अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२४ | Colorodo: 13:39

अस्ट्रेलियामा तीन बर्षमा १ सय ६ नेपाली जोडीको डिभोर्स

रातो पाटी २०७५ वैशाख २१ गते २०:१० मा प्रकाशित

अस्ट्रेलिया – झापाका रमेश (नाम परिवर्तन) ले सन् २०१४ मा काठमाडौँकी एक युवतीसँग नक्कली विवाह गरी सिड्नी आए । आएदेखि नै अलग बसेका उनीहरूबिच पैसाको लेनदेन विषयमा विवाद भएपछि युवतीले सम्बन्धविच्छेद (डिभोर्स) का लागि आवेदन दिइन् । युवतीले आफूलाई छाड्न लागेको थाहा पाएका उनले आफूले काम गर्ने स्थानमा अनुरोध गरी स्पोन्सरसिप लिए र नेपाल फर्किनबाट बचे।

वर्ष दिनअघि मात्र नक्कली विवाह गरी सिड्नीको एक युनिभर्सिटीमा अध्ययन गर्न आएका ललितपुर र चितवनका एक जोडीबिच पैसाकै मामिलामा खटपट पर्‍यो । पैसाको छलफलबाहेक अन्य कुनै पनि विषयमा कुराकानी नहुने उनीहरूबिच कुरा नमिलेपछि युवती डिभोर्सका लागि सहयोग खोज्दै वकिलकोमा पुगिन् । युवा भने विद्यार्थी भिसाको आवेदन दिने तयारी गरिरहेका छन् ।

माथि उल्लिखित दुई प्रतिनिधि घटना नक्कली विवाह गरी अस्ट्रेलिया आउने र यहाँ आएपछि समस्यामा पर्ने यी नेपाली जोडीहरूको हो । नेपालबाट विद्यार्थी भिसामा आउने मुख्य आवेदक (विद्यार्थी) लाई निश्चित रकम तिर्ने सर्तमा विवाह गरी आउने र सम्झौतामा समस्या आएपछि उपाय खोज्न माइग्रेसन एजेन्ट वा वकिलकोमा जाने चलन बढ्दै गएको छ ।

कागजी रूपमा विवाह सक्कली देखिए पनि उनीहरूले नक्कली नियतका साथ अस्ट्रेलिया भित्रिने गरेका हुन् । यहाँ आएर उनीहरू समस्यामा पर्ने गरेका छन् । अस्ट्रेलिया अध्यागमनलाई सक्कली कागजपत्र देखाएर आउने गरे पनि आपसी मनमुटावपछि उनीहरूको नक्कली सम्बन्ध डिभोर्समा पुगेर टुंगिने गरेको छ ।

करिब ३ वर्षदेखि अस्ट्रेलियामा ‘फ्यामिली ल’ सम्बन्धी वकालत गर्दै आएका सुमन भेटवालले अहिलेसम्म १ सय ६ नेपाली जोडीको डिभोर्सको मुद्दा हेरेका छन्। जसमध्ये ७० प्रतिशत बढी यस्तै प्रकृतिका रहेको उनले सुनाए। ‘यो वास्तवमा समस्याका रूपमा बढिरहेको छ,’ उनले भने, ‘कानुनी रूपमा सक्कली विवाह भए पनि यी विवाहको नियत नक्कली हुने र यसैले समस्या सिर्जना गरिरहेको मेरो ठम्याइ छ ।

सम्बन्धित सामग्रीहरू