अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 06:49

सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट समृद्धि

बिआरटीनेपाल २०७५ वैशाख २३ गते ९:४४ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट मात्र समृद्धि र विकास सम्भव हुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं ४ समितिका नवनिर्वाचित पदाधिकारी एवं सदस्यको आज यहाँ आयोजित पदस्थापन समारोहमा उहाँले विकास, समृद्धि र स्थायित्वका लागि सबै मिलेर सहकार्य गर्न आवश्यक भएको बताउनुभयो ।

राजनीतिक स्थिरताका लागि आफूहरूले गठबन्धन, साझा घोषणापत्र र उम्मेदवार तय गरेको बताउँदै उहाँले कम्युनिस्ट पार्टीबिचको एकता राष्ट्रको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

प्रेस स्वतन्त्रताका पक्षमा आफूहरू निरन्तर रूपमा सञ्चारकर्मीसँगै भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले नेपाल पत्रकार महासङ्घको सर्वसम्मत समावेशी प्रदेश समिति गठन गरिनु सकारात्मक भएको बताउँदै उहाँले आफ्नै प्रधानमन्त्रित्वकालमा लोककल्याणकारी विज्ञापनमा दोब्बर बनाइएको तथा वरिष्ठ पत्रकारलाई सम्मान र पुरस्कृत गर्ने प्रक्रियाको थालनी गरिएको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संघात्मक अधिकार प्रदेशमा समितिलाई हस्तान्तरण गरिएको जानकारी दिँदै पत्रकार हकहित र नागरिक अधिकारका लागि महासङ्घले निरन्तर लडाइँ लडिरहने बताउनुभयो ।

प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जनताले अनुमोदन गरिसकेकाले नेकपा (एमाले) र माओवादी केन्द्रबिचको पार्टी एकीकरण तत्काल गर्नको विकल्प नरहेको बताउनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका सभापति गंगाधर पराजुलीले नेपालको संविधान निर्माण भएर पनि नियम र कानुन बन्न् नसक्दा स्वतन्त्र प्रेसको अधिकार कुण्ठित भएको बताउनुभयो ।

पत्रकार महासङ्घ प्रदेश नं ४ निर्वाचन आयोगका अध्यक्ष सुरेन्द्र थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश नं ४ विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, केन्द्रीय निर्वाचन समितिका बबिता बस्नेत, पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, महासङ्घ प्रदेश नं ४ का अध्यक्ष त्रिभुवन पौडेल, महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले मुलुकको विकास र समृद्धिका लागि पत्रकारिता क्षेत्रको महत्त्व भूमिका रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा निर्विरोध निर्वाचित महासङ्घ प्रदेशका पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू