अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४१ | Colorodo: 13:56

अध्यक्ष तिमिल्सिना र बेलायती राजदूतबिच भेटवार्ता

बिआरटीनेपाल २०७५ वैशाख २० गते ७:४१ मा प्रकाशित

काठमाडौँ, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसबीच बिचको शिष्टाचार भेटघाट भएको छ ।

अध्यक्ष तिमिल्सिना र राजदूत मोरिसबीच अध्यक्षको कार्यकक्षमा दुई देशको सम्बन्ध र बेलायती संसदीय प्रतिनिधिमण्डलले आइतबार (वैशाख) २३ देखि गर्ने नेपाल भ्रमणबारे कुराकानी भएको थियो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र बेलायतबिचको कूटनीतिक सम्बन्ध र दुई देशबिचको साझेदारीबारे स्मरण गर्नुभएको थियो । उहाँले दुई देशका सरकार र जनस्तरमा सुमधुर सम्बन्ध रहेको र यो सम्बन्ध एक अर्काको स्वतन्त्रता, स्वाधीनता र परस्पर सहयोगमा आधारित रहँदै आएको बताउनुभयो ।

दुई देश बिच बेला बेलामा हुने उच्च स्तरीय भेटघाट नै दुई देश बिचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लागेको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपालको संसद् र बेलायतको संसद् बीचपनि सुमधुर सम्बन्ध रहेको बताउनुभयो ।

उहाँले नेपालको सङ्घीय संसद् दुई सदनात्मक रहेको जानकारी गराउँदै दुई सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको भूमिकाबारे बताउनुभयो । उहाँले बेलायती प्रतिनिधिमण्डलको नेपाल भ्रमणले दुई देशका सदन बारे अनुभव आदानप्रदान हुँदा दुवै पक्ष लाभाम्बित हुने विश्वास व्यक्त गर्नुभयो । ‘दुई दिनपछि २३ वैशाखमा बेलायती संसदीय प्रतिनिधिमण्डलले नेपालको सदभावना भ्रमण गर्दैछ भन्ने खबर प्राप्त भएको छ,’ उहाँले भन्नुभयो, ‘यसले मलाई खुसी बनाएको छ र सोको तयारी सचिवालयले गरी रहेको छ, हामी उहाँहरूलाई स्वागत गर्न तत्पर छौँ ।’

नेपालको भौतिक एवं आर्थिक लगायतका विकासका हरेक आयाम हरूमा बेलायतको सहयोग उल्लेखनीय रहेको र यस प्रकारको सहयोग निरन्तर रहने नेपालको अपेक्षा रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

त्यसै गरी उहाँले ब्रिटिस गोर्खाले बेलायतको सेनामा रहेर गरेको योगदानले दुई देशको सम्बन्धलाई मजबुत बनाउन सहयोग गरेको बताउँदै सबै सेनालाई समान व्यवहार हुनुपर्ने धारणा राख्नुभयो ।

भेटमा बेलायती राजदूत मोरिसले दुई देशको सम्बन्ध मजबुत बनाउन बेलायत तत्पर रहेको बताउँदै आगामी दिनमा पनि विकासमा साझेदारी गर्न तयार रहेको बताउनुभयो । उहाँले आइतबारदेखि हुने बेलायती प्रतिनिधिमण्डलको भ्रमणमा दुई देशको सम्बन्ध तथा संसदीय अभ्यासबारेको अनुभव साटासाटले सम्बन्ध मजबुत बनाउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू