अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१० | Colorodo: 10:25

नेपाली रैथाने खानालाई विश्वव्यापीकरण गरिने

बिआरटीनेपाल २०७५ वैशाख २० गते ७:३७ मा प्रकाशित

नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने अभियानअन्तर्गत तयार पारिएको यस्ता खाना पकाउने ज्ञान प्रदान गर्ने कुक बुक एवं भिडियो आउँदो सोमबार २४ वैशाख २०७५ का दिन काठमाडौँमा आयोजना हुने कार्यक्रम बिच विश्वमा कुनै पनि स्थानबाट इन्टरनेटमार्फत उपलब्ध हुने गरी उद्घाटन हुन लागेको होटेल सङ्घ नेपालले जनाएको छ । देशैभरिबाट संकलित झन्डै २०० प्रकारका रैथाने खाना पकाउने विधि, सामग्री आदिलाई विशेषज्ञ सेफहरूको टोलीले विस्तृत अध्ययन गरी विश्वव्यापी रूपमा सामग्रीको उपलब्धता, स्वाद आदिको आधारमा झन्डै ३० प्रकारका उपयुक्त नेपाली रैथाने खानालाई विश्व बजारमा प्रवर्द्धन गराउन कुक बुक तथा भिडियो तयार परिएको सो अभियानका संयोजक तथा होटेल सङ्घ नेपालका महासचिव विनायक शाहले बताएका छन् । छनोटमा परेका नेपाली रैथाने खानाहरूको नेपाल सरकारको केन्द्रीय खाद्य अनुसन्धानशालाबाट परीक्षण गराएर प्रोटिन, न्यूट्रिसन आदि पक्षको प्रमाणित पत्र पनि प्राप्त गरिएको छ ।

वरिष्ट पर्यटनविद् कर्ण शाक्यको अगुवाईमा नेपाल पर्यटन बोर्ड, होटेल सङ्घ नेपाल, सेफ एसोसिएसन अफ नेपाल र रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपालको टोलीले सेप्टेम्बर २०१७ देखि अनवरत रूपमा रैथाने खानाको विकास र प्रवर्द्धनमा धेरै कार्यक्रमहरू आयोजना गरेको छ ।

विश्व पर्यटन बजारमा पकवान पर्यटन (Gastronomy Tourism) को विकास द्रुत गतिमा भइरहेको परिप्रेक्ष्यमा नेपालमा विद्यमान खानाको सम्वृद्ध रितिरिवाज एवं संस्कृतिबाट नेपाली पर्यटन बजारले समेत प्रशस्त फाइदा लिन सक्ने हुँदा नेपाली रैथाने खानालाई विश्वव्यापीकरण गर्ने अभियान सुरु गरिएको अभियन्ता कर्ण शाक्यले बताउनुभएको छ ।

अभियानबाट तयार पारिएको कुक बुक तथा भिडियो नेपाल पर्यटन बोर्ड अन्तर्गत सञ्चालित “Experience Nepal: Cuisine & Culture” मार्फत खास गरी विश्वभरि छरिएर रहेका गैर आवासीय नेपालीहरूले सञ्चालन गरिआएका तथा भविष्यमा सुरु गर्ने नेपाली खाना पस्कने रेस्टुरेन्टहरूले प्रत्यक्ष फाइदा लिन सक्ने पनि अभियानका संयोजक विनायक शाह बताउनुहुन्छ ।

आउँदो सोमबार आयोजना हुने नेपाली रैथाने खानालाई विश्वव्यापीकरण गर्ने अभियानको कार्यक्रमलाई सामाजिक सञ्जाल मार्फत विश्वभर प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ । सोही कार्यक्रममा आमन्त्रित विभिन्न राष्ट्रका राजदूत एवं विशिष्ट पाहुनाहरूलाई कुक बुक तथा भिडियोमा समावेश भएका नेपाली रैथाने खाना खुवाएर स्वागत सत्कार गर्ने कार्यक्रम पनि रहेको होटेल सङ्घ नेपालले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू