपाली जनताहरू सन्तुष्ट भैसकेका छैनन् । देशभित्रबाटै राष्ट्रवादका नयाँनयाँ कलेवरमा विविध मेखाला लगाएका मानिसहरू उफ्रन लागिरहेका छन् । चुनावमा आएका विवेकहरू चुनावपछि दुला लुक्नु, आफैँ हारेर क्लान्त भएको जेठो प्रजातान्त्रिक पार्टी आफ्नो हारको आरोप विपक्षीहरूको सङ्गठनलाई लगाउनु यी हास्यका पहेँलीहरू हुन सक्छन् । अर्कातिर जसले गरिब र निमुखाको दुहाइ दिएर पार्टी एकीकरणको नारा घन्काइरहेको छ उही नै एक या अनेक फत्तुरहरू लगाएर सुदूर यात्राका लागि पनि बिचबिचमा भाँजो हाल्न खोजिरहेको देखिन्छ । त्यसैले भनिएको हो विकासोन्मुख देशको राजनीति कहिल्यै बुझिँदैन । राजनीतिले सपाट कुराहरू भन्न सक्नु पर्ने हो । विकासलाई जनजनका हृदयमा आत्मसात् गर्न सक्नु पर्ने हो । पेटका सवालमा, मनका भावनामा र दिमागका चुलीमा पुगेर विकासका मोडेलहरू तयार गर्न सक्नु पर्ने हो । नेपालमा विकासका कुरा गर्नेहरूलाई एउटै मेलाम्ची खानेपानी आयोजनाको लक्ष्य र प्रगति सुनाइदिए हुन्छ । नेपाल वायुसेवा निगमको स्थिति बताइदिए हुन्छ । अनि त्रिभुवन विश्वविद्यालयको अवस्थालाई यथार्थ चित्रण गरिदिए हुन्छ ।

पुराना नेताहरू भन्ने गर्छन् । पञ्चायतले खोलेका उद्योगहरू बहुदलले देख्न सकेन । बहुदलमा खोलिएका केही थप उद्योगहरू पनि सङ्घीय गणतन्त्रकालमा धुलिसात भए । देश युवाहरूलाई घोसित रूपमै वैदेशिक रोजगार केन्द्र खोलेर विदेशीका श्रमिक र भरियाका रूपमा निर्यात गर्दा उधुम गौरव मान्छ । सिण्डीकेट रुपी दलदलका सिरानीहरू लगाएर यो वा त्यो आश्वासनका रूपमा जनता अल्मल्याउँदै नेपालका दजनौं कम्युनिस्ट पार्टीहरू हँसिया र हथौडा चिन्हलाई ट्रेडमार्कका रूपमा भँजाएर सत्तारुढ हुने र सत्तामा जाने प्रकल्पना गर्दछन् । तितो यथार्थ यस्तो छ कि सच्चा रूपमा नेपाललाई माया गर्नेहरू कि त खबुजको बाक्लो रोटी खाएर अरबमा पिडाका गीतहरू गाउँदै छन् कि त युएस्, क्यानडा र अस्ट्रेलियातिर उच्च शिक्षामा व्यस्त छन् ।

दशकौँदेखि बजिरहेका छन् आश्वासनका गीतहरू । सङ्गीत आआफ्नै तालमा ठोकिरहेका छन् नेताहरू । जनता त हरेक पाँच पाँच वर्षमा एउटा लफेटो चेपेर भोट दिन लामबद्ध हुने त्यस्ता वाचाल पात्रहरू हुन् जो जतिसुकै विरोध र अन्तर्विरोधका कुराहरू गरेर पनि आखिरमा आफ्नो पार्टी र विचारलाई तिलाञ्जली दिन नसकी बाध्य भएर गाली गर्दै भोट खसालिदिन्छन् । पुरानो पार्टी, पुरानो विचार र पुरानो शैलीले हामी कति दशकमा विकास र समृद्धिको यात्रा तय गर्दै सम्पन्नताको शिखरमा पुगौँला । खै ! यसै भन्न सकिने स्थिति छैन ।

काठमाडौँको अवस्था हेर्दा नै प्रस्ट होइन्छ । वर्तमान शासनारुढ मेयरका वाचा र सय दिनमा गर्छु भनिएका कुराहरू समय एक वर्ष नाघिसक्न लाग्दा पनि थालनी नै भएका छैनन् । यो एक वर्ष गफमा बित्यो । अर्को वर्ष योजना बनाउँदै बित्छ । तेस्रंो वर्ष बजेट स्वीकृत गर्दा नै बित्ला । चौथो वर्ष सुरुबुरु काम होला अनि पाँचौँ वर्ष फेरि चुनावी वर्ष हुनेछ । यसैरी नै स्थानीय सरकारका कामहरू पनि अघि बढे भने नेपाल र नेपालीले जत्रासुकै नाराहरूका शेरगुल खिलाएर ल्याएको परिवर्तन पनि फिस्स हुन बेर लाग्दैन ।

चीनले बुलेट ट्रेन देखाउँछ । मेघा सिटी देखाउँछ । आकासे मार्गमा चल्ने मोटरहरू देखाउँछ । अचम्मै लाग्ने कृषि क्रान्ति देखाउँछ । औधोगिक विकासका एक अनेक महारथहरू देखाउँछ । भारतले पनि लुखुरलुखर रूपमै परिवर्तन भैरहेका केही भिडियो क्लिप्सहरू देखाउँछ । कम्तीमा आइटिको तरक्की देखाउँछ । तर नेपालले फुर्ती मात्र देखाउँछ । हामीसँग चीन र भारतलाई लोभ्याउने र तान्ने अनगिन्ती वस्तु र चिजबिज नभएका कहाँ हुन् र ? एउटै जानकी मन्दिरलाई हेभेन पेलेस् बनाइदिने हो भने पचासौं करोड भारतीय हिन्दुहरू बाह्य पर्यटकका रूपमा तान्न सकिने सम्भावनाहरू हुनेछन् । गौतम बुद्धका हितमा अहिलेसम्म भएका काम भन्दा जरा हट्के को शैलीमा काम हुने हो भने करोडौंकरोड बुद्धिष्ट पर्यटकहरूको अन्तिम गन्तव्य लुम्बिनी हुन नसक्ने कुनै कारणै छैन । साहसीहरूका लागि सगरमाथा, अन्नपूर्ण पदयात्रा, रारा, खप्तड, मनाङ र मुस्ताङका सयौँ हेरिटेजहरू छन् । जलयात्रा र वन विहारका कुराहरू पनि छन् । गुफा, तालतलैया र झरना त कतिकति ? तर अब ती सब देखाउने कुरा नभएर सुनाउने कुरा मात्र भएका छन् । धन्य ! नेपाल, धन्य नेपाली नीति ।

धीमा राजनीतिको यही ट्रेन अझै केही दशक नेपालमा चालु भैरह्यो भने नेपाली युवाहरूमा एक किसिमको चरम निराशाले घर गर्न थाल्ने छ जसका जगमा उठ्ने आँधीहुरीका सैलावहरूले प्राप्त स्वतन्त्रतालाई पनि एकातिर लगेर नथुपार्ला भन्न सकिन्नँ । नेपाली जल, जङ्गल, जडीबुटी र जमिनलाई आधिकाधिक रूपमा नेपालीले जबसम्म अत्यधिक रूपमा दोहन र उपयोग गर्न सक्दैन तबसम्म नेपाल यहीँ रहिरहन्छ । गोलचक्करमा घुमिरहन्छ । हामी क्रमशः दाइँ ग¥या शैलीमा घुमिरहन्छौँ । अनि हाम्रो सनातन उखान घुमिफिरी रुम्झाटारको उखान चरितार्थ भैरहने छ ।

।।समाप्त।।