अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 04:37

भयरहित वातावरणमा पत्रकारिताको अभ्यास गर्न पाउनुपर्छ : राष्ट्रिय मानव अधिकार आयोग

बिआरटीनेपाल २०७५ वैशाख २० गते ९:५५ मा प्रकाशित

राष्ट्रिय मानवअधिकार आयोगले स्वतन्त्र र भयरहित वातावरणमा पत्रकारिताको अभ्यास गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै भयरहित र आम नागरिकको सुसूचीत हुन पाउने अधिकारको सम्मान गर्न सरकारसमक्ष आग्रह गर्नुभएको हो ।

पत्रकारमाथि धम्की र गिरफ्तारका घटना अझै नरोकिएको भन्दै अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सम्मान र संरक्षण गर्नु हरेक लोकतान्त्रिक सरकारको दायित्व रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको अभिव्यक्ति स्वतन्त्रता र यसको पक्षमा कलम चलाउने पत्रकारले विगतदेखि हत्या, बेपत्ता, आक्रमण, धम्कीलगायतबाट पीडित हुँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “यस्ता घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन आयोगले नसकेको हो । ” 

आयोगले सशस्त्र द्वन्द्वको समयमा पत्रकारमाथि भएका हत्या, बेपत्ता, गैरकानुनी थुनालगायतका घटना सम्बन्धमा कारबाहीका लागि सरकारलाई सिफारिस गरेको उल्लेख गर्दै प्रवक्ता अन्सारीले घटना अदालती प्रक्रियामा मात्र पुगेको बताउनुभयो ।

विगत दुई दशकको तथ्याङ्कलाई हेर्ने हो भने दुई दर्जन बढी पत्रकारको हत्या भएको आयोगले जनाएको छ ।

यसैक्रममा आयोगले ३३ किलो सुन प्रकरणमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले आरोपीको तस्बिर लिने ध्रुव भट्टराई र सुमन सुस्केरामाथि लात्ती प्रहार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू