अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२५ | Colorodo: 19:40

पोर्चुगलमा अनेसास खुल्ला वनभोज कार्यक्रम तथा १५औँ शृङ्खला रचना वाचन कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ वैशाख २४ गते ८:५९ मा प्रकाशित

लिस्बोन,  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), पोर्चुगलको आयोजनामा राजधानी लिस्वोन स्थित बेला भिस्टा पार्कमा अनेसास खुल्ला समर वनभोज तथा १५ औँ शृङ्खला रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । 

नेपालको राष्ट्रिय धुन बजाएर सुरु गरिएको कार्यक्रममा पोर्चुगलकालागि नेपाली अवैतनिक वाणिज्य दूत मकर बहादुर हमालको प्रमुख आतिथ्यता तथा अनेसास पोर्चुगलका अध्यक्ष बाइ बि गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पोर्चुगलका विभिन्न सङ्घ संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत स्थानीय पत्रकार,समाज सेवी लगायत पोर्चुगलमा बसोबास गर्ने साहित्यप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा अनेसास,पोर्चुगलद्वारा मनोनीत संरक्षक श्री मकर बहादुर हमाललाई समाजका अध्यक्ष बाइ बि गुरुङद्वारा प्रमाण पत्र प्रदान गरिएको थियो भने प्रमुख अतिथि समेत रहनु भएका अवैतनिक वाणिज्यदूत मकर हमालद्वारा अन्य मोनित सल्लाहकारज्यूहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । 

पहिलो औपचारिक कार्यक्रममा पोर्चुगलमा सक्रिय सङ्घ सस्थाहरुको तर्फबाट एनआरएनए, पोर्चुगलका अध्यक्ष कुबिर कार्की, पोर्चुगलका नेपाली पर्यटन दूत रमेश कुमार गुरुङ तथा कार्यक्रमका प्रमुख अतिथि तथा समाजका नव नियुक्त संरक्षक मकर बहादुर हमाल लगायतका वक्ताहरूले नेपाली साहित्य समाज पोर्चुगलको इतिहास र वर्तमानका बारेमा बोल्नु भएको थियो भने औपचारिक कार्यक्रमको पहिलो सत्रको कार्यक्रम समापन समाजका अध्यक्ष तथा कार्यक्रम सभापति बाइ बि गुरुङ्गज्यूले कविता प्रस्तुत गर्दै गरेका थिए ।

उक्त पहिलो सत्रको औपचारिक कार्यक्रम समाजकी सचिव सबी श्रेष्ठले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रमको दोस्रो चरण अन्तर्गत रचना वाचन कार्यक्रम गरिएको थियो । 

दोस्रो सत्रको रचना वाचन कार्यक्रममा साहित्यकार तथा अनेसास, पोर्चुगलका वरिष्ठ सल्लाहकार सुनिल सङ्गम, सल्लाहकार कुविर कार्की, समाजका अध्यक्ष बाइ बि गुरुङ्ग, वरिष्ठ उपाध्यक्ष कृष्ण कडेल जिज्ञासु, उपाध्यक्ष कमल सापकोटा, सचिवद्धय सवी श्रेष्ठ र विनोद स्पन्दन, कोषाध्यक्ष सञ्जय लामा, सह—कोषाध्यक्ष श्याम सुवेदी, सदस्य निर्मला ढकाल, प्रेम चन्द्र भण्डारी लगायत पोर्चुगलमा रहेका दर्जन भन्दा बढी साहित्यकारहरूले आफ्नो रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रमको दोस्रो सत्रको कार्यक्रम समाजका वरिष्ठ उपाध्यक्ष कृष्ण कडेल जिज्ञासुले सञ्चालन गरेका थिए । बार्बिक्यू तथा विभिन्न खानाको परिकार समेतको व्यवस्था गरिएको उक्त कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू