अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:११ | Colorodo: 00:26

नेपाली तथा विदेशी खाना बनाउने प्रतियोगिता हुने

बिआरटीनेपाल २०७५ वैशाख २५ गते ११:०८ मा प्रकाशित

काठमाडौँ, विभिन्न कलेजका विद्यार्थीबिच नेपाली तथा विदेशी खाना बनाउने प्रतियोगिता हुने भएको छ ।

स्नेहा ट्राभल्स मिडिया र नेपाल युनिक ट्यालेन्टको संयुक्त आयोजनामा जेठ १५ देखि असार ३० गतेसम्म पहिलोपटक ‘कलेज सेफ आइकन–२०१८’ हुन लागेको हो । उक्त आइकन सञ्चालनका लागि सगतानी एक्जिम प्रालिले सहयोग गरेको छ ।

आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा स्नेहा ट्राभल्स मिडिया नेपालका प्रबन्ध निर्देशक सुरेशचन्द्र बस्नेतले नेपाली तथा विदेशी खाना बनाउन प्रत्येक कलेजबाट तीन जना विद्यार्थीलाई प्रतियोगितामा समावेश गरिने बताउनुभयो ।

प्रतियोगितामा उपत्यका र उपत्यका बाहिरका झन्डै २० कलेजको सहभागिता रहने बस्नेतले जानकारी दिनुभयो । “नेपाली हेरिटेज खाना, आदिवासी खाना, कन्टिनेन्टल तथा इटालिएन खाना, इण्डियन खाना र चाइनिज खाना बनाउन प्रयोगितामा प्रतिस्पर्धा गराइनेछ”– उहाँले भन्नुभयो ।

उच्च माध्यामिक विद्यालय सङ्घ नेपालका अध्यक्ष रमेशप्रसाद सिलवालले होटेल म्यानेजमेन्टको क्षेत्रमा रुचि राखेर उच्च माध्यामिक तह अध्ययनरत विद्यार्थीलाई ‘कलेज सेफ आइकन–२०१८’ ले हौसला प्रदान हुने बताउनुभयो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ ।

उक्त प्रतियोगिताको निर्णायकमा सूर्यकिरण श्रेष्ठ, श्रीराम अधिकारी, लक्ष्मणप्रसाद भण्डारी, डा सञ्जय जम्मल, युवराज पोखरेल, सुरेशचन्द्र बस्नेत र कृष्णकाजी बस्नेत हुनुहुन्छ । उहाँहरू सबै नेपालका प्रतिष्ठित होटेलका सेफ हुनुहुन्छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार नगद र किचन सेट, दोस्रोलाई रु ३० हजार र किचन सेट तथा तेस्रो हुनेलाई रु १५ हजार र किचन सेट प्रदान गरिने कार्यक्रमका बजार निर्देशक प्रकाश पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू