अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०६ | Colorodo: 02:21

एन्फा अध्यक्षमा कर्माछिरिङ, २३ वर्षपछि थापा पक्षधर ‘क्लिन स्वीप’

बिआरटीनेपाल २०७५ वैशाख २३ गते १९:३४ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी भएका छन् । शनिबार ललितपुरमा सम्पन्न १६औं कंग्रेसले कार्यसमितिमा शेर्पाको प्यानलै जिताएको छ ।

चार उपाध्यक्ष, ११ सदस्यका लागि भएको निर्वाचनमा शेर्पाको प्यानल विजयी भएको हो । महिला सदस्यमा शेर्पा प्यानलकै पेमा लामा निर्विरोध निर्वाचित भइसकेकी थिइन् । अब निर्वाचित कमिटीले महासचिव र कोषाध्यक्ष मनोनीत गर्नेछ ।

शेर्पा नेतृत्वले ‘क्लिन स्वीप’ गरेपछि एन्फामा २३ वर्षपछि गणेश थापाको दबदबा अन्त्य भएको छ । नेपाली फुटबलमा नयाँ युगको सुरुवात भएको खेलाडीहरूले ठानेका छन् ।

पूर्वअध्यक्ष थापालाई फिफाले १० वर्षको प्रतिबन्ध लगाएपछि गत वर्ष अध्यक्ष र रिक्त  उपाध्यक्ष पदका लागि निर्वाचन भएको थियो । जसमा शेर्पा निवर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठसँग झिनो मतान्तरमा पराजित भएका थिए । गत वर्ष भएको निर्वाचनले नरेन्द्र श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरे पनि उनी थापाकै उम्मेदवार मानिन्थे ।

शेर्पाले ६३ मत पाएका छन् । अध्यक्षका अर्का प्रत्याशी तथा एन्फाका निवर्तमान वरिष्ठ उपाध्यक्ष मणि कुँवरलाई ५१ मतले पराजित गरे । कुँवरले १२ मत मात्रै पाए । कुल ७७ मतमध्ये ७६ मत खसेको थियो । एक मत बदर भयो । एन्फाको निर्वाचन विधानबमोजिम नभएको भन्दै कुँवरले शुक्रबार पत्रकार सम्मेलन गरेर नै निर्वाचनमा भाग नलिने बताएका थिए ।

उपाध्यक्षमा पंकजविक्रम नेम्वाङले सर्वाधिक ६१ मत पाए । यस्तै, राष्ट्रिय फुटबलका पूर्वकप्तान उपेन्द्रमान सिंह ५८, कृष्ण थापा ५२ र वीरबहादुर खड्का ३९ मतका साथ विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी विराटजंग शाहीले ३३ मत मात्रै पाए । उपाध्यक्षका अन्य उम्मेदवार सुनिल राणाले २४, मोहम्मद समिउल्लाहले १५, गणेश चन्दले ५ मत मात्रै पाएका थिए । उपाध्यक्ष पदमा २ मत बदर भएको थियो ।

यस्तै, सदस्यमा दावा लामा ५६ मतसहित विजयी भए । पूर्णमान चित्रकार, दिनेश व्यञ्जनकार र दीर्घबहादुर केसी समान ५५ मतसहित विजयी भए । विजय घले (५३), निरोज खड्गी (५२), किरण राई (५०), मधुसुदन उपाध्यय, प्रदेशसिंह राठौर र रत्नकुमार श्रेष्ठ समान ४८ मतसहित सदस्यमा निर्वाचित भए ।

रवीन्द्रमान श्रेष्ठले भने ४२ मत प्राप्त गरे । सदस्यमा ७६ मत खसेको थियो । मत बदर भएको थियो । ११ जना सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको थियो ।

एन्फा निर्वाचनका लागि ४५ जिल्ला, १४‘ए’ डिभिजन क्लब, ९‘बी’ डिभिजन क्लब, ४‘सी’ डिभिजन क्लब र एन्फाअन्तर्गतको चार कमिटी गरी कुल ७७ हुन्छ ।

अध्यक्ष शेर्पाले हिमालयन शेर्पा क्लब स्थापना गर्दै छनोटदेखि ‘ए’ डिभिजनसम्म पु¥याएका थिए । शेर्पाले पूर्वअध्यक्ष थापाको नेतृत्वमा लामो समय एन्फा उपाध्यक्षमा रहेर काम गरेका थिए ।

२०७० सालमा थापा पुनः अध्यक्षमा निर्वाचित हुँदा शेर्पा उपाध्यक्ष निर्वाचित भएका थिए । तर, त्यसपछि शेर्पा संस्थापन पक्षविरुद्ध फुटबल शुद्धीकरण अभियानमा लागेका थिए । त्यसयता एन्फा दुई धारमा देखिएको थियो ।शेर्पाकै शुद्धीकरण अभियानले सफल रूप लिँदा एन्फामा एकाधिकार जमाएका थापालाई भष्ट्राचार मुद्दामा १० वर्ष फुटबल गतिविधिबाट टाढा र करिब २१ लाख जरिमाना तोकिएको थियो । त्यसपछि वरिष्ठ उपाध्यक्ष तथा थ्रीस्टार क्लबका अध्यक्ष ललितकृष्ण श्रेष्ठले कार्यवाहक अध्यक्षको रूपमा एन्फालाई नेतृत्व दिएका थिए ।
तर, उनको निवासमै करेन्ट लागेर निधन भएपछि केन्द्रीय कार्यसमितिमा दुई पद रिक्त थियो । गत वर्षको कात्तिकमा एन्फाको इतिहासमै पहिलोपटक निर्वाचन हुँदा नरेन्द्र श्रेष्ठ अध्यक्ष तथा मणि कुँवर वरिष्ठ उपाध्यक्षमा निर्वाचित  भएका थिए ।
कात्तिकमै हुनुपर्ने निर्वाचन विविध कारणले १४ चैतका लागि तय भएको थियो । तर, दुई जिल्लाले केन्द्रमा आफूहरूको प्रतिनिधित्व नभएको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि एन्फाको निर्वाचनमा ढिलाइ भयो ।
दुई जिल्लाको विवाद समाधान भएसँगै २२ वैशाखका लागि निर्वाचन तोकिएको थियो । तर, थापानिकट मानिने कुँवरले विधानअनुसार निर्वाचन मिति नतोकिएको भन्दै निर्वाचन रोक्न आन्तरिम आदेशको माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरे पनि रिट खारेज गरेपछि निर्वाचन भएको हो ।

‘पहिलो काम ‘ए’ डिभिजन लिग’

काठमाडौं÷रास– नवनिर्वाचित एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले सबै पक्षलाई समेटेर अघि बढ्ने बताएका छन् । उनले आफ्नो पहिलो काम तीन वर्षदेखि रोकिएको ‘ए’ डिभिजन लिग गराउने बताए ।

उनले भने, ‘निर्वाचन एउटा प्रक्रिया मात्रै हो, यसले हारजित मात्रै छुट्याउने हो, सबै फुटबलसँग सम्बन्धितहरू नै विभिन्न पदमा उम्मेदवार थिए, निर्वाचनमा पराजित भएकालाई पनि समेटेर अघि बढ्नेछौं ।’

निर्वाचित कमिटीको सोमबार पहिलो बैठक बसेर प्रभावकारी कामका निर्णय गरिने उनले बताए । उनले थपे, ‘खेलाडी दर्ता प्रक्रिया, नियम कानुनका कार्य पनि अघि बढ्नेछन् ।’

शेर्पाले आफ्नो कार्यकालमा खेलाडी र प्रशिक्षकको शिर नझुक्नेगरी काम गरेर देखाउने बताए । उनले ग्रामीण क्षेत्रका  खेलाडीको जीवन बिमा (खेलाडी प्रशिक्षकहरूको बाँच्ने आधार) लाई बोलीमा मात्र सीमित नगरी व्यवस्थित ढंगले अघि बढाइने बताए । राजधानि दैनिकमा प्रकाशित समाचार

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू