अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३४ | Colorodo: 07:49

पाैडेललाई फकाउँदै नवनियुक्त पदाधिकारी

अन्नपूर्ण पोष्ट २०७५ वैशाख २२ गते १९:५५ मा प्रकाशित

काठमाडौँ : महासमिति बैठकअघि काँग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध देश दौडाहा गर्ने तयारी गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग मनोनीत पदाधिकारीहरूले भेटेर पार्टीभित्रको समस्या छलफलका आधारमा टुंग्याउन आग्रह गरेका छन् ।

सभापति देउवाले मनोनीत गरेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महतले शनिवार दिउँसो नेता पौडेललाई भेटी पार्टीभित्रको पछिल्ला विवाद र विधान संशोधनका लागि मस्यौदा समिति बनाउने विषयमा छलफल गरेका थिए । ‘पार्टी विधान संशोधनका लागि मस्यौदा समिति बनाउने विषयमा छलफल केन्द्रित रह्यो’, भेटपछि उपसभापति निधिले भने, ‘यो विषयमा उहाँले केही सुझाव पनि दिनुभएको छ ।

छलफलमा वरिष्ठ नेता पौडेलले समिति बनाउँदा पार्टीको मर्म बुझेका र कानुन पनि जानेका व्यक्तिलाई प्राथमिकतामा राख्नुपर्ने राय पदाधिकारीसमक्ष दिएका थिए । त्यसै गरी, पार्टी विधान संशोधनको विषयमा जिल्ला सभापतिहरूको पनि धारणा समेटिनपुर्ने र पार्टीका विभाग गठन हुनुपर्ने भनाइ नेता पौडेलको थियो ।

पार्टी सभापति देउवाले आफूसँग कुनै सरसल्लाह नै नगरी पदाधिकारी मनोनयनमा एकलौटी गरेको भन्दै आक्रोषित नेता पौडेललाई नयाँ पदाधिकारीले भेट्नुलाई पार्टीभित्र बढ्दै गएको विवाद साम्य पार्ने प्रयत्नका रूपमा लिइएको छ । ‘पार्टी एक भएर अघि बढ्ने बेलामा कतिपय विवाद दलभित्र छलफलका आधारमा टुंग्याउन सकिन्छ’, महामन्त्री खड्काले भने, ‘कतिपय विषयमा केन्द्रीय समितिले छलफल पनि गरेको छ, यो छलफलकै प्रक्रिया हो । पार्टीलाई बलियो बनाउने कुरामा कसैको पनि दुईमत हुन सक्दैन ।’

त्यसै गरी, उपसभापति निधि, महामन्त्री खड्का र सहमहामन्त्री महतले शनिवार नै निर्वाचित महामन्त्री शशांक कोइरालालाई पनि छुट्टैैै भनेर समसामयिक राजनीति र पार्टीभित्रका विषयमा छलफल गरेका थिए । छलफलमा महामन्त्री कोइरालाले सबैलाई समेटेर अघि बढ्न र पार्टीलाई अझै क्रियाशील बनाउन नयाँ पदाधिकारीलाई सुझाव दिएका थिए । लोकतन्त्रका लागि सधैँ लड्दै आएको दलले चुनावी गणितमा सफलता प्राप्त गर्न नसके पनि आफ्ना मूल्य र मान्यताबाट टाढा भाग्न नहुने तर्क महामन्त्री कोइरालाको थियो ।

नवनियुक्त पदाधिकारीहरूले फकाउन प्रयत्न गरे पनि नेता पौडेलले पार्टीभित्रको तानासाही संस्कारविरुद्ध आफूले सधैँ आवाज उठाउने प्रतिक्रिया दिएका छन् । अन्नपूर्ण पोस्ट्सँग उनले भने, ‘लोकतान्त्रिक दलमा यस्तो प्रवृत्ति सह्य छैन ।’

सम्बन्धित सामग्रीहरू