अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५६ | Colorodo: 02:11

एनआरएनए अन्तर्राष्ट्रिय हेल्थ एण्ड हाइजिन कमिटीको विश्व स्तन क्यान्सर जागरण सेमिनार सम्पन्न

विश्वमान आङ्गदेम्बे, २०७५ वैशाख २० गते ७:२४ मा प्रकाशित

यही अप्रिल २९ गते आइतबार बिहान ९ बजे (अमेरिकी पूर्वीय, समय) स्काईपमार्फत संसारभरिका ९ विभिन्न देशमा (नेपाल, अमेरिका, संयुक्त अधिराज्य, जर्मनी, रसिया, अस्ट्रेलिया, दक्षिण कोरिया, साउदी अरविया, तान्जानिया) रहेका स्वास्थ्य विशेषज्ञहरु, एन.आर.एन अगुवाहरु, र अन्य सहभागीहरू सम्मिलित “विश्व स्तन क्यान्सर जागरण सेमिनार” सफलतापूर्वक सम्पन्न भयो I एन.आर.एन.ए. को इतिहासमै सम्भवत: पहिलोचोटी भएको यस्तो कार्यक्रमको आयोजना “एन.आर.एन.ए. अन्तर्राष्ट्रिय हेल्थ एंड हाइजिन कमिटी” ले गरेको थियो I

कार्यक्रममा नेपालबाट डा. सुजिता हिराचन (अध्यक्ष, नेपाल स्तन क्यान्सर प्रतिष्ठान) र हर्षित श्रेष्ठ (प्राविधिक, एन.आर.एन.ए. सचिवालय) को उपस्थिति थियो I अमेरिकाबाट गौरी जोशी (अमेरिका क्षेत्रीय संयोजक, एन.आर.एन.ए.), डा. संजीव सापकोटा (सभापति, एन.आर.एन.ए. हेल्थ एंड हाइजिन कमिटी), गोविन्द श्रेष्ठ (उप-सभापति, एन.आर.एन.ए. हेल्थ एंड हाइजिन कमिटी), विश्वमान आङ्गदेम्बे (प्रेस संयोजक, एन.आर.एन.ए. हेल्थ एंड हाइजिन कमिटी), र डा. वर्षा मोक्तान (सदस्य, एन.आर.एन.ए.) को उपस्थिति थियो I त्यस्तै संयुक्त अधिराज्यबाट डा. दिलीप कुमार यादव, जर्मनीबाट कुमार पन्त (उपाध्यक्ष, एन.आर.एन.ए.), रसियाबाट बद्रि के.सी. (महासचिव, एन.आर.एन.ए.), अस्ट्रेलियाबाट प्रीति शर्मा र लक्ष्मण श्रेष्ठ, दक्षिण कोरियाबाट जुनु माया गुरुङ, साउदी अरवियाबाट यास्मिन बेगम, र तान्जानियाबाट शिव प्रसाद शर्माको उपस्थिति थियो I कार्यक्रमको सबै पूर्वतयारी, स्वास्थ्य विशेषज्ञहरुसँग संयोजन, र पूरा कार्यक्रमको सुरुवात र रूपरेखा सार्वाजनिक स्वास्थ्य र महामारीका विशेषज्ञ डा. संजीव सापकोटाले गरेका थिए भने कार्यक्रमको सह-संयोजन र सञ्चालन गोविन्द श्रेष्ठले गरेका थिए I

कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका सभापति समेत रहेका डा. संजीव सापकोटाले सबै स्वास्थ्य विशेषज्ञहरु र एन.आर.एन अगुवाहरु तथा अन्य सहभागीहरूलाई बिदाको दिनका बाबजुद समाजको हितको लागी अत्यावश्यक यस्तो जागरण छलफलमा समय दिएकोमा आभारी प्रकट गर्दै भविष्यमा यस्तो कार्यक्रमलाई निरन्तरता दिने कुरा राख्नुभयो I कार्यक्रमका प्रमुख अतिथिको रूपमा बोल्दै नेपाल स्तन क्यान्सर प्रतिष्ठानका (एन.बी.सी.एफ.) अध्यक्ष डा. सुजिता हिराचनले आफ्नो संस्थाको उदय, कामकार्य, र उदेश्यको बारेमा बोल्नुभयो I आफ्नो संस्था करिब ४ वर्ष सञ्चालनमा आएकोमा यस्तो छोटो समयमै ४० भन्दा बढी “मेडिकल क्याम्प” (अधिकांश स्तन र पाठेघर क्यान्सर सम्बन्धी) सचालन गरेको कुरा राख्नुभयो I आफ्नो संस्थामा छिटो र छरितो कार्यवाहीको लागी जम्मा ७ जना मात्र, त्यो पनि स्वास्थ्य क्षेत्रकै दिग्गजहरु, “बोर्ड अफ डाइरेक्टर” मा रहेको कुरा राख्नुभयो I

स्तन क्यान्सर सम्बन्धी जानकारीहरू (श्रोत: डा. सुजिता हिराचन)
१. “विश्व स्वास्थ्य सङ्गठन” का अनुसार बर्सेनि ५ लाख २२ हजार महिलाहरू स्तन क्यान्सरबाट मृत्यु हुन्छन् I
२. नेपालमा महिलामा हुने क्यान्सरबाट मृत्युमा “पाठेघर” पछिको दोस्रो बढी मृत्युको कारण “स्तन क्यान्सर” हो I
३. स्तन क्यान्सर विभिन्न कारण बाट हुन सक्छन् I केही खाले महिलाहरूमा यो बढी पाहिएको छ – ५५ वर्ष पार गरेर ढिलो महिनावारी बन्द भएको, ३१ वर्ष पार गरी पहिलो बच्चा भएको, स्तनपान सम्भव भएर पनि कम गराएको वा गराउँदै नगराएको I
४. जम्मा १०-१५% मात्रै वंशानु हुन्छ I अस्वस्थ्य जीवनयापन र खाद्य शैलीले पनि स्तन क्यान्सर हुन सक्छ I
५. स्तन क्यान्सरका लक्षणहरू निम्न प्रकारका छन् – स्तनमा नदुख्ने मासुको डल्लो, छालामा सुन्तला रङ्गको बुट्टा, निप्पलबाट रगत वा पानी चुहिने, निप्पल भित्र पसेको, इत्यादि I

स्तन क्यान्सरका स्टेजहरु (श्रोत: डा. सुजिता हिराचन)
१ पहिलो स्टेज: यो स्टेजमा पत्ता लागे ९०% भन्दा बढी बाँच्ने सम्भावना हुन्छ I यो स्टेजमा २-५ सेन्टिमिटरको टूमोर हुन्छ I सारा लक्षण स्तनमा मात्र देखिन्छ I
२. दोस्रो स्टेज: यो स्टेजमा काखीमुनि सरेको हुन्छ I काखीमुनि मासुको डल्लो देखिन्छ I
३. तेस्रो स्टेज: अन्य अङ्गमा सरिसकेको हुन्छ I बाँच्ने सम्भावना १०% भन्दा कम हुन्छ I
४. चौंथो स्टेज: शरीरभरिका विभिन्न अंगहरुमा फैलिसकेको हुन्छ I बाँच्ने सम्भावना १०% भन्दा कम हुन्छ I

त्यस्तै दोस्रो वक्ताको रूपमा बोल्दै प्रीति शर्माले अस्ट्रेलियामा यस्तो स्वास्थ्य सम्बन्धी सञ्जाल बनिसकेको र न्यू-जील्याण्डमा पनि सुरु भएको कुरा राख्नुभयो I भविष्यमा पुरै ओसियाना क्षेत्रलाई समेट्ने “स्तन क्यान्सर प्रतिष्ठान” बनाएको कुरा राख्नुभयो I साथै नेपालीमा स्तन क्यान्सर सम्बन्धी ब्रोसर र छोटो श्रव्य-दृश्य भएको कुरा राख्नुभयो I

तेस्रो वक्ताको रूपमा बोल्दै संयुक्त अधिराज्यका डा. दिलीप कुमार यादवले आफू “एन.आर.एन.ए. यु.के. स्वास्थ्य संयोजक” भएको हिसाबले पुरै संयुक्त अधिराज्यमा “स्वस्थ खानपान र जीवनयापन (हील)” कार्यक्रम सञ्चालनमा ल्याएको कुरा राख्नुभयो I अबको ३ हप्तामा संयुक्त अधिराज्यकै सबैभन्दा बढी नेपाली बसोबास गर्ने क्षेत्रमा “स्वास्थ्य जनचेतना र शिविर” सञ्चालन गर्ने जानकारी दिनुभयो I सो कार्यक्रममा “स्तन क्यान्सर” सम्बन्धी कुरा पनि राख्ने कुरा गर्नुभयो I

स्तन क्यान्सरको स्व-परीक्षण (श्रोत: डा. दिलीप कुमार यादव)
घरैमा जो-कोही महिलाले पनि आफैले महिनावारी भएको ३ दिन पछि “स्तन क्यान्सर” परीक्षण गर्न सकिन्छ I
१. दुईवटै स्तनहरू उस्तै, उत्रै, र उही आकारको छ कि छैन? छैन भने तुरुन्त स्वास्थ्य जाँच गराउने I
२. स्तनमा कुनै “मासुको डल्ला” छ कि छैन ? छ भने तुरुन्त स्वास्थ्य जाँच गराउने I
३. दुईवटै हातहरू माथि उचाल्दा एउटा स्तन माथि र अर्को तल जान्छ कि जाँदैन? जान्छ भने तुरुन्त स्वास्थ्य जाँच गराउने I
४. काखीभित्र “मासुको डल्ला” छ कि छैन ? छ भने तुरुन्त स्वास्थ्य जाँच गराउने I

कार्यक्रमका सञ्चालक गोविन्द श्रेष्ठले अप्रिल २८ मा सम्पन्न विस्कंसिन्को मिल्वाकिमा सम्पन्न “स्वास्थ्य शिविर” को बारेमा सानो जानकारी दिनुभयो I अन्तमा निम्न कुराहरूलाई कार्यक्रमबाट “फलो-अप” गर्नुपर्ने भन्दै समापन भयो I

१. नेपालमा ४० वर्षभन्दा बाढीका महिलालाई (जो बढी जोखिममा हुन्छन्) कम्तीमा ६ महिनाको एक पटक अनिवार्य “स्तन क्यान्सर” नि:शुल्क जाँच गराउन स्वास्थ्य मन्त्रालयलाई एउटा “म्यामोग्राफी” र ३ वर्षमा कम्तीमा १ चोटि “भिडियो एक्स-रे” गर्न मेसिन “नेपाल स्तन क्यान्सर प्रतिष्ठान” लाई उपलब्ध गराउन एन.आर.एन.ए. सञ्जालबाट पहल गर्ने I (प्रस्तावका: डा. सुजिता हिराचन, डा. दिलीप कुमार यादव)

२. “एन.आर.एन.ए. हेल्थ एण्ड हाइजिन कमिटी” को “गुगल ड्राइव” मा संसारको कुनै पनि कुनामा भएका कार्यक्रमका रिपोर्टहरू सङ्कलन गरी राख्न “सेन्ट्रल रेपजीटरी” र संसारभरिका स्वास्थ्य सम्बन्धी वा स्वास्थ्य सञ्जालमा रहेका व्यक्तिहरूको सूचना सङ्कलन गरी राख्न “सेन्ट्रल डाटावेस” निर्माण गर्ने I (प्रस्तावका: विश्वमान आङ्गदेम्बे)

३. हरेक महिनाको अन्तिम आइतबार बिहान ९ बजे (अमेरिकी पूर्वीय समय) स्वास्थ्य सम्बन्धी फरक फरक विषयमा नियमित कायक्रम सञ्चालन गर्ने I (प्रस्तावका: विश्वमान आङ्गदेम्बे)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू